२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

खोटाङमा क्वारेन्टाइनमा बस्नेको संख्या १७ पुग्यो

खोटाङ– खोटाङमा क्वारेन्टाइनमा बस्ने स्थानीयको संख्या १७ पुगेको छ। हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा बढि ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ५ जना, केपीलासगढी गाउँपालिकामा २ जना र साकेला गाउँपालिकामा १ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

विभिन्न देशबाट आएपछि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंकामा उनीहरुलाई स्थानीय तहको पहलमा क्वारेन्टाइनमा राखिएको हो। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्य चौकीको क्वारेन्टाइनमा उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुष र उनको सम्पर्कमा रहेका आठ जना आफन्तलाई राखिएको छ।

उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट चैत १४ गते भागेर दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा नेपालीलाई फेला पारेर चैत २३ गतेदेखि क्वारेन्टाइनमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। दिप्रुङ चुईचुम्मा, केपीलास र साकेला गाउँपालिकामा भने विदेशबाट फर्किएका स्थानीयलाई मात्र क्वारेन्टाइनमा राखिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट दुई जना घर फर्किसकेका छन्। घर फर्केको दुई हप्ताभन्दा बढि भएकाले उनीहरुलाई छाडिएको चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए।

प्रशासनका अनुसार जिल्लाका १० स्थानीय तहमा ३७५ बेडको क्वारेन्टाइन तयार पारिएको छ। तर, हालसम्म सात गाउँपालिकाले विदेशबाट फर्किएका स्थानीयलाई क्वारेन्टाइनमा राख्न सकेको छैन। पछिल्लो समय जिल्लामा विदेशबाट १३८ जना घर आएका छन्। उनीहरु र उनीहरुको सम्पर्कमा रहेका परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

स्थानीय तहले विदेशबाट आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा छाडेको जनाएको छ। अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइन भन्दै घरमा बस्ने छुट दिएकाले क्वारेन्टाइनमा बस्नेको संख्या न्यून देखिएको हो।

प्रकाशित: २५ चैत्र २०७६ ०८:२१ मंगलबार

क्वारेन्टाइन कोरोना कोभिड–१९