६ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जहिल्यै रगत अभाव, जटिल प्रसूतिमा सास्ती

पेटमा शिशु नखेलेको महसुुस भएपछि गत असोज २७ गते कालिकोटको खाँडाचक्र नगरपालिका चौकीबाट सुशीला मल्ल प्रसूति सेवा लिन दिदीको साथमा जिल्ला अस्पताल पुगिन्। अस्पतालमा भिडियो एक्सरे गर्दा पेटमा शिशु मृत रहेको पत्ता लागेपछि तत्कालै उनलाई रगतको जोहो गर्न चिकित्सकले आफन्तलाई सुझाव दिए।

उनलाई तत्काल रगत दिने मान्छे जोहो गर्न नसकेपछि उनी २७ गते साँझ अस्पतालबाट घर फिर्ता हुन पुगिन्। उनलाई ए पोजेटिभ रगत चाहिएको थियो, तर रगत अभावले दुई दिनपछि मात्र उनको शल्यक्रिया सुरु भयो। २७ गते अस्पताल पुगेकी सुशीला मल्ललाई २९ गते मात्र रगतदाता फेला परेपछि शल्यक्रिया सुरु गरियो।

बहिनीलाई रगत खोज्न धेरै समय भौंतारिएकी सावित्री मल्लले भनिन्, ‘आफूले धेरै पहल गरे। पछि अंकलले मान्छे जुटाउनुभयो, दुई दिनपछि बहिनीको शल्यक्रिया भयो, रगत आवश्यक परेन।’

नरहरिनाथ गाउँपालिका-८ की रमिता विष्टले अवैध गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भई बेहोस भइन्। उनलाई थप उपचारका लागि जिल्ला अस्पताल मान्म पुर्‍याइयो। यो कात्तिक ४ को घटना हो। रातको समयमा अस्पताल ल्याइएकी रमिताका लागि जिल्ला अस्पतालले रगत जुटाउन पहल गरे पनि समयमै फेला पारेन।

ठूलै कसरतपछि स्वास्थ्यक्रर्मी तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा तीन पिन्ट रगत जम्मा गरेर अस्पतालले उनको ज्यान जोगाउन सफल भयो। रगत अभावका कारण जिल्लामा मृत्युवरण गर्नुपरेका धेरै घटना छन्। यस्तो अवस्था अहिले पनि यथावत् छ। कतिपय उपचारकै लागि बाहिरी जिल्लामा जान बाध्य छन्। यसले बिरामीको स्वास्थ्य र आर्थिक अवस्थामा समेत असर गर्ने गरेको छ, तर जिल्लामा रगत संकलन केन्द्र अझै बन्न सकेको छैन।

जिल्ला अस्पताल कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार उपचारका क्रममा रगत आवश्यक परे मानवताका कारण आफूहरूसमेत बिरामीका आफन्तसँगै भौंतारिनु परिरहेको दुखेसो पोखे।

यसरी विभिन्न तह र तप्काका अधिकारी तथा स्थानीयले आफ्नो जोडबलमा रगत जुटाउँदै आए पनि बिरामीका आफन्तले छट्पटिनुपर्ने क्रम रोकिएको छैन। जिल्ला अस्पताल कालिकोटका चिकित्सक प्रकाश पौडेलका अनुसार मेडिकलबाट गर्भपतनको औषधी खादा धेरै समस्या हुने गरेको बताए।

उनका अनुसार १०–१२ हप्ताको गर्भलाई असुरक्षित रूपमा पतन गर्दा धेरै रगत बग्ने समस्या आउने गरेको सुनाए। उनले जिल्लामा रहेका विभिन्न मेडिकलबाट बिक्री हुने असुरक्षित गर्भपतनका चक्की बिक्रीमा रोक्का गरे यो समस्या समाधान हुने उनको भनाइ छ।

विपन्न र दुर्गमबाट आएका बिरामीलाई सदरमुकाममा रगत खोज्न थप सास्ती छ।

प्रकाशित: ७ कार्तिक २०८१ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App