४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पेटको रोगमा प्रभावकारी इआरसिपी

रोग पहिचानमा मात्र प्रयोग हुँदै आएको इआरसिपी (इन्डोग्राफिक रेट्रोग्रेड कोल्नाजियो प्यानक्रियाटोग्राफी) उपकरण  पछिल्लो समय पित्तनली र पाचनथैलीको नलीको उपचारमा प्रयोग भइरहेको छ। यो प्रविधि पेटको रोगको उपचारमा कत्तिको प्रभावकारी छ ? प्रस्तुत छ, नागरिकर्मी पवित्रा सुनारले वीर अस्पतालका ग्यास्ट्रो फिजिसियन डा. विवेक पुर्वेसित गरेको कुराकानीको अंश:

चिकित्सा पेशामा लागेको कति भयो ?
– विगत ६ वर्षदेखि ग्यास्ट्रोलोजिस्ट विशेषज्ञको रूपमा सेवारत छु। पाचनप्रणालीभित्र पनि पित्तनलीमा आएको रोग र पाचननलीमा हुने रोगको उपचारमा बढी दक्षता प्राप्त गरेको छु।

इआरसिपी उपचार प्रविधिमा पनि दक्ष हुनुहुन्छ रे हो ?
– हो, यो प्रविधिमा उपचार गर्दागर्दै पर्याप्त सिप र ज्ञान हासिल गरेको छु।

इआरसिपी उपचार पद्धति भनेको के हो ?
– मुखबाट पाइप छिराउने र पाइपभित्र अर्को  तार छिराएर रोग खोजिने प्रक्रिया हो। यो प्रक्रियामा पित्तनलीको जरादेखि कलेजोसम्मको क्षेत्रमा हुने अवरोध या रोगलाई हटाइन्छ। पित्तनलीका साथै प्यानक्रियाज नली (खाना पचाउने नली) दुवैमा भएको रोगको खोजी गर्ने र त्यहाँका अवरोध हटाउने प्रक्रिया हो। जस्तो कि पित्तनलीमा सानो ढुंगा छ भने यसको जरा काटेर वा फुटाएर ढुंगालाई टोकरीमा समात्छ र आन्द्रामा राखिदिन्छ। त्यो फुटाएको ढुंगा  आन्द्रामा खसालिन्छ। आन्द्राबाट दिसा हुँदै बाहिर निस्कन्छ। कहिलेकाहीँ पत्थरीको जरा सानो छ र ढुंगा ठूलो छ भने  निस्कँदैन। त्यस्तो अवस्थामा जरालाई फुकाएर ढुंगा फुटाइन्छ।  

–मुखबाट पाइप छिराउने र पाइपभित्र अर्को  तार छिराएर रोग खोजिने प्रक्रिया हो इआरसिपी।
–यो सेवा वीर अस्पताल, टिचिङ अस्पताल महाराजगन्ज र धुलिखेल अस्पतालमा छ।
– पित्तनलीको ढुंगा, क्यान्सर या अन्य संक्रमण भएमा, प्यानक्रियाजमा ट्युमर तथा पत्थरी र क्यान्सर भएमा यो उपचार पद्धतिको प्रयोग गरिन्छ।
– पित्तथैलीमा पत्थरी हुने रोग चिल्लो खाना खाने, मोटा, बढी तौल र रक्सी सेवन गर्नेमा बढी देखिन्छ।

यो पेशामा लाग्नुभएको कति वर्ष भयो ?
– अध्ययन गरी चीन सन् २०११ आएर धुलिखेल अस्पतालबाट सेवा सुरु गरें। अहिले पनि यही पेशालाई निरन्तरता दिँदै वीर अस्पतालमा कार्यरत छु।

 कुन कुन रोगको उपचार गर्नुहुन्छ ?

– पाचनप्रणालीका सबै अंगमा लाग्ने रोगको उपचार गर्छु।

यो उपचार विधि कसरी सुरु भयो ?
–वीर अस्पतालमा धेरै पहिला डा. दिनेश श्रेष्ठ हुँदा नै यो विधि थियो। तर उल्लेख्य प्रगति हुन सकेन। त्यसैगरी काठमाडौं अस्पतालमा डा. आइएल आचार्यले सुरु गर्नुभयो। त्यहाँ पनि त्यति मौलाउन पाएन। जब धुलिखेल रेफरल अस्पतालमा सुरु गरियो त्यसपछि भने यो उपचार विधिमा विभिन्न तरिका प्रयोग हुन थाले।
धुलिखेल अस्पतालमा डा. राम गुरुङले यो विधि सुरु गर्नुभएको हो। मैले उहाँबाट सिकेको हुँ। पहिला यो रोग पहिचानका लागि मात्र प्रयोग हुन्थ्यो। यसका धेरै जटिलता थिए। अहिले उपचारकै रूपमा बढी प्रयोग हुन्छ।

इआरसिपी कसरी उपचारमा प्रयोग हुन थाल्यो ?

–पहिला पेटको रोग पत्ता लगाउने एमआरसिपी, अल्ट्रासाउन्ड थिएन। यही नै प्रयोग हुन्थ्यो। पहिचान प्रक्रियामा धेरै जटिलता पनि थियो। कुल  डाइग्नोसिसको १८ प्रतिशतसम्म जटिलता आउँथ्यो।

इआरसिपी  पाचन अंगको कुन भागसम्म पुग्छ ?
– आमाशयको तल्लो अंग डियुडेनमसम्म पुग्छ।

यो सेवा कुन कुन अस्पतालमा छ ?
– यो सेवा वीर अस्पताल, टिचिङ अस्पताल महाराजगन्ज र धुलिखेलमा छ।  धुलिखेलपछि वीर र टिचिङमा यो प्रविधिको प्रयोग बढी छ।

धुलिखेलबाट वीरमा किन आउनुभयो ?  
– वीरको विभागले पनि मलाई चाह्यो। बिरामीको सेवा गर्ने भावना र नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यका लागि वीर अस्पताल पनि उचित थियो। अहिले कम शुल्कमा धेरै बिरामीको सेवा गर्ने अवसर मिलेको छ।

इआरसिपी कस्ता बिरामीका लागि गरिन्छ ?

– पित्तनलीको ढुंगा, क्यान्सर या अन्य संक्रमण भएमा, प्यानक्रियाजमा ट्युमर तथा पत्थरी र क्यान्सर भएमा यो उपचार पद्धतिको प्रयोग गरिन्छ। जति पनि पित्तथैलीका बिरामी हुन्छन्, तीमध्ये १५ प्रतिशतलाई पित्तनलीमा ढुंगा हुन्छ। यो उपचारमा ढुंगा राम्रोसित निस्क्यो भने चार घण्टामा बिरामी घरै फर्किन पाउँछन्।

पित्त र पाचननलीमा समस्या भएका बिरामी कत्तिको आउँछन् ?

– पित्तथैलीमा ढुंगा हुनेमध्ये १५ प्रतिशत नलीमा ढुंगा भएका आउँछन्। यो अन्तर्राष्ट्रिय तथ्यांक हो। धुलिखेल अस्पतालको तथ्यांक निकाल्दा इआरसिपी गरेकामध्ये ५० प्रतिशतमा पित्तथैलीको पत्थरी हुन्छ। अन्यमा पाचननलकिो क्यान्सर, पित्तथैलीको क्यान्सरलगायत रोगहरू पाइएका छन्। पित्तनलीको अवरोध भएर हुने जन्डिसको उपचार गर्न पनि इआरसिपी गरिन्छ।

उनीहरू कस्ता समस्या लिएर आउँछन् ?
– ४० प्रतिशत कुनै लक्षण नभइकन पनि आउँछन्। ६० प्रतिशत दाहिनेतिरको पेट र नाइटोभन्दा माथिको दुखाइ, जिउ चिलाएर, ज्वरो आएर, रक्तचाप घटेर, वान्ता आउने, दिसा–पिसाब पहेंलो हुने तथा दिसा खरानी रङको हुने समस्याले आउँछन्। मुख्यचाहिँ लामो समयदेखि पेट दुखाइ नै हो।  

यस्ता बिरामी अस्पतालमा कति आउँछन् ?
– दैनिक एक सयदेखि एक सय ५० जना आउँछन्। उनीहरूमध्ये दैनिक एक÷दुईजना इआरसिपी गर्नुपर्ने अवस्थाका हुन्छन्।

पित्तनली र पाचननलीमा समस्या आउनुको कारण ?
– पहिलो कारण पित्तथैलीको ढुंगा नै हो। अर्कोचाहिँ भनेको क्यान्सर हो। ढुंगा पित्तथैलीमा ढुुंगा बन्नुको कारण थाहा छैन। तर हेर्दा मुधुमेह, कलेजो रोग, मोटो मानिस र महिलाहरूमा यो बढी देखिन्छ।

पाचन ग्रन्थिमा पत्थरी भए कस्तो समस्या देखिन्छ ?

– लामो समयसम्म पेट दुख्छ। तर रोग पत्ता लागेको हुँदैन। खाना पचाउने ग्रन्थिको नलीको समस्या भएर आउने हो। यसलाई क्रोनिक प्यानक्रटाइटिस भनिन्छ। प्यानक्रियाजमा ढुंगा या क्यान्सर हुन्छ। यस्तो अवस्थामा हामीले रोग पत्ता लगाउन र उपचार गर्न इआरसिपी गर्छौं। तर पित्तथैलीको नलीमा समस्या छ भने जन्डिस हृुन्छ। प्यानक्रियाज नलीमा समस्या छ भने पखाला लाग्छ।  भारत, पाकिस्तान  र नेपालमा यो रोग बढी भेटिन्छ।


यी देशमा ट्रपिकल प्यानक्रियाटाइटिस (पाचननलीको ग्रन्थिमा) अवरोध आउनुको कारण के हो ?
 
–  मैले पाँच हजारभन्दा बढीको खाना पचाउने ग्रन्थीको  इआरसिपी गरेको छु। मेरो अनुभवमा यो समस्या रक्सी  सेवन र वंशाणुगत कारणले हुन्छ। पहिला पित्तथैलीमा पत्थरी भएमा त्यो खसेर नलीमा आउने र कहिलेकाहीँ नलीमा आफैं पत्थरी बन्ने गर्छ।

इआरसिपी गर्न कति समय लाग्छ ?
–औसत आधादेखि एक घण्टा समय लाग्ने गर्छ। मेरो हकमा भने पन्ध्र÷बीस मिनेटभित्रै सकिन्छ।

पित्तथैली  र प्यानक्रियाज नलीमा अवरोध हुनुको कारण ?

– दुवैमा पत्थरी हुनुका फरक–फरक कारण छन्। रक्सीसेवन गर्ने, मोटा मान्छे तथा महिलामा पित्तथैलीको पत्थरी बढी मात्रामा हुन्छ। यसको उत्पादन धेरै कलेजोबाट हुन्छ र पित्त बाक्लो हुन्छ। यो सुकेर जाने क्रममा ढुंगा बन्छ।

यी अंगमा रोग छ भन्ने कुरा समयमै बिरामीले कसरी थाहा पाउने ?
– सबैभन्दा सजिलो उपाय भनेको भिडियो एक्स–रे गर्ने हो। तर प्रायः पित्तनली सुन्निएको छ भने पनि नलीमा पत्थरी या क्यान्सर छ भनेर शंका गर्नुपर्छ। समयमै थाहा पाउने भनेको नियमित जाँच नै हो। ४० वर्ष पुगिसकेपछि हरेक एक÷दुई वर्षमा नियमित जाँच गर्नुपर्छ।

नेपालको इआरसिपी उपचारको अवस्था कस्तो छ ?
– राजधानीमा धेरै छन्। राजधानीबाहिर भरतपुर अस्पतालमा पनि सुरु भएको छ। यो अस्पतालले सफलता पनि पाएको छ। मैले धुलिखेलमा काम गर्दा देशभर यो सेवा उपलब्ध होस् भन्ने सोच राखेको थिएँ। अहिले उपत्यकाबाहिर यो सेवा विस्तार भइरहेको छ। छिट्टै बुटवलमा पनि खोल्ने तयारी भइरहेको छ।

इआरसिपीको वैकल्पिक उपचार के त ?
– यसको प्रतिस्थापन उपचार छैन। कुनै कुनै अवस्थामा यो प्रविधिले काम पनि गर्दैन। जन्डिस छ र ट्युमरले ब्लक गरेको अवस्थामा कलेजो छेडेर तार बाहिर निकाल्ने उपचार पनि छ। यो क्यान्सरका अन्तिम अवस्थाका बिरामीका लागि मात्र हो। अर्को अल्ट्रा साउन्डबाटै कलेजो छेडेर पनि अवरोध हटाउन सकिन्छ।

इआरसिपीका जटिलता के के हुन् ?
– इआरसिपी गर्ने क्रममा नली काटिन्छ। घाउ सुकेको पाँच÷दस वर्षपछि फेरि जन्डिस लिएर आउँछ। यस्तो अवस्थामा पुन इआरसिपी गरेर तन्काउनुपर्ने हुन सक्छ। पुनः इआरसिपी गरेर उपचार गर्छौं।

त्यसो भएर पेट काटेर गर्नु उचित हुन्छ त ?  

– म यस्तो सुझाव दिन्नँ। म  एक पटक इआरसिपी प्रयास गर्नुपर्छ भन्ने मान्यता राख्छु। शल्यक्रिया अन्तिम विकल्प हो। यो उपचारमा बिरामी चार घण्टामै उपचार गरी घर फर्किन सक्छ। हप्तामा तीन दिनका दरले मासिक ६० जनाको उपचार गरिन्छ।

पित्तथैलीमा पत्थरी बढ्नुको कारण ?
 – यसको सिधा सम्बन्ध हाम्रो जीवनशैलीसित छ। बढी चिल्लो खानाले कोलस्ट्रोल बढ्नु हो। चिल्लो खाना, बिरामीको मोटोपना, बढी तौल र रक्सी सेवन गर्नेमा यो रोग बढी देखिन्छ।
पहिलेको तुलनामा अहिले पित्तथैलीका पत्थरी बढी देखिएको हो ?

– अहिले बढेको छ। आरामदायी जीवनशैली, खानपान जस्ता कुराले भूमिका खेलेको छ। पहाडको तुलनामा तराईमा यो समस्या बढी छ। तराईमा बढी पानी पिउँछन्, उच्च तापक्रम हुँदा जलवियोजन हुन्छ। जति जलवियोजन भयो त्यति नै पत्थरी बन्ने समस्या बढी हुन्छ।

यी अंगमा क्यान्सर सुरु भएपछि उपचार सम्भव छ त ?
– थाहा भइसक्दा धेरै नै ढिला भइसकेको हुन्छ। यी अंगमा रोग लागेको छिटो थाहा पाउन सकिन्न। नलीको जराको ट्युमर छिटो पत्ता लाग्छ। पित्तको नलीको जरा फैलिने जुन प्रक्रिया हुन्छ, त्यो ढिला हुन्छ। यस्तो रोगको शल्यक्रिया सफलतापूर्वक गर्न सकिन्छ।

यी अंगमा लाग्ने रोगबाट बच्न कस्तो जीवनशैली आवश्यक छ ?

– स्वस्थ जीवनशैली अपनाउने, नियमित व्यायाम गर्ने, अखाद्य खानेकुरा नखाने। यस्ता खानेकुराको कारण पेट, आन्द्रा तथा कलेजोको क्यान्सर बढिरहेको छ।

प्रकाशित: ७ वैशाख २०७६ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App