४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसनबाट भागेका एकको स्वाब परीक्षणमा पठाइयो

खोटाङ– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको अवस्थामा भागेपछि खोटाङमा फेला परेका एक पुरुषको स्वाब परीक्षणमा पठाइएको छ। कटारी आइसोलेसनमा राखिएको अवस्थामा गत चैत १४ गते भागेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुषको स्वाब परीक्षणका लागि पठाइएको हो।

चैत २३ गतेदेखि स्वास्थ्य चौकी दुर्छिमको क्वारेन्टाइनमा राखिएका उनको स्वाब परीक्षणका लागि बिहीबार विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। उनको नमूना संकलनका लागि जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर शैलेस श्रेष्ठ र ल्याव असिस्टेन्ट शेखर अधिकारी हलेसी तुवाचुङ नगरपालिका पुगेका थिए। नगरपालिकाको खर्चमा नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेलाई स्वाब लिएर धरान पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। स्वाब परीक्षणको रिपोर्ट केही दिनमा आउने बताइएको छ।

भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा नेपालीलाई चैत १२ गतेदेखि कटारी अस्पतालको आइसोलेसनमा राखिएको थियो। किर्तीमानको सम्पर्कमा रहेका कारण दुर्छिम हैदेका दुई परिवारका आठ जना समेतलाई क्वारेन्टाइनमा राख्नु परेको मेयर राईले बताए।

यसअघि गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पूष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौंसम्मको यात्रा गरेका उनको स्वाब परीक्षणका लागि चैत २१ गते राती धरान पुर्‍याइएको थियो। सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टाइनमा राखिएका छन्।

प्रकाशित: २७ चैत्र २०७६ ०८:०८ बिहीबार

आइसोलेसन स्वाब_परीक्षण कोभिड–१९