१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

राउटे समुदायको स्वास्थ्य जाँच

राउटे समुदायलाई मास्क वितरण गर्दै दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली । तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत- जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको स्वास्थ्य जाँच गरिएको छ। विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढीरहेका बेला गुराँस गाउँपालिकाले राउटे समुदायका एक सय ५१ जना सदस्यहरुको बुधबार स्वास्थ्य जाँच गरेको हो। ‘थर्मल गनमार्फत राउटे समुदायका नागरिकहरुको ज्वरो जाँच ग¥यौं,’ अनमी सुमन काफ्लेले भनिन्, ‘कुनै पनि राउटेमा उच्च ज्वरो देखिएन।’ राउटे समुदाय अहिले भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोलामा बस्दै आएको छ।

गाउँपालिकाले राउटे समुदायको नियमित स्वास्थ्य जाँच गर्ने जनाएको छ। कोरोना संक्रमण रोक्नका लागि राउटे बस्ती अहिले लकडाउन गरिएको छ। राउटे समुदायका नागरिकहरुलाई बस्ती भन्दा बाहिर आउन बन्देज लगाइएको छ भने बाह्य व्यक्तिहरुलाई पनि राउटे बस्तीमा प्रवेश दिइएको छैन।

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले राउटे समुदायलाई कोरोनाबाट जोगाउन नियमित स्वास्थ्य जाँच सुरु गरिएको बताए। ‘सातामा दुई पटक उनीहरुको स्वास्थ्य जाँचको व्यवस्था मिलाएका छौं,’ गाउँपालिका अध्यक्ष वलीले भने, ‘आवश्यक परेको बेला जुनसुकै बेला पनि स्वास्थ्यकर्मी खटाउँछौं।’ उनले अहिलेसम्म राउटे बस्तीमा कुनै पनि रोगको संक्रमण नदेखिएको भन्दै लोपोन्मुख जाति बचाउन निगरानी बढाइएको बताए।

‘अहिलेसम्म राउटे बस्तीमा कुनै किसिमको रोगको संक्रमण देखिएको छैन,’ उनले भने, ‘नियमित स्वास्थ्य जाँचका साथै भेरीगंगा नगरपालिकासँग समन्वय गरेर सरसफाईमा केन्द्रीत हुन्छौं।’ उनले बस्तीलाई स्वच्छ राख्नका लागि शौचालय निर्माणका साथै अन्य सरसफाइका कामहरु गरिने बताए।

गाउँपालिकाले राउटेको स्वास्थ्य जाँचका साथै मास्क पनि वितरण गरेको छ। कोरोना संक्रमण रोक्नका लागि मास्क वितरण गरिएको गाउँपालिकाका अहेव निशा मल्लले जानकारी दिइन्। ‘राउटे समुदाय आफ्नो स्वास्थ्य प्रति निकै सहज रहेको पाइयो,’ उनले भनिन्, ‘कोरोना संक्रमण रोक्नका लागि उनीहरु सजिलै मास्क लगाउन तयार भए।’

राउटे महामुखिया महिनबहादुर शाहीले कोरोना नलागोस् भनेर मास्क लगाइएको बताए। सिंगो समुदाय एउटै ठाउँमा बस्ने भएकाले पनि आफूहरुलाई मास्क र अन्य सरसफाई आवश्यक रहेको उनले बताए। ‘सरकारको निर्देशन अनुसार अहिले हामी बस्ती भन्दा बाहिर गएका छैनौं,’ उनले भने, ‘हामीलाई मास्क, सावुन र अन्य स्वास्थ्य सामग्रीहरु आवश्यक छ।’

 

प्रकाशित: २० चैत्र २०७६ ०९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App