९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

मेरुदण्ड बांगिने समस्या (स्कोलियोसिस) के हो ?

गौरवराज ढकाल, राष्ट्रिय ट्रमा सेन्टर मेरुदण्ड विशेषज्ञ

गौरवराज ढकाल, राष्ट्रिय ट्रमा सेन्टर मेरुदण्ड विशेषज्ञ

मेरुदण्ड शरीरको महत्पूर्ण हड्डी हो। यो मेरुदण्ड हेर्दा सामान्य देखिन्छ। तर बांगिएको अवस्थामा भने एकापट्टि झुकेको देखिन्छ। यस्तो अवस्थालाई मेरुदण्ड बांगिएको मानिन्छ। सुरुमा यसले खासै समस्या देखाउँदैन। तर यसको जटिलता बढ्दै गए मुटु तथा फोक्सोमा दबाब दिन्छ र मुटुको कार्यक्षमता घट्दै जान्छ। त्यसैगरी फोक्सोमा दबाब परे श्वासप्रश्वासमा समस्या देखिन्छ। नेपालमा पनि मेरुदण्ड बांगिने समस्या धेरै छ तर कति छ भनेर यकिन तथ्यांक भने छैन।

यो समस्या पुरुषमा भन्दा महिलामा पाँचदेखि आठ प्रतिशत बढी देखिन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा मेरुदण्ड बांगिएका मासिक तीनजनासम्म बिरामी आउँछन्। उनीहरू समस्या जटिल बनेपछि सिधै अथवा अन्य अस्पतालबाट रेफर भएर आउने गर्छन्।

मेरुदण्ड बांगिनुको कारण ?
मेरु्रदण्ड बांगिनुको एउटै मात्र कारण छैन। मेरुदण्ड बांगिएकामध्ये ८५ प्रतिशतको कारण अहिलेसम्म पत्ता लाग्नसकेको छैन। यो समस्याले बढ्दो उमेरका मानिसलाई बढी हानि पु-याएको हुन्छ। जब बढ्दो उमेरमा शरीरको पूर्ण विकास हुन थाल्छ। तीमध्ये धेरैको मेरुदण्ड बांगिनुको कारण थाहा हुँदैन। केहीको भने उनीहरूको अघिल्लो पुस्तामा यस्तो समस्या भइसकेको पाइन्छ। यो समस्या सबै उमेर समूहका मानिसमा देखिने भए पनि बढी मात्रामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाई देखिने गरेको पाइन्छ।

यस उमेरका बालबालिकाले आफ्नो शरीर साथी तथा परिवारका सदस्यलाई देखाउन चाहँदैनन्। त्यसैले समस्याको समाधान समयमै गर्न सकियोस् भनेर स्कोलियोसिस अनुसन्धान समूह र अमेरिका एकेडेमी अफ अर्थोपेडिक सर्जनले मिलेर बालबालिकालाई विद्यालयमै स्वास्थ्य जाँच गर्ने व्यवस्था गरेका छन्। त्यसैगरी मेरुदण्ड बांगिने अन्य कारणमा जन्मजात मेरुदण्ड बांगिनु, स्नायु प्रणालीको समस्या, मांशपेसी सम्बन्धी रोगआदि पर्छन्।

मेरुदण्ड बांगिने समस्या कसलाई देखिन्छ ?
मेरुदण्ड बांगिएको बाल्यकालमै थाहा हुँदैन। जब बालबालिका वयस्क हुन थाल्छन् या शारीरिक विकास हुन थाल्छ तब देखिन थाल्छ। यो केटाकेटी दुवै समूहमा देखिन्छ। कुनै पनि मानिसको उमेर ४०/४५ वर्ष पुगेपछि पनि मेरुदण्ड बांगिने गर्छ।

नेपालमै उपचार हुन्छ त ?
नेपालमा राष्ट्रिय ट्रमा सेन्टर, अपांग बाल अस्पताल बनेपा, धुलिखेल अस्पताल र टिचिङि अस्पतालमा यसको उपचार हुन्छ। ९० प्रतिशत समस्या सामान्य किसिमका हुन्छन् र उपचार नचाहिने हुन्छ। वयस्कहरूमा बांगिएको मेरुदण्डबारे एक्सरेबाट थाहा पाउन सकिन्छ।  मेरुदण्डमा धेरै समस्या देखिए मेरुदण्ड चिकित्सकलाई देखाएर शल्यक्रिया गर्नुपर्ने हुन सक्छ। कतिपय मेरुदण्ड सामान्य उपचारले निको हुन्छ भने जटिल अवस्थामा शल्यक्रिया गर्नुपर्छ। शल्यक्रिया गर्दा बिरामीको उमेर, हड्डीको विकासको समय, झुकावको डिग्री, मेरुदण्डको बांगिएको भाग, महिनावारी र वयस्क भए÷नभएको अवस्था, बिरामीको लिंग, मेरुदण्डको झुकावको स्थिति हेरेर मात्र गर्न मिल्छ।

मेरुदण्ड बांगिएको लक्षण
एकापट्टिको काँध अर्कोभन्दा उच्च वा ठूलो हुनु,
दुवै हातका पाखुरा सिधा झुन्ड्याएर राख्दा एका पट्टीको पाखुरा र शरीरको भागमा बढी दुरी वा
खाली देखिनु
एकापट्टिको कम्मर अर्कोभन्दा उच्च देखिनु।

प्रकाशित: २८ असार २०७६ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App