२ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोनासँग जाेगिन पूर्वतयारी

खोटाङ – कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन खोटाङमा पूर्वतयारी थालिएको छ। विश्वभर फैलिरहेको कोरोनाको संक्रमण जिल्लामा पनि फैलिनसक्ने खतरालाई ध्यानमा राखी जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले आवश्यक तयारी थालेको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कम्तीमा १० थान व्यक्तिगत सुरक्षा सामग्री खरिदका लागि टोली पठाइएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष रहेको जिल्ला समन्वय समितिप्रमुख बबी चाम्लिङले बताए। जिल्ला अस्पतालका कोल्डचेन निरीक्षक कृष्णबहादुर मल्ल र नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यलाई व्यक्तिगत सुरक्षा सामग्री खरिदका लागि इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको मंगलबार आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा जानकारी दिइएको छ। कोरोना संक्रमित आएको अवस्थामा चेकजाँचका क्रममा स्वास्थ्यकर्मीको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री ल्याउन लागिएको हो।

तीन श­ड्ढयाको आइसोलेसन वार्ड
यस्तै, कोरोनाका शंकास्पद बिरामी उपचारमा आए भर्ना गर्ने र उपचार गर्ने व्यवस्थाका लागि जिल्ला अस्पतालमा तीन शड्ढयाको आइसोलेसन वार्ड व्यवस्था गरिएको छ। पूर्वतयारीस्वरूप सो आइसोलेसन वार्डको व्यवस्था गरिएको जिल्ला अस्पतालका डा. शैलेस श्रेष्ठले बताए। उनका अनुसार आवश्यक औषधिसमेत स्टक राखिएको छ। कोरोनाको संक्रमण रोक्न जिल्लाका हरेक नाकामा हेल्पडेस्क स्थापनाको तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए। सिग्देलका अनुसार जयराम, रेग्मीटार, रसुवाघाट, बंशिलाघाट, ऐसेलुखर्क, लामीडाँडालगायत नाकामा हेल्पडेस्क राख्ने तयारी भइरहेको छ। कोरोनाबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले सचेतनामूलक सन्देश प्रवाह गरिरहेको जनाइएको छ।

पाथेकामा कोरोनाको अफवाह
चीनबाट फर्किएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका एक युवालाई कोरोनाको संक्रमण भएको अफवाह फैलिएकाले त्रसित नहुन आग्रह गरिएको छ। ह्वाइट हाउस क्याम्पस धरानमा होटल मेनेजमेन्ट अध्ययन गर्ने क्रममा प्राक्टिकल कक्षाका लागि चीन पुगेका युवा फागुन १४ गते नेपाल फर्किएका थिए। वर्ष दिनका लागि ६ महिनाअघि चीनको सान्य सिटी पुगेका उनलाई कोरोनाको त्रासका कारण परिवारले बिचैमा बोलाएको थियो। कोरोना लागेको हुनसक्ने भन्दै छिमेकीसमेत उनको घरमा जान छाडेकाले समस्या सिर्जना भएको र हल्ला फैलिएको बताइएको छ। तर, उनलाई संक्रमण भएको भन्ने आधार नभेटिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए। पाथेकामा कोरोना भित्रिएको हल्लापछि फागुन २ गते जिल्ला प्रशासन कार्यालयमा आकस्मिक सर्वदलीय बैठक नै डाकिएको थियो। गाउँभर फैलिएको अनावश्यक हल्लाले मानसिक पीडा भएको ती युवाको गुनासो छ।

प्रकाशित: ५ चैत्र २०७६ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App