१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

आधिकारिक सूचना संयन्त्रको अभाव

काठमाडौं – नोवल कोरोना विषाणुलाई लिएर आमनागरिकमा सन्त्रास फैलिरहँदा यसबारे आधिकारिक जानकारी दिने एकद्वार पोर्टलको अभाव छ। विषाणु संक्रमणबारे भ्रमपूर्ण सूचना सार्वजनिक हुन थालेपछि जनसमुदायमा डर बढ्दो छ।
छिमेकी भारतले आफ्नो नेसनल हेल्थ पोर्टलमा कोरोनाबारे विभिन्न भाषामा जानकारी, निर्देशिका र ट्राभल एड्भाइजरीलगायत प्रशिक्षकहरूलाई सूचना दिने सामग्रीहरू राखेको छ। त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकद्वार सूचना प्रणालीको विकास गरेको हो। यसमा केन्द्रीय तथा राज्यस्तरमा स्थापना गरिएको हेल्पलाइनबारे समेत सूचना संलग्न गरिएको छ।

भारतमा हालसम्म ३९ जनालाई यो विषाणुको संक्रमण भएको छ भने तीमध्ये तीनजनालाई निको भइसकेको अमेरिकी जोन हपकिन्स विश्वविद्यालयले स्थापना गरेको कोरोना भाइरस ड्यासबोर्डले आइतबार जनाएको छ। चीनको वुहानबाट गत डिसेम्बरबाट सुरु भएको कोरोना प्रकोप हाल विश्वको ९७ देशमा फैलिसकेको छ। यस विषाणुबाट एक लाख सात हजार संक्रमित भइसकेका छन् भने तीन हजार ६ सय ४६ जनाको ज्यान गइसकेको छ। ज्यान गुमाउनेमा तीन हजार ९७ जना चिनियाँ हुन्।

‘विषणुबारे जानकारी दिन एकद्वार सूचना सञ्जाल स्थापना गर्न अत्यन्त जरुरी छ,’ ह्याम्स अस्पतालका संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘यसले सरकारको तदारुकता र विश्वसनीयता बढाउनेछ भने अध्यावधिक र आधिकारिक सूचना प्रवाहले आमजनमानसमा सकारात्मक मनोवैज्ञानिक असर पर्नेछ।’

यस्तै जनस्वास्थ्यका वैज्ञानिक समीर दीक्षित सरकारले यो विषयमा बोल्न एकजना प्रवक्ता तोक्नुपर्ने र उसले मात्र दैनिक सूचना प्रवाह गर्नुपर्ने तर्क गर्छन्। ‘एउटा प्रभावकारी सञ्चार रणनीतिको तर्जुमा गरेर विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्नु आवश्यक छ,’ उनी भन्छन्।

नेपालको स्वास्थ तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटमा कोरोनासम्बन्धी तीनवटा प्रेस विज्ञप्तिहरू राखिएका छन्, जसमा हालसम्म कोरोना संक्रमणको आशंकामा चार सय ४१ जनालाई परीक्षण गरिएको जनाइएको छ र संक्रमणबाट बच्न अवलम्बन गर्नुपर्ने केही सुुझाव राखिएका छन्। यसैगरी स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन परिचालन केन्द्रको वेबसाइटमा भाइरसबारे पछिल्ला जानकारी र केही सन्दर्भ सामग्री राखिएका छन् तर ती अधिकांश अंग्रेजी भाषामा छन्। एकाध प्रेस वक्तव्य र सूचना सामग्री मात्र नेपालीमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. विकास देवकोटा सूचना प्रवाहमा एकद्वार प्रणाली र अनलाइन पोर्टलको आवश्यकता महसुस भएको स्वीकार गर्छन्। ‘हामी आमनागरिकले बुझ्ने भाषामा एकद्वार पोर्टल निर्माण गर्ने तयारीमा छौं,’ उनले भने। गत शुक्रबार नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रण गर्ने सम्बन्धमा सार्वजनिक महŒवको प्रस्ताव पेस गरेका छन्। चार पृष्ठ लामो प्रस्तावमा सरकारले सही सूचना उपलब्ध गराउनुपर्ने र आमनागरिकमा अनावश्यक त्रासको वातावरण सिर्जना हुन दिन नहुने बताएका छन्। ‘सरकार र सञ्चारमाध्यमले दिने सही सूचनाले मात्र आमजनसमुदाय आश्वस्त हुन सक्छन्,’ प्रस्तावमा भनिएको छ।

चीनसँग सिमाना जोडिएको र व्यापार तथा अध्ययनका हिसाबले दुई देशबीचको आवतजावत बाक्लो भएको, यो भाइरसले अत्यधिक प्रभाव पारेको राष्ट्रहरूमा नेपालीहरू कार्यरत रहेको र छिमेकी मुलुक भारतमा हालसालै यो भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले नेपाल जोखिमयुक्त राष्ट्रमा पर्ने विज्ञको तर्क छ। यस्तै अक्सफोर्ड जर्नल अफ ट्राभल मेडिसिनले नेपाल कोरोना भाइरसको जोखिमका हिसाबमा १५ संवेदनशील मुलुकमा पर्ने बताएको छ।

प्रकाशित: २६ फाल्गुन २०७६ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App