कुनै दुर्घटनामा पर्दा वा चोटपटक लाग्दा हाम्रो शरीरका हड्डी भाँचिने, टुक्रिने गर्छन्। साथै हाडजोर्नीमै पनि विभिन्न रोग लागेर हामी हैरान हुन्छौं। प्रस्तुत छ– हाडजोर्नी समस्याका विषयमा केन्द्रित रहेर नागरिककर्मी पवित्रा सुनारले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डा. रुद्र मरासिनीसँग गरेको यो सन्देशमूलक संवादः
चिकित्सा क्षेत्रमा लागेको कति वर्ष भयो ?
चिकित्सा पेसामा लागेको १२ वर्ष भयो। हाडजोर्नी सेवामा लागेको चाहिँ सात वर्ष भयो। यास अवधिमा मैले नेपालका विभिन्न अस्पतालमा काम गरेको छु। अहिले यहाँ (राष्ट्रिय ट्रमा सेन्टर) छु।
हाडजोर्नीमा हुने मुख्य समस्या के–कस्ता छन् ?
हाडजोर्नीमा मुख्य गरी दुई किसिमका समस्या आउँछन्। पहिलो, सवारी दुर्घटनामा परेर, भीर या अग्लो ठाउँबाट खसेर या चिप्लेर हाडजोर्नी भाँचिने, चोटपटक लाग्ने। दोस्रो, हड्डीभित्रै विभिन्न रोग लाग्ने। जसका कारण हाडजोर्नीमा अनेक समस्या आउँछन्।
हाडजोर्नीमा चोटपटक लाग्ने कारण तथा जोखिम के–के हुन् ?
सहरीकरण बढेसँगै विश्वभरि नै सवारी दुर्घटना बढेका छन्। नेपालमा पनि सवारी दुर्घटना बढ्दो छ। त्यसमा पनि यहाँ मोटरसाइकल दुर्घटना ज्यादा छ। यसबाहेक रूखबाट खसेर, भीरबाट लडेर उपचार गर्न आउने पनि उत्तिकै छन्। ठूलो चोटपटक लागेर शरीरका धेरै ठाउँका हड्डीमा असर परेका बिरामीहरू विभिन्न ठाउँबाट रेफर भएर यस अस्पतालमा आउने गरेका छन्। बहुशल्यक्रिया तथा उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचार यस अस्पतालमा हुन्छ। शरीरका जुनसुकै भागमा चोट लागेको भए पनि उपचार हुने भएकाले स्थानीय अस्पतालमा उपचार हुन नसकेका बिरामी यहाँ आउँछन्। जस्तो, हातखुट्टा भाँचिएको छ र टाउकामा पनि चोट लागेको छ भने दुवै शल्यक्रिया गर्ने चिकित्सक हामीकहाँ छन्।
मानिसहरू ज्यादै सौखिन भए। मीठा–मीठा परिकार सक्दो खाने तर श्रम तथा व्यायाम नगर्ने । जसका कारण हड्डी कमजोर हुँदै गए । हड्डी पातलिने, खिइने समस्या बढ्दै गए।
हाडजोर्नीमै लाग्ने रोगको स्थिति चाहिँ कस्तो छ ?
हड्डी खिइने, हातखुट्टा तथा मेरुदण्डका जोर्नी खिइने समस्या सबैभन्दा बढी देखिन्छ।
यस्ता समस्या बढी हुनाको कारण के होला ?
पहिलो कुरा त मानिसहरू ज्यादै सौखिन भए। मीठा–मीठा परिकार सक्दो खाने तर श्रम तथा व्यायाम नगर्ने। जसका कारण हड्डी कमजोर हुँदै गए। हड्डी पातलिने, खिइने समस्या बढ्दै गए। उमेरअनुसार पनि हड्डीका फरक–फरक रोग देखापर्छन्। बच्चाहरू छन् भने हड्डीको क्यान्सर, ट्युमर, बाथलगायत अन्य विभिन्न संक्रामक रोग लाग्छन्।
पछिल्लो समय बढी देखिएका हाडजोर्नीसम्बन्धी रोगहरू के–के हुन् ?
पहिलो, हड्डी तथा जोर्नीहरू खिइने, मांशपेसी कमजोर हुने, हड्डीको घनत्व कम हुने रोगहरू(उमेरका कारण हुने रोग)। दोस्रो, हर्मोनका कारण महिलामा हुने हड्डीको घनत्व कम हुने रोग (अस्टियोपोरोसिस)। यस्तो समस्या हँुदा सानो चोट लाग्दा पनि हड्डी भाँचिने हुन्छ। यस्तो समस्या लिएर आउने पनि धेरै छन्।
अस्टियोपोरोसिस हुनाको कारण ?
यो दुई कारणले हुन्छ। पहिलो, हर्माेन र उमेरका कारण हुने प्राथमिक अस्टियोपोरोसिस। हर्माेन समस्या कारण ४० देखि ४५ सम्मका महिलालाई लाग्छ। यस्तै उमेरका कारण यो रोग ६५/७० वर्षपछि लाग्छ। दोस्रो किसिमको अस्टियोपोरोसिस। जुन हामीले नियन्त्रण गर्न नसक्ने कारणले लाग्छ। लामो समय औषधि प्रयोग गरेकाहरू। जस्तो, मधुमेह, उच्च रक्तचाप, बाथ, गर्भनिरोधक चक्कीलगायत औषधि लामो समय प्रयोग गरेकाहरूलाई अस्टियोपोरोसिस हुन्छ। अर्थात् जसलाई अर्को रोग छ र लामो समय औषधि सेवन गर्नुपरेको हुन्छ त्यस्ता बिरामीलाई औषधिको असरले पनि अस्टियोपोरोसिस समस्या ल्याउँछ।
त्यसैगरी लामो समयसम्म रक्सी तथा चुरोट खानेहरूलाई पनि यस्तो समस्या हुन्छ। खानामा प्रोटिन, क्याल्सियम तथा भिटामिन ‘डी’ को मात्रा कमी हुने अवस्थामा पनि अस्टियोपोरोसिस हुन्छ। यस्ता समस्या भएका व्यक्तिको हड्डी सानो चोट लाग्दा पनि भाँचिने हुन्छ।
अस्टियोपोरोसिसको समस्या पुरुषलाई चाहिँ हुन्छ हुँदैन ?
महिलाालाई हर्मोनका कारण उक्त समस्या हुन्छ भने पुरुषलाई वृद्ध उमेरका कारण हुन्छ। वृद्ध हुँदै गएपछि शरीरका हड्डी सुकेर जाने क्रम बढ्दै जान्छ भने बन्ने क्रमचाहिँ घट्दै जान्छ। त्यसले गर्दा मान्छेको उचाइसमेत कम हुँदै जान्छ। मेरुदण्डको लम्बाइ कम हुँदै गएर मान्छे कुप्रिँदै जान्छ। जसले अस्टियोपोरोसिसको समस्या ल्याउँछ।
हड्डीमा हुने संक्रमण र ट्युमर समस्या कतिको छ ?
यहाँ, संक्रमण भएर पनि बिग्रिसकेपछि मात्र उपचारमा आउँछन्। सुुरुमा बाहिर उपचार गर्छन्, त्यहाँ निको नभएपछि मात्र यहाँ (ट्रमा सेन्टर) आउँछन्। मेरुदण्डको बाथ भएर आउने पनि उत्तिकै छन्। यो समस्या चाहिँ बाथरोग विशेषज्ञले हेर्छन्। तर बाथका कारण हड्डीको शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने चाहिँ हामी (हाडजोर्नी विशेषज्ञ) गर्छौं।
चोटपटकबाहेक हड्डीको रोग लागेका बिरामी यहाँ कति आउँछन् ?
अस्पतालका सबै विभागमा गरेर दैनिक पाँच सय बिरामी उपचारका लागि आउँछन्। तीमध्ये हाडजोर्नीसम्बन्धी रोग लागेका मात्र ५० प्रतिशत हुन्छन्।
हड्डी कमजोर हुने अन्य कारण कस्ता छन् ?
क्याल्सियम सोस्न भिटामिन डी चाहिन्छ। यदि भिटामिन डीको मात्रा कम छ भने खानामा जतिसुकै क्याल्सियम भए पनि शरीरले सोस्न सक्दैन। त्यसकारण पहिला, भिटामिन डी शरीरमा पर्याप्त हुनुपर्यो।
भिटामिन डीको मुख्य स्रोत सूर्यको किरण हो। तर आजभोलि मानिसहरू प्रायः घरभित्रै काम गर्छन्। घाममा खासै निस्कँदैनन्।गाउँका मानिसमा भन्दा काठमाडौं उपत्यकाका मानिसमा भिटामिन डी कमीको समस्या बढी देखिन्छ। गाउँमा बस्नेको हड्डी बलियो हुन्छ। किनकि उनीहरू घरबाहिर घामको प्रकाशमा काम गर्छन्। साथै गाउँमा हिंड्डुल बढी हुने भएकाले त्यहाँका मानिसलाई व्यायाम पनि पुगिरेहको हुन्छ।
सहरवासीमा भिटामिन डी, प्रोटिन र क्याल्सियम कमीका कारण हड्डी कमजोर हुने समस्या बढ्दै गएको हो ?
पहिलाभन्दा बढेकै हो। सहरमा सन्तुलित खानाभन्दा पनि जंकफुड (बजारका तयारी खानेकुरा) खाने चलन बढी छ। प्रोटिनका लागि नियमित माछा–मासु, गेडागुडी, अन्डा, सागसब्जी खानुपर्यो। यस्तै क्याल्सियम पनि दूध, सागपात र मासुमै बढी पाइन्छ। तर यसको सट्टा जंकफुड खाने चलन बढी छ।
तपाईं दिनभरि बसिरहनु हुन्छ भने हड्डीको क्याल्सियम हराउँछ। शारीरिक गतिविधी नहुँदा पनि हड्डी कमजोर हुन्छ। जसका कारण सहरवासीमा हड्डी, मेरुदण्ड, जोर्नी खिइने समस्या ज्यादा छन्।
त्यसोभए गाउँमा हाडजोर्नीका समस्या छैनन् ?
हुँदै नभएको त होइन तर गाउँवासीमा कम छ। फरक किसिमको छ। कामको प्रकृतिले गर्दा घुँडाको जोर्नी खिइनेजस्ता समस्या बढी देखिन्छ।
हाडजोर्नीमा लाग्ने चोटपटक तथा रोग उपचारको अवस्था कस्तो छ ?
हाडजोर्नीमा हुने सबै किसिमका समस्याको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा हुन्छ। यहाँ आधुनिक उपकरण, प्रविधि तथा दक्ष जनशिक्तिको कुनै कमी छैन। जस्तोसुकै चोट लागेको उपचार पनि यहाँ हुन्छ। हामीसँग हाडजोर्नीसम्बन्धी उपचार गर्ने सबै किसिमका विशेषज्ञ डाक्टर छन्। कहिलेकाहिँ मेडिकल समस्या भयो भने वीर अस्पतालका चिकित्सकको सहयोग लिन्छौं।
हड्डीमा घनत्व कम हुने, क्यान्सर, बाथजस्ता रोग लाग्दैछ भन्ने कुरा कसरी थाहा पाउने ?
यो रोगको लक्षण यही नै हो भनेर किटान गर्न सकिन्न। किनकि सबै रोगका लक्षण आपसमा मिल्न सक्छन्। त्यसकारण हाडजोर्नी विशेषज्ञले परीक्षण गरेर मात्र थाहा पाउन सक्छन्।
हड्डीमा संक्रमण कसरी हुन्छ ?
हड्डीको संक्रमण रगतबाटै हुन्छ। जस्तो, शरीरका अन्य भागमा संक्रमण छ भने रगतबाट हड्डीको कुनै भागमा गएर बस्छ। यो नै हड्डीमा संक्रमण हुने प्रक्रिया हो। यसबाहेक चोटपटक लागेर हड्डी बाहिरै देखिएको अवस्थामा पनि किटाणु भित्र पसेमा पनि संक्रमण हुन्छ।
हड्डीको क्यान्सर कसरी लाग्छ ?
हड्डीकाे सक्रमण रगतबाटै हुन्छ। जस्ताे शरीरका अन्य भागमा सक्रमणा छ भने रगतबाट हड्डीकाे कुनै भाग गएर बस्छ। याे नै हड्डीमा सक्रमण हुने पक्रिया हाे। यसबाहेक चाेटपटक लागेर हड्डी बाहिरै देखिएकाे अवस्थामा पनि किटाणु भित्र पसेमा पनि सक्रमण हुन्छ। त्यसैले ठ्याक्कै यही कारणले हुन्छ भन्न सकिन्न।
हड्डीलाई स्वस्थ राख्न हामीले कस्तो जीवनशैली अपनाउनु पर्छ त ?
उच्च प्रोटिन, उच्च क्याल्सियम भएका खाना खानुपर्यो। भिटामिन डीका लागि बिहानको घाममा बस्नुपर्यो। माछा मासु, अन्डा, गेडागुडी, फलफूल सबै चिज मिलाएर खानुपर्यो। अनि सक्रिय जीवन बिताउनुपर्यो। मांशपेसीलाई बलियो राख्नुपर्यो। त्यसका लागि दैनिक व्यायाम तथा शारीरिक श्रम गर्नुपर्यो।
प्रकाशित: ५ माघ २०७५ ०२:०० शनिबार