५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न अन्यौल

नेपालगन्जस्थित भेरी अस्पताल । तस्बिर : नागरिक

नेपालगन्ज- सरकारले काठमाडौंबाहिर नेपालगन्जसहित तीन स्थानमा कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेपनि अझै सुरसार गरेको छैन। प्रयोगशाला स्थापना भएपछि शंकास्पद बिरामीको नमुना(स्वाब)निकालेर बारम्बार काठमाडौं पठाउनुपर्ने झन्झटबाट मुक्त भइने र रिपोर्ट पनि तत्कालै थाहा पाउन सकिने भन्दै यहाँका स्वास्थ्यकर्मी हर्षित थिए। तर, अहिलेसम्म पनि प्रयोगशाला स्थापना गर्ने सुरसार देखिदैन।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको गत मंगलबार बसेको बैठकले नेपालगन्जस्थित भेरी अस्पताल, पोखरा स्वास्थ्य विकास प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तत्कालै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। प्रयोगशाला समयमा स्थापना नहुँदा यहाँका स्वास्थ्यकर्मीलाई कोरोना भाइरसका शंकास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउनुपर्ने बाध्यता भएको हो।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापा प्रयोगशाला राख्ने बारेमा आफूहरुलाई कुनै जानकारी नआएको बताउँछन्। ‘भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला राख्ने बारेमा हामीलाई कुनै जानकारी छैन,’ उनले नागरिकसँग भने। पश्चिम क्षेत्रलाई लक्षित गरेर नेपालगन्जमा प्रयोगशाला स्थापना भएमा धेरै प्रभावकारी हुने यहाँका स्वास्थ्यकर्मी बताउँछन्। अहिलेसम्म कोरोना भाइरसका शंकास्पद बिरामीको नमुना(स्वाब) निकालेर जहाजमार्फत पठाउने गरिएको मेडिकल सुपरिटेण्डेन्ट थापाले सुनाए।

सात जनाको रिपोर्ट नेगेटिभ
उनका अनुसार अहिलेसम्म १८ जनाको नमुना परीक्षणका लागि पठाइएकोमा ७ जनाको मात्र रिपोर्ट आएको र सबै रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। ‘अहिलेसम्म १८ जनाको रिपोर्ट पठाइएकोमा ७ जनाको नेगेटिभ आएको छ, अरु ११ जनाको रिपोर्ट आउन बाँकी छ,’ उनले भने। आइसोलेसन कक्षमा अहिले कुनैपनि बिरामी नभएको मेसु थापाले जानकारी दिए।

कोरोना भाइरसको संक्रमणबाट जोगाउन भेरी अस्पताल, लायन्स डेण्टल अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा आइसोलेसन कक्ष स्थापना गरिएको छ। यस्तै नेपालगन्जसहित जिल्लाको खजुरा, डुडुवा र नरैनापुर गाउँपालिकामा पनि क्वारेन्टाइन स्थापना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेपालगन्जको क्वारेन्टाइनमा १० र खजुराको राधापुरस्थित मैटहवा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा १९ गरी कुल २९ जना क्वारेन्टाइनमा बसिरहेका छन्। नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको क्वारेन्टाइन मापदण्ड अनुसार नभएको गुनासो बढेपछि त्यहाँ बसेका १० जनालाई स्थानीय होटल ‘सामथ्र्ये ईन’ मा सारिएको छ।

होटलको कोठामा उनीहरुलाई अलग अलग गरेर राखिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ।

 

प्रकाशित: १५ चैत्र २०७६ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App