१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

के नेपालमा रेबिज नियन्त्रण सम्भव छैन ?

गत साउनमा चितवनका ४६ वर्षीय सन्तराज प्रजालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ल्याइयो। पानी पिउन मन नलाग्ने समस्या भएपछि उनलाई यो अस्पताल ल्याइएको थियो। अस्पतालमा जाँच भएपछि उनलाई रेबिज लागेको थाहा भयो। रेबिजका लक्षण बढ्दै गएपछि उनलाई आइसियुमा भर्ना गरियो। भर्ना भएको तीन दिनमै उनको मृत्यु भयो।

सन्तराजका आफन्तले अस्पताललाई दिएको जानकारीअनुसार उनलाई कुकुरले टोकेको थियो। कुकुरले टोकेपछि उनी नजिकैको मेडिकलमा पुगे। उनले रेबिजको एउटा डोज मात्र सुई लगाए, बाँकी डोज सुई लगाएनन्। उनले गरेको हेलचेक्र्याइँका कारण अन्ततः जीवन नै गुमाउनुपर्‍यो।

धादिङका ३६ वर्षीय रिंकेश सार्कीलाई पनि भदौमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइयो। पानी पिउन गाह्रो हुने, डराउनेजस्ता समस्या देखिएपछि गाउँका स्वास्थ्य संस्थाको सिफारिसमा उनी अस्पताल आएका थिए। अस्पताल भर्ना भएको केही दिनमै उनको पनि मृत्यु भयो। मृत्युको कारण थियो– रेबिज।

रिंकेशका आफन्तले अस्पताललाई दिएको जानकारी अनुसार उनलाई बाटोमा हिँडेका बेला कुकुरले टोकेको थियो। कुकुरले टोकेपछि उनी नजिकैको स्वास्थ्य संस्थामा गए। उनले दुई डोज रेबिजविरुद्धको खोप लिए, थप डोज लिएनन्। कुकुरले टोकेको तीन महिनापछि रेबिजको लक्षण देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो।

गत चैतमा उपत्यका बाहिरबाट रिफर भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आएका ३५ वर्षीय युवकको पनि भर्ना भएको चार दिनमै मृत्यु भयो। ती युवकले कुकुरले टोकेपछि टिटानस सुई लगाएका थिए। पछि रेबिजको लक्षण देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो।

उल्लिखित तीनजनासहित सन् २०२४ का नौ महिनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिजका कारण २१ जनाको मृत्यु भएको तथ्यांक छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत आर्थिक वर्षमा नेपालमा रेबिजका कारण १४ जनाको मृत्यु भएको थियो। यो सरकारी स्वास्थ्य संस्थाबाट संकलित विवरण हो। तर सरकारी स्वास्थ्य संस्थाबाहिर हुने मृत्युको विवरण नआउने भएकाले रेबिजबाट मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्ने महाशाखाअन्तर्गतको जुनोटिक शाखाका प्रमुख डा. हेमन्त ओझा बताउँछन्। उनको अनुमानमा नेपालमा रेबिजका कारण बर्सेनि एक सयजनाभन्दा बढीको मृत्यु हुन्छ।

रेबिज लागेर मृत्यु हुनेमा अधिकांश काठमाडौं उपत्यकाबाहिरका मानिस रहेको चिकित्सक बताउँछन। आर्थिक वर्ष २०८०-८१ मा एक लाख १६ हजार मानिसलाई कुकुरले टोकेको तथ्यांक छ। रेबिज लागेर मृत्यु हुनेमा ४० प्रतिशत १५ वर्ष उमेर मुनिका छन्।

नेपालमा गाई, भैंसी र बंगुरलाई पनि कुकुरले टोकेर रेबिज लाग्ने गरेको केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशालाका प्रमुख डा. बरुणकुमार शर्मा बताउँछन्।

के हो रेबिज?

रेबिज लागेको कुकुर या अन्य जंगली जनावरको ¥यालमा हुने ‘लिसा’ भाइरस कुनै माध्यमबाट मानिसको शरीरभित्र प्रवेश गरेमा रेबिज संक्रमण हुन्छ। रेबिज संक्रमणले स्नायु प्रणालीमा समेत असर पार्छ। यो भाइरसविरुद्धको सुई नलगाएमा शरीरमा प्रवेश गरेको एक सातादेखि एक वर्षभित्रमा संक्रमण देखापरी मृत्यु हुन्छ। संक्रमितले रेबिजविरुद्धको खोप नलिएमा सय प्रतिशत मृत्यु हुने चिकित्सक बताउँछन्। संक्रमण हुनुअघि नै रेबिजविरुद्धको खोप लिएमा यो रोग लाग्दैन।

रेबिज लागेपछि पानी पिउन मन नलाग्ने, गाह्रो हुने, पानीसँग डर लाग्ने, उज्यालो र अँध्यारो छुट्याउन नसक्ने, स्मरण शक्ति हराउँदै जाने, ज्वरो आउनेलगायत लक्षण देखिन्छन। रेबिजको लक्षण कसैलाई छिटो देखिन्छ भने कसैलाई वर्ष दिनपछि पनि देखिन सक्ने चिकित्सक बताउँछन्। शरीरमा प्रवेश गरेको लिसा भाइरसको मात्राअनुसार लक्षण छिटो र ढिलो देखापर्ने बताइन्छ।

नेपालमा नियन्त्रणमा छैन रेबिज

नेपालसहित दक्षिण एसियाली मुलुकको तुलनामा विकसित देशमा रेबिज लागेर मृत्यु हुने क्रम कम भइसकेको छ। विश्वबाट उन्मूलन भइसकेको रेबिजबाट नेपालमा भने बर्सेनि धेरैको मृत्यु हुने गरेको सरोकारवाला बताउँछन्।

पशुसेवा विभाग स्वास्थ्य शाखा प्रमुख डा. सुजन राना विकसित देशमा रेबिज नियन्त्रण भइसके पनि नेपालमा त्यस्तो हुन नसेकेको स्वीकार गर्छन्। उनका अनुसार रेबिजबाट बढी प्रभावित हुनेमा विकासोन्मुख राष्ट्र विपन्न नागरिक बढी छन्। जनचेतनाको कमी, कुकुरलाई छाडा छोडिनुु, रेविजविरुद्ध राष्ट्रिय नीति तथा योजनाको कमी जस्ता कारणले विकासोन्मुख राष्ट्रमा यो रोगको जोखिम अझै टर्न नसकेको उनी बताउँछन्।

सामुदायिक कुकुरको उचित व्यवस्थापन नहुनु, आयतित रेबिजविरुद्धको खोपको गुणस्तर, तापक्रम व्यवस्थापनको अनुगमन बलियो नहुनु र जनतामा कुनै पनि रोग लागिसकेपछि स्वास्थ्य संस्थामा गइहाल्ने अभ्यासको कमीले रेबिज नियन्त्रणमा समस्या भएको हो।

नेपाल सरकारले रेबिजविरुद्धको खोप देशभरिका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा वितरण गरे पनि खोप लिनुपर्छ भन्ने जानकारी सर्वसाधारण्मा नहुँदा पनि समस्या भएको ओझा बताउँछन। गत आर्थिक वर्ष नेपालमा १ लाख ३१ हजार ८ सय ५१ जनालाई कुकुर र जंगली जनावरले टोकेको तथ्यांक जुनोटिक शाखासँग छ। जसमध्ये १ लाख १६ हजार २ सय ४२ जना कुकुरको टोकाइमा परेका थिए।

तथ्यांकअनुसार विश्वमा रेबिज रोगीमध्ये ९५ प्रतिशत एसिया र अफ्रिकी मुलुकमा छन्। रेबिजको उच्च भार रहेको नेपालमा एउटा मात्र निकायले यसको नियन्त्रण सम्भव नरहेको डा. ओझा बताउँछन्।

पशु स्वास्थ्य विभाग स्वास्थ्य शाखाका अनुसार नेपालमा सामुदायिक कुकुरको संख्या धेरै हुनु नै रेबिज नियन्त्रणमा आउन नसक्नुको मुख्य कारण हो। विश्व स्वास्थ्य संगठनले दुई वर्षअघि गरेको अध्ययनले नेपालमा २९ लाख कुकुर रहेको देखाएको थियो।

नेपालमा ९९ प्रतिशत रेबिज कुुकुरको टोकाइबाट हुने गरेको छ। सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने हो भने स्वतः यो रोग नियन्त्रणमा आउने चिकित्सक बताउँछन्। नगरपालिका, औषधि व्यवस्थाप विभाग, वन विभाग, स्वास्थ्य विभागलगायत सबैको सहकार्यबाट मात्र रेबिज नियन्त्रण सम्भव छ’, डा. ओझा भन्छन्।

१८औं विश्व रेविज दिवस शनिबार मनाइँदैछ। विश्व स्वास्थ्य संगठनका अनुसार यो वर्ष ‘रेबिजको सीमालाई तोडौं’ भन्ने मूल नारा छ। संगठनले सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिजलाई नियन्त्रणमा लिने लक्ष्य लिएको छ। 

प्रकाशित: १२ आश्विन २०८१ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App