४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

उदयपुर – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा उदयपुरको कटारी बेलसोतस्थित क्वारेन्टाइनमा राखिएका सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। भारतबाट आएका दुई समूहका ३ महिलासहित २६ को रिपोर्ट नेगेटिभ आएको हो। उनीहरू सबैलाई बेलसोतस्थित नेपाली सेनाको क्वारेन्टनाइमा राखिएको थियो। १४ दिन क्वारेन्टाइनमा राख्दा लक्षण नदेखिएमा छाड्नु अघि स्वास्थ्य परीक्षण गर्नुुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार सबैको थ्रोट स्वाव (खकार) संकलन गरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

स्वास्थ्य प्रतिष्ठान धरानले शनिबार साँझ पठाएको सबैको कोरोना नेगेटिभ आएको रणशार्दुल गणका बेलसोत गुल्मपति सेनानी (मेजर) अनुज महतले जानकारी लिए। उनका अनुसार १४ दिनसम्म क्वारेन्टाइनमा बसेका उनीहरू कसैमा कोरोना लक्षण नदेखिए पनि संक्रमण भए नभएको यकिन गर्न स्वाब परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ देखिएको हो।   

 भारतको नयाँदिल्ली, सिलगुडीलगायत बिभिन्न ठाउँमा मजदुरी गरी फर्केकाहरुलाई घर फर्कने क्रममा क्वारेन्टाईनमा राखिएका थिए। सबै उदयपुरका रहेका २६ मध्ये ताप्ली गाउँपालिकाका १८, लिमचुङबुङ गाउँपालिकाका ३, त्रियुगा नगरपालिकाका ३ र २ जना उदयपुरगढी गाउँपालिकाका रहेको मेजर महतले बताएका छन्। उनीहरूसंगै आउनेमध्ये ज्वरो देखिएपछि कटारी अस्पतालको आईसोलेसनमा राखिएका ताप्लीकै एकजना भने अस्पतालबाटै भागेका थिए।

सम्पर्क विहीन भएर उनी खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित छोरीको घरमा लुकेर बसेको अवस्थामा गतसाता फेला परेका थिए। उनलाई त्यहीँको क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी परीक्षण गर्न धरान पठाइएको थियो। उनको पनि रिपोर्ट नेगेटिभ आएको ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए। उनीहरूलाई घर पठाउन जनप्रतिनिधिलाई बोलाएर बिदाई कार्यक्रम गरी जिम्मा लगाउने तयारी भईरहेको मेजर महतले बताए।

र्‍यापिड टेस्टको रिपोर्ट पनि सबै नेगेटिभ

 प्रदेश सरकारबाट प्राप्त भएको र्‍यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किटको उपयोग गर्दै उदयपुरका विभिन्न क्वारेन्टाईनमा पुगेर गरिएको पछिल्लो परीक्षण रिपोर्ट सबै नेगेटिभ पाइएको कोरोना रोकथाम तथा प्रतिकार समितिल उदयपुरले जनाएको छ। आरडिटी किट आएपछि शुक्रबारदेखि जिल्ला जनस्वास्थ्य कार्यालयले क्वारेन्टनाईमै स्वास्थ्यकर्मी टोली खटाएर परीक्षण थालेको हो।     

शनिबार रौतामाई गाउँपालिका ५ स्थित आँपटार क्वारेन्टाईनमा गरिएको ५ जनाको परीक्षण रिपोर्ट सबै नेगेटिभ आएको समितिका सदस्य तथा सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए। उनका अनुसार शुक्रबार र शनिबार गरी २३ जनाको आरडिटी परीक्षण गरि सकिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ।  

जनस्वास्थ्य कार्यालयले रौतामाईको मुर्कुची क्वारेन्टाईनका ६, गाईघाटको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा क्वारेन्टाईनका ८, चौदण्डीगढी नगरपालिका १० हडियाका ६ र रौतामाई ५ आँपटारका ५ को आरडिटी परीक्षण गरिसकेको जनाएको छ। आरडिटी प्रविधिबाट कोरोना संक्रमणको आशंकामा क्वारेँन्टाईनमा राखिएकाहरुको रगत लिएर परीक्षण गर्दा १५ मिनेटमै रिपोर्ट आउने सहायक सिडिओ भट्टराईले बताए। 

आईतबार बेलका र चौदयडीगढीलगायत बाँकी क्वारेन्टाईनमा रहेकाहरूको आरडिटी परीक्षण गरिने बताइएको छ। प्रदेश सरकारको निर्देशन अनुसार ¥वास्थ्यकर्मी टोली खटाएर क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य द्रुतगतिमा गर्ने काम भईरहेको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।  

प्रकाशित: ३० चैत्र २०७६ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App