१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा डायलाइसिस सेवा सुरु, मुख्यमन्त्री आचार्यले गरे उद्घाटन

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सामुदायिक डायलाइसिस सेवा सुरु । तस्बिर : किरणमान बज्राचार्य/ नागरिक

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सामुदायिक डायलाइसिस सेवा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार डायलाइसिस सेन्टरको उद्घाटन गरेसँगै सेवा सुरु भएको हो ।  

रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टर संचालनका लागि जेसिसले भवन उपलब्ध गराएको हो ।

सो अवसरमा मुख्यमन्त्री आचार्यले कपिलवस्तुमा डाईलासिस सेवा शुभारम्भ भएकोमा बधाई दिँदै अब मिर्गौलाका बिरामीलाई उपचारका लागि सहज हुने विश्वास व्यक्त गरे । सामुदायिक अस्पतालसँग सहकार्यका लागि प्रदेशले कानुन र कार्यविधिसमेत परिवर्तन गर्ने बताउँदै उनले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेशको साथ र सहयोग रहेको प्रतिबद्धता ब्यक्त गरे । उनले देश मै कपिलवस्तु सामाजिक विकास सुचकांकमा पछि रहेको, मातृ र बाल मृत्युदर उच्च रहेको तथा कुपोषणसमेत अधिक रहेकोले त्यसको न्युनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।  

कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य । तस्बिर : किरणमान बज्राचार्य/ नागरिक

लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारु मगरले प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि ५५ बुँदे कार्ययोजना सहित अघि बढेको बताए । उनले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउने गरी काम अघि बढाइएको बताए ।  

मिर्गौलाका बिरामीको संख्या कपिलवस्तुमा बढेको र तिनीहरुको उपचारमा सहजताका लागि डायलाइसिस सेन्टर संचालनमा ल्याइर्एको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए । पाँच करोडको लगातमा डायलाइसिस सेन्टर स्थापना गरिएको उनले बताए ।  

सेन्टरमा हाल दश वटा डायलाइसिस मेसिन राखिएको छ । उनले केन्द्रमा फाईल अडकिँदा सेवा शुभारम्भ गर्न ढिलाइ भएको गुनासो गरे । एक जना बिरामीले हप्ताको दुई दिनदेखि तीनसम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ । दुई सिफ्टमा सेवा दिईने छ ।  

हाल बाणगंगा नगरपालिका मात्र ३५ बढी मिर्गौलाका बिरामी छन् । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले लुम्बिनी प्रदेशमा चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिदै आएका छन् । 

चार वटा शाखा र एउटा अस्पताल गरी पाँच वटा स्वास्थ्य संस्थाबाट पाँच सय जनाले नियमित डायलाइसिस सेवा लिदै आएका छन् ।  

प्रकाशित: १७ आश्विन २०८१ १५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App