४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य संस्थालाई ‘जगेडा’ औषधि

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले स्वास्थ्य संस्थालाई ‘जगेडा’ औषधि प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सबैको ध्यान केन्द्रित भइरहेको अवस्थामा रुघाखोकी, झाडापखाला, ज्वरो लगायतका मौसमी महामारी फैलिने खतरा पनि उत्तिकै भएकाले गाउँपालिकाले स्वास्थ्य संस्थालाई ५ लाख बराबरको औषधि खरिद गरेर प्रदान गरेको हो ।

कोरोना भाइरसतर्फ सबैको ध्यान केन्द्रित भइरहेको समयमा मौसमी रोग र स्वास्थ्य समस्याले सर्वसाधारणको ज्यान जोखिममा पर्ने खतरालाई ध्यानमा राखेर औषधि प्रदान गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । गाउँपालिकाले ७ वटै वडाका स्वास्थ्य चौकी र दुई वटा स्वास्थ्य इकाईलाई आवश्यक औषधि प्रदान गरेको हो । ‘लकडाउन’को अवधिमा स्वास्थ्य संस्थामा अत्यावश्यकीय औषधिको अभाव हुन नदिनका लागि औषधि खरिद गरेर ल्याइएको गाउँपालिकाले जनाएको छ । ‘अहिले हाम्रो दिमाग कोरोना भाइरसतर्फ मात्रै कन्भर्ट भइरहेको छ ।

यो बेला अन्य रोगको महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यो गर्मी मौसम रुघाखोकी र झाडापखालाको हो । त्यसको समाधानका लागि आवश्यक औषधि तयारी अवस्थामा राखिएको हो ।’ गाउँपालिकाको चैत १५ गतेको बैठकले ‘लकडाउन’को अवधिमा स्थानीय स्वास्थ्य संस्थामा औषधिको अभाव हुन नदिन औषधि उपलव्ध गराउने निर्णय गरेको थियो ।
स्वास्थ्य संस्थालाई औषधि हस्तान्तरण गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई । तस्बिर ः नागरिक

प्रकाशित: २८ चैत्र २०७६ ११:१७ शुक्रबार

स्वास्थ्य_संस्था औषधि