सुर्खेत- जाजरकोटमा नेपाली सेनाका ४९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। सेनाले विभिन्न जिल्लाबाट फर्किएका आफ्ना जवानलाई क्वारेन्टाइनमा राखेको हो। ज्वाला दल गण मालिका ब्यारेकमा तालिम सकेर फर्किएका, विभिन्न कार्यक्रम सकेर फर्किएका, घरबिदाबाट फर्किएका र सरुवा भई जिल्लामा आएका ४९ जना सैनिकलाई ब्यारेकभित्रै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको ज्वाला दल गणका गणपति प्रमुख सेनानी सुरेन्द्रप्रताप रावलले बताए।
उनले कोरोनाको संक्रमणप्रति उच्च सतर्कता अपनाउन बाहिरबाट आएकालाई १४ दिनको क्वारेन्टाइमा राखिएको बताए।
जुम्लामा भारतबाट फर्किएका ४४ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। पातारासी, हिमा गाउँपालिकाका साथै चन्दननाथ नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा उनीहरूलाई राखिएको हो। यहाँ एक जनालाई आइसोलेसनमा राखिएको छ।
यस्तै दैलेखमा ११ जना, रुकुम (पश्चिम) मा २३, डोल्पामा ८५ र कालिकोटमा ४३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा राखिएका कर्णालीका १२ जना घर फर्किएका छन् भने आठ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ।
प्रकाशित: १७ चैत्र २०७६ ०५:४९ सोमबार