९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

किन कमजोर बन्दैछन् दाँत ?

मानिसको गहना हो मुस्कान र मुस्कानका लागि चाहिन्छ, सुन्दर दाँत । प्रकृतिले प्रायः सबै मानिसलाई सुन्दर दाँत दिएको छ तर कसैकसैलाई मात्र अलि नराम्रो (रातो) दाँत पनि उपहार दिएको छ । तर के तपार्इंले याद गर्नुभएको छ, पहिले जन्मेका मानिस र अहिले जन्मेका मानिसको दाँतमा भिन्नता आएको ? यदि याद गर्नुभएको छैन भने, पाँच, छ कक्षामा पढ्दै गरेका बच्चाको दाँत हेर्नुस्, तपार्इं आफैं देख्नुहुन्छ । कुनै स्कुल छुट्टि भएपछि त्यहाँबाट निस्कने विद्यार्थीमध्ये करिब ४० प्रतिशत विद्यार्थीले दाँत तारले बाँधेका भेटिन्छन् । तारले नबाँधेका तर हाँस्दा हातले मुख छोप्ने विद्यार्थीको संख्या पनि उत्तिकै छ ।

कलंकी बस्ने टामिरा जोशी अहिले सात वर्षकी पुगिन् । उनको अगाडिको दाँत निकै बिग्रिएको छ । सुरुमा उनका अभिभावकले चकलेट धेरै खाएकाले दाँत बिग्रिएको ठाने । तर, पछि दन्त चिकित्सकलाई देखाउँदा पत्ता लाग्यो, टामिराको दाँत चकलेट खानुभन्दा अगाडि नै त्यस्तै उम्रिएको हो । छिट्टै उपचार नगरे दाँत सधैँका लागि बिग्रन्छ ।

कालिमाटी बस्ने सोनु देवकोटालाई पनि आफ्नो छोराको दाँत बिग्रिएकाले निकै चिन्ता बढेको छ । उनका छोरा श्रीशेषको दाँत सुरुमा राम्रै थियो, तर पहिलो दाँत झरेर दोस्रो पलाउँदा बिग्रिएर आयो । सोनुले भनिन्, ‘दाँत खराब मात्रै छैन, कमजोर पनि उत्तिकै छ । थोरै साह्रो खानेकुरा पनि उनी चपाएर खान सक्दैनन् ।
किन बिग्रँदैछन् त बाल्यकालमा दाँत ? दन्त चिकित्सक सुशील कोइराला भन्छन्, ‘हिजोआज स्कुलमै खाजा खुवाउने र त्यसमा पनि बिस्कुट, चाउचाउ जस्ता जंक फुडले स्वास्थ्यलाई हानि गर्ने भएर यस्तो समस्या आएको हो । उनले भने,  ‘ती खानेकुराले दाँतमा कीरा नलागेका बच्चाहरुको पनि ५ कक्षामा पढ्दासम्म कीरा लाग्ने समस्या देखा पर्न थालिसक्छ ।’

कोइरालका अनुसार, अर्को समस्या भनेको दाँत नमाझ्ने पनि हो । दाँत नमाझ्नाले कीराले खाने, मुख गन्हाउने, गिँजा सुन्निनेदेखि रगत आउनेलगायतका समस्या देखा पर्छन् । यी साना–साना समस्याले पछि विकराल समस्या ल्याउने सम्भावना पनि छ, यसलाई चिकित्सा भाषामा स्माइल एरोमा भनिन्छ । त्यस्तै, तेस्रो कारण भने जेनेटिक अर्थात् वंशानुगतको समस्या रहेको छ । उनीहरुको जन्मजातै दाँत टेडोमेडो भएर आउने हुन्छ ।

डा. सुशीलले थपे, हिजोआज जेनेटिक अर्थात, जन्मदै दाँत नराम्रो आउने समस्या बढिरहेको छ । यसको कारण बताउँदै उनले भने, ‘आजभोलि हामी आफू पनि साह्रो कुराहरु खाँदैनौं र बच्चालाई पनि खुवाउँदैनौं । पहिलेपहिले गाउँघरमा मकै भटमास चपाउने दाँतहरुले हिजोआज मम र चाउमिन मात्रै चपाउन थाल्नु यसको मूल कारण भएको उनी बताउँछन् । उनी भन्छन्, ‘हामी जस्तोखालको खाना खान्छौं, हाम्रो दाँत पनि प्राकृतिक तवरले त्यस्तै बन्दै जान्छ, अहिले हामी दाँतलाई परिश्रम नपर्नेखालका खानेकुरा खान्छौं, यसको समस्या बच्चाहरुमा बाबुआमाबाटै सर्दै जान्छ र दाँत नराम्रोसँग कमजोर हुँदै जान्छ ।’

त्यसो त जन्मजातै हामी नाकले स्वास फेर्छाैं । यदि केही समस्याले बच्चाले मुखले श्वास फेर्न थालेको छ भने त्यहाँ गडबड छ भनेर बुझ्नुपर्छ । डा. कोइरालाले भने, ‘चाहिनेभन्दा बढी अक्सिजन मुखले लिने भएकाले त्यसमा समस्या परेको हो ।’ त्यस्तै बुढापाकामा घुर्ने समस्या देखिनु पनि दाँतकै समस्याको कारणले हो । त्यसैले सबै चिकित्सकले सुरुमै मुख आँ गर्नुस् त भनेर हेर्ने गरेको उनको भनाइ छ ।
त्यस्तै अर्को समस्या दुर्घटनाले पनि निम्त्याउँछ । सवारी साधन दुर्घटनामा कसैलाई टाउकोमा चोट लाग्न सक्छ, यसो हुँदा दाँतहरु भाँचिने समस्या हुन्छ तर दुर्घटनामा परेको भन्ने बित्तिकै त्यो बिरामीलाई पहिले अन्य उपचारका लागि लगिन्छ । कोही कोहीले मात्रै डेन्टलको चक्कर मार्छन्, धेरै जसोले डेन्टलको सामान्य समस्या हो भनेर वास्तै गर्दैनन् ।

दाँत एकदमै सेन्सेटिभ अंग भए तापनि मानिसहरु कम केयर गर्ने बताउँछन् अर्का दन्त चिकित्सक सुरेश श्रेष्ठ । उनले भने, ‘नेपालीहरु स्लिम हुनुपर्ने, अनुहार राम्रो बनाउनुपर्नेतिर मात्रै ध्यान दिन्छन् तर दाँतलाई धेरैले वास्ता गर्दैनन् ।’ त्यसैले प्रायः मानिसलाई जीवनमा एक न एकपटक दाँतले दुःख दिने गरेको र त्यसपछि मात्रै उनीहरु डेन्टिस्ट कहाँ पुग्ने गरेको उनको भनाइ छ ।

त्यस्तै अर्का दन्त चिकित्सक कपिल शर्मा, दाँतको उपचार गर्ने भन्ने बित्तिकै मानिसको सात्तो जाने बताउँछन्।  उनले भने, ‘गिँजा सुन्निए, दुखे वा इन्फेक्सन भए मात्रै उपचार गर्नुपर्छ नत्र काम चलिहाल्छ भन्ने मान्यता उनीहरुमा छ ।’ त्यस्तै बिरामीको सोचाइमा, दाँतलाई हेरचाह गर्ने, राम्रो बनाउने भन्नेबित्तिकै गलत धारणा बसेको पनि उनको ठहर छ । उनी भन्छन्, ‘डेन्टिस्ट पनि दुई प्रकारका हुन्छन् तर मानिसहरु सबै एकै प्रकारको ठान्छन् ।’  

डेन्टलमा मानिस आउन डराउन थालेपछि यसलाई आकर्षित बनाउन कस्मेटिक डेन्टल नाम दिएको बताउँछन्, डा. सुशील कोइराला । उनले भने, ‘हामीले बिरामी आउन् भनेरै कस्मेटिक डेन्टल भन्छौं तर पनि उनीहरु आउँदैनन् ।’ उनले थपे, ‘पछि यसलाई स्माइल मेकओभर, स्माइल फेसलिफ्टजस्ता नाउँ चलाउँदा पनि ग्राहकहरु आउन डराए ।’

डा. कोइरालाको कुरामा सहमति जनाउँदै अर्का दन्त चिकित्सक रोशन भट्टराईले भने, दाँत भन्नेबित्तिकै यो उपचार नै हो भन्ने सर्वसाधारणको सोच बन्यो । उनले भने, ‘मानिसहरु डेन्टल भन्ने बित्तिकै कीरा लागेको दाँत निकाल्ने, भाँचिएको ठुटा दाँतलाई दुखाई दुखाई निकाल्ने, एनिहाउ मुखमा दुःख मात्रै दिने ठाउँका रूपमा लिए । त्यसैले हामीले सुरुमा यसलाई प्यासेन्ट नाम चेन्ज गरेर कस्टुमर बनाउने र कस्टुमर मैत्री डेन्टल स्थापना गर्नुपर्छ ।’

त्यसैले अचेल दाँतको सुन्दरता र उपचारको कुरा गर्दा दुई ट्रेन्ड निस्किएको छ । ट्रेन्ड वैज्ञानिक बनाउनका लागि मिनिमल्ली इभेजी कस्मेटिक डेन्टिस्ट फ्रि भन्ने डा. सुशीलले निकालेका हुन् । विश्वभर नै यो ट्रेन्ड चलेको छ । डा. सुशीलले भने, ‘यसमा थोरै दुखाएर, प्राकृतिक तरिकाले उपचार गरिन्छ, जसलाई छोटकरीमा एमआइसिडी पनि भनिन्छ,’ उनले थपे, ‘मानिसहरुले यसको छोटकरी रूप भने बुझेनन् ।’ आफ्ना अनुभव सुनाउँदै उनले भने, ‘आउनुस्, तपाईंलाई एमआइसिडी गरिदिन्छु भन्दा मानिसहरुको त झनै सात्तो गयो, त्यसपछि यसलाई हामीले अर्को नाम दियौँ, स्माइल मेकअप ।’

स्माइल मेकअपको कमाल

राम्रो देखिनका लागि जतिसुकै मेकअप गरे पनि खासै प्रभाव पार्दैन किनभने त्यहाँ स्माइल मेकअप भएको हुँदैन । त्यसैले यसलाई हामीले स्माइल मेकअप प्याकेजका रूपमा अगाडि बढाएको डा. सुशीलको भनाइ छ ।  उनले भने, ‘यो मेकअप भन्ने कुरालाई बुढ्यौलीले पनि छेक्दोरहेनछ ।’ नातिनीको मेकअप गर्न आएकी हजुरआमासमेत मेकअपमा आकर्षित हुने गरेको र हजुरआमाहरु उमेरमा त म पनि राम्री थिएँ, अहिले बुढ्यौली लाग्यो भन्दै आफूकहाँ आउने उनले बताए ।

उपचारमा संलग्न डेन्टिस्टहरु भने स्माइल मेकअप गर्दैनन् । उनीहरु दुखाइको, समस्याको उपचार गर्ने गर्छन् । काठमाडौं भ्याली डेन्टल क्लिनिकका चिकित्सक खगेन्द्र मरासिनीले भने, ‘हामीकहाँ स्माइल राम्रो बनाउने खालका बिरामी आउँदैनन् ।’ नयाँ दाँत लगाउन, दाँत फुकाल्न, दाँत बाँध्न आउने बिरामीहरु र राम्रो देखिनका लागि धाउने व्यक्तिहरु फरक भएको पनि उनले बताए । मरासिनीले भने, दुखाई कम गर्न आउनेहरु बिरामी हुन्, जो दाँत राम्रो बनाएर सुन्दर देखिन चाहन्छन्, उनीहरु बिरामी होइनन् ।

डा. मरासिनीका अनुसार उपचारका लागि आउने बिरामीहरुमा धेरैजसो दाँत, गिँजाको समस्या लिएर आउँछन् भने, दाँत, गिँजा र जिब्रोमा हामी खासै ध्यान दिँदैनौं, जसका कारण ७० प्रतिशत समस्या आउँछ । उनले भने, ‘दाँत वा मुखमा समस्या देखियो भने तत्काल डाक्टरलाई देखाउनु पर्छ ।’ गिँजाबाट रगत आउने समस्या भयो भने त्यसले ठूलो समस्या निम्ताउन सक्छ । दाँतबाट रगत आयो भने त्यो टीबी रोग पनि हुन सक्छ । खकारबाट पनि रगत आउँछ । मुखबाट रगत आयो भने हेलचेक्र्याइँ गर्नु हुँदैन । दाँत दुख्यो भने कहिल्यै पनि हेलचेक्र्याइ गर्नु हुँदैन । तुरुन्त उपचार गर्नुपर्छ । समयमा उपचार गराउनु पर्छ । फोक्सोको कारणले पनि दाँतमा समस्या आउन सक्छ ।

ब्रस कसरी गर्ने ? कुन–कुन समयमा गर्ने ?

विशेष गरेर बिहान र बेलुका दुईपटक ब्रस गर्नुपर्छ । त्यो पनि खाना खाएपछि मात्रै ब्रस गर्नुपर्छ । ब्रस गर्नु भनेको खानाखाएपछि दाँतमा अड्किएका कुरा बाहिर हटाएर मुखको सफाइ गर्नु हो । बालबच्चा र सबै उमेरका व्यक्तिले खाना खाएपछि बिहान र बेलुका दुईपटक अनिवार्य ब्रस गर्नुपर्छ ।

दाँतमा किरा लाग्छ भन्छन् यो के हो ?

दातमा किरा लाग्ने समस्या फास्ट फुड र सरसफाइको कमीले हो । विभिन्न खालका केमिकल मिसिएको खानेकुरा खाँदा दाँत दुख्ने समस्या हुन्छ । चटपटे खाँदा पनि दाँत दुख्ने समस्या आउन सक्छ । चटपटे खाँदा त्यसले दाँतको इनामेल घटाउने गर्छ । अर्थात् त्यस्ता खानेकुरामा विभिन्न केमिकल मिसिएका हुन्छन् । केमिकलले दाँतमा खानेकुरा अड्कियो वा खानेकुरा कुहियो भने पनि दाँत दुख्छ । दाँतमा कीरा लाग्ने होइन । ब्याक्टिेरियाले दाँत दुख्ने, इन्फेक्सन हुने हुन्छ, यसले मान्छेलाई हैरान बनाउँछ । चलनचल्तीमा दाँत कीराले खाएर दुख्यो भन्ने गरिन्छ । तर, कीराले दाँत दुख्नेभन्दा पनि फोहोर र ब्याक्टिेरियाले दाँत दुख्छ । दाँतमा कीरा हुँदैन । फोहोर भयो भने दुख्ने हो ।

श्वास किन गन्हाउँछ ?

दाँतको बीचमा जमेको फोहोरले गर्दा श्वास गन्हाउने हो । दाँतको सफाइमा कमी भयो भने श्वास गन्हाउँछ वा पेटको रोगले पनि श्वास गन्हाउन सक्छ ।

दाँतको आयु कति हुन्छ ?

दाँतको आयु यति भन्ने हुँदैन । दाँतको आयु बाँचुञ्जेल हुन्छ । हेरचाह गर्नुपर्छ । सफाइ गरियो भने जिन्दगीभरि दाँत सुरक्षित हुन्छ । दाँतमा समस्या भयो भने नयाँ दाँत पनि लगाउन मिल्छ । बच्चा अवस्थामा दाँतको सफाइमा ध्यान दिनुपर्छ । ७०–८० वर्षसम्म दाँतले काम गर्छ । मानिसका २० वटा दाँत फेरिने अवस्थामा रहन्छन् । दुधे दाँत र स्थायी दात दुई प्रकारका हुन्छन् । दाँत ३२ वटा हुन्छन् । ती दाँत फेरिने र नफेरिन दुई प्रकारका हुन्छन् ।

गिँजा किन दुख्छ ?

बुद्धिबंगारालाई ठाउँ भएन भने दुख्ने हो । मानिसको खानपिनले गर्दा वृद्धिविकासमा समस्या भएको छ । गिजामा ठाउँ भएन भने गिजा दुख्छ । हड्डीको स्ट्रक्चरले गर्दा पनि गिँजा दुख्ने हो । फिजियो लोजिकल वा प्याथो लोजिकले गर्दा पनि गिँजा दुख्छ ।

मुखमा घाउ खटिरा किन आउँछ ?

सरसफाइका कारणले घाउ खटिरा आउने हो । घाउ खटिरा विभिन्न रोगले पनि आउने गर्छ ।

सुगरका बिरामीलाई दाँतको समस्या हुन्छ ?

हुन्छ । सुगरका बिरामीलाई दाँतमा अलिक धेरै समस्या आउन सक्छ । दाँतको सुरक्षा र खानपिनमा सुगरका बिरामीले विशेष ध्यान दिनुपर्छ । दाँतको सुरक्षाका लागि घरमा तयार गरेको खानेकुरा खाने नै सबैभन्दा उपयुक्त विकल्प हो । फास्टफुड नखाने । घरमा बनाएका स्वस्थ खानेकुरा खानमा जोड दिनुपर्छ ।

दाँतको सौन्दर्यता कसरी बनाउने ?

शरीरको अंगमध्ये दाँत सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसले सौन्दर्यता दिन्छ । यसको सौन्दर्यतालाई खाने कुराबाट नै ध्यान दिने हो । जथाभावी रूपमा खानु हुँदैन । जे खानेकुरा खाए पनि दाँतलाई ठीक–ठीक समयमा सफा गर्न भुल्नु हुँदैन । नियमित उपचार नै दाँतको सौन्दर्यताको उपयुक्त विकल्प हो ।

दाँतबाट ठूलो रोग लाग्छ कि लाग्दैन ?

लाग्छ नि । क्यान्सरका बिरामीहरू मुखका कारण ज्यान गुमाउनुपर्ने अवस्थासम्म पुगेका हुन्छन् । दाँतबाट पनि धेरै ठूला रोग लाग्न सक्छन् ।

सुर्ती खाँदा दाँत बलियो हुन्छ भन्छन् नि ?

त्यो कदापि होइन । बरु सुर्ती खाइरहँदा मुखको क्यान्सरसमेत हुने गर्छ । ठूलो रोग लाग्ने गर्छ । मान्छेको ज्यान पनि जान्छ । दाँतलाई सुर्तीले कहिले पनि सहयोग गर्दैन । सुर्ती र चुरोटले प्राणघातक रोग निम्त्याउँछ । दाँत दुख्दा निको पार्न खाने पेनकिलरले किड्नी र अन्य अंगलाई असर पु-याउँछ । चिकित्सकको सल्लाहमा औषधि र पेनकिलर प्रयोग गर्नुपर्छ । जथाभावी औषधि प्रयोग गर्नु हुँदैन ।

दाँतका लागि खानुपर्ने कुरा के हो ?

हरियो सागपात, पहेँला फलफूल खानुपर्छ । गुलियो खाएपछि कुल्ला गर्नुपर्छ । बालबालिकालाई धेरै गुलियो खान नदिने । गुलियो खाएपछि कुल्ला गर्न लगाउनुपर्छ । ब्रस गर्ने । मोटरसाइकलमा बाहिर हिँड्दा हेलमेट लगाउने ।

दाँतको उपचार सस्तो छ कि महँगो छ ?

दाँतको उपचार महँगोमा पर्छ । यति नै खर्च भन्ने छैन । तर, महँगो छ । उपचार गर्नेभन्दा पनि दाँतको हेरचाह र सुरक्षालाई ध्यान दिएर उपचार हुने अवस्था आउन नदिनु नै उपयुक्त हुन्छ ।

नयाँ दाँत हाल्दा मुख गन्हाउँछ कि गन्हाउँदैन ?

सरसफाइमा ध्यान दिने हो भने मुख गन्हाउँदैन । दाँत विभिन्न प्रकारका हुन्छन् । चिकित्सकको सल्लाहबमोजिम राम्रा र गुणस्तरीय दाँत राखियो भने समस्या हुँदैन ।

आजकाल युवायुवतीले दाँत बाँध्ने गरेको देखिन्छ किन होला ?

दाँत बाँध्ने काम दिन प्रतिदिन बढ्दो छ । अनुहारको रूपमा सुन्दरता ल्याउनका लागि दाँत बाँधेर साइजमा ल्याउने कार्य भएको हो । दाँत बिग्रिएका सबै उमेरका व्यक्तिले दाँत बाँधेर मिलाउने गर्छन् । यो प्रक्रिया अलिक लामो र महँगो मानिन्छ । तर, दाँत बाँध्ने गर्दा सौन्दर्यता बढाउँछ । दाँत छिद्रो भएको वा दाँत बाहिर उछिट्टिएको भएमा पनि बाँधेर मिलाउने गरिन्छ ।

दाँत बाँधेर मिलाउन कति खर्च लाग्छ ?

यो प्रविधि अलिक महँगो मानिन्छ । नेपालमा न्यूनतम २० हजारदेखि २ लाख ५० हजारम्म खर्च लाग्छ ।

दाँतकै समस्याका कारण मृत्यु हुनेको संख्या कम छ तर यसैका कारण लाग्ने रोगबाट धेरैको मृत्यु भएको डा. मरासिनीको ठहर छ । उनी भन्छन्, ‘दाँत कीराले खाने, दन्तहर्षा र पाइरियाजस्ता रोगबाट स्पेस संक्रमण हुन गई पछि श्वासनली र श्वास फेर्ने नली थिचिने र श्वास फेर्न नसकी मृत्यु हुन सक्छ । त्यस्तै, सेलुलाइटिस, पिनास र दिमागमा क्याभरनस साइनस थ्रोम्बोसिससम्म हुन सक्छ । उनले थपे, ‘गिँजा तथा मुखसम्बन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वासप्रश्वाससम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बाथज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयाघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ ।  त्यस्तै, गर्भवती महिला भए समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर बच्चा हुने सम्भावना रहन्छ ।  धारिला, नमिलेका दाँत, लामो समयसम्मको घाउ खटिरा, रोग, फोहोर साथै सूर्तिजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समयसम्म भएमा मुखको क्यान्सर हुन सक्छ ।  

यसलाई रोक्न दैनिक दुईपटक खाना पश्चात् नरम ब्रस र केराऊ आकारको फ्लोेराइड भएको दन्त मञ्जन प्रयोग गर्न जोड दिन्छन् अर्का दन्त चिकित्सक डा. दिनेश भुसाल । त्यस्तै दाँत माझेपछि मुख कुल्ला नगर्ने, डेन्टल फ्लसको प्रयोग, खाने कुरामा नियन्त्रण र नियमित दन्त परीक्षणलाई व्यवहारमा ल्याउनुपर्छ । त्यस्तै बच्चाहरुलाई साह्रो खानेकुरा खुवाउने गर्नुपर्छ ।  

त्यस्तै हामीले दाँत माझ्दा दन्तमन्जनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । भुषालले भने, ‘हिजोआज अन्य दन्त मञ्जनको सट्टा पतञ्जलीको प्रयोग हुन थालेको छ । यो राम्रो कुरा हो तर पतञ्जलीमा मात्रै भर पर्नु पनि हुँदैन । बेलुका खाना खाइसकेपछि गार्गल गर्नु अनिवार्य भएको उनको भनाइ छ ।
विकसित देशहरुले बच्चाको दाँत बिग्रनुको कारण कडा खानेकुराको कम प्रयोग भन्ने पत्ता लगाइसके, त्यसैले उनीहरु बच्चालाई सुगर फ्रि चुईगम चपाउन लगाउने समेत गरेका छन् ।

(डेन्टिस्ट बीपी भुसालसँग कुराकानीको आधारमा)

प्रकाशित: २४ वैशाख २०७५ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App