वीरेन्द्रनगर- आइतबार बिहानको खान खाएर सुनसरी रामधुनी–२, धमौटाका विद्यानन्द चौधरी कर्णाली प्रदेश सरकारले निर्माण गर्न लागेको प्रदेशसभा हलको दोस्रो तलमा टोलाइ रहेका थिए। विद्यानन्दको भौतिक शरीर सुर्खेत भए पनि उनको मन धमौटास्थित घर परिवारसँगै रहेको अनुभूति हुन्थ्यो। झन् बेलाबेला श्रीमती (सुजनकुमारी) ले फोन गरिरहँदा मनलाई परिवारबाट टाढा राख्नै मुस्किल भयो उनलाई। उनी राख्न पनि चाहान्नन्। किनकी यतिबेला कोरोना भाइरसले विश्वलाई नै थिलो थिलो बनाइरहेको छ।
नेपालमा पनि यसको पृष्टि भएको छ। यतिबेला घरमा सात महिने सुत्केरी श्रीमतीलाई साथ दिनेबेला घरबाट टाढा बस्नु पर्दा पीडा न भोक छ नत निन्द्रा नै लाग्छ विद्यानन्दलाई। टाढा हुनु उनको रहर होइन। उनको बाध्यता हो, ‘गरिबी’। गरिबीले गर्दा उनी परिवार छाडेर सुर्खेतस्थित वीरेन्द्रनगरमा मजदुरी गर्छन्। सुर्खेतमा आएको दुई वर्ष भयो। बेलाबेला घरमा गइरहन्थ्ये। घरपरिवार जिम्मेवारी उनकै काधमा छ। २०५८ मा आमा, २०७१ साल फागुन २८ गते दाई र २०७३ मा बुवाको मृत्यु हुँदा उनी टहुरो बने। तीन दिदीहरूको विवाह भइसकेको छ। बाआमा र दाईको मृत्युले उनलाई ठूलो पीडा दियो। पीडासँगै जिम्मेवारी पनि आइलाग्यो। एसएलसी पढ्दै गरेका उनी पढाइ छाडेर मजदुरी गर्न थाले।
घर परिवारको पालनपोषणका लागि मजदुरी गर्नु उनको बाध्यता बन्यो। घर नजिक पायक काम नपाइने र कमाएका पैसा पनि नबच्ने हुँदा उनी लामो समय काम गर्न सुर्खेत पुगे। सुर्खेतमा काम गर्ने उनी बेलाबेला घर गइरहन्थ्ये। यतिबेला भने घर जान पाएनन्। ‘सुत्केरी श्रीमती छाडेर यहाँ बस्नु मेरो बाध्यता हो।' १८ गते गाडी खुल्छ भन्ने हल्ला सुनेका उनी सोही दिन घर जाने तयारीमा छन्। ‘सरकारले बन्दाबन्दी (लकडाउन) लगाएपछि घर जान सकेका छैन,’ उनी भन्छन्, ‘यहाँ काम पनि छैन।’ ‘नत भोक लाग्छ, न रातमा निन्द्रा,’ उनले भने, ‘यस्तो महाविपतिको बेला सुत्केरी श्रीमती कसरी सुरक्षित भइएकी होलीन्?’ सात महिने छोरा पनि बिरामी भएको उनले बताउँछन्। उनी मान्त्र होइन बुटवल–३, झ्याइकुटीका शिशिर बमरेल (२२) का घरमा बुढा आमाबा मात्रै छन्। यतिबेला पहिलाभन्दा आमाले बेलाबेला फोन गरेर कोरोनाबाट बच्न सुझाउनु हुन्छ। महामारीको बेला बुढा बाआमाको स्याहार सुसार गर्न शिशिर इच्छा छ तर लकडाउनले गर्दा वीरेन्द्रनगरमै छन् ।
बुढा आमाबाको यादमा टोलाइरहँदा आमाको फोन आउँछ, ‘कस्तो छ तपाईंलाई बाबु?’ बुढी आमाको प्रश्नले भारि मन बनाउँदै उनी भन्छन्, ‘म यता ठीकै छु। मेरा चिन्ता नगर्नु। घरबाहिर निस्कदै ननिस्कनु। गाडी खुल्नासाथ म आउँछु।’ यतिमै ती बुढी आमाको मन कहाँ विश्वत हुन्छ? उनले पनि विश्वभरि फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम हटाउन पूर्व सतर्कता अपाउन सुझाइन् र फोन काटिन्। यसरी उलने बेला बेला शिशिरलाई सुझाउँछिन्। घर जाने इच्छा भए पनि गाडी बन्द हुँदा जान नसकिएको उनी बताउँछन्।
विद्यानन्द र शिशिर घरमा जान चाहे पनि सक्दैनन्। सरकारले लगाएको लकडाउनका कारण यतिबेला यातायात बन्द छ। उनीहरू पुकार गर्छन्, ‘घरमा त्यस्तो विपति नआओस्।’ छिट्टै परिवारसँग बसेर सुख दुःख साट्न पाइयोस्। पीडा पीडाका पात्र यी दुई मात्र भए पनि मजदुरीका लागि सुर्खेत आएकाहरूको अवस्था यस्तै छ।
प्रकाशित: १६ चैत्र २०७६ ११:१६ आइतबार