राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेका अस्पतालहरूलाई आठ महिनादेखि बक्यौता रकम भुक्तानी गरेको छैन। लामो समयदेखि भुक्तानी नपाउँदा उपचार सेवा नै प्रभावित बनेको र बिरामीले दुःख पाएको राजधानीका ठुला अस्पतालहरूले जनाएका हुन्।
गत माघयता बिमाबापत कुनै पनि भुक्तानी नपाइएपछि दुई सातायता बिमा प्रक्रियाबाट आएका बिरामी भर्ना सेवा बन्द भएको शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ। खर्चै धान्न नसकेपछि बिमामार्फत उपचारमा आएका बिरामीलाई भर्ना गर्न नसकिएको उक्त अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले बताए। ‘खर्च धान्नै नसकेपछि बिमाका बिरामीलाई केही दिनयता भर्ना गर्न छाडेका छौं,’ उनले भने।
बोर्डले तोकेको शुल्क र अस्पतालको सेवाशुल्क नमिलेको तथा ढिला दाबी गरिएको भन्दै बोर्डले समयमै बिमा भुक्तानी गर्न नसकेको निर्देशक काफ्लेको भनाइ छ। ‘बिरामीको आवश्यकताअनुसार सेवा दिनुपर्ने हुन्छ। बिमाले निश्चित सेवा मात्र तोकेको हुन्छ। बिरामीलाई दिएको सेवा होइन भनेर भुक्तानी नदिने कुरा बिमा बोर्डको छ,’ उनले भने, ‘पुरानो हिसाब नमिलेको भन्दै बोर्डले केही रकम भुक्तानी गरेको छैन । पुसयताको केही रकम पनि दिइएको छैन,’ उनले भने।
अस्पतालको भुक्तानी रकममाथि बोर्डले अविश्वास गरी अनेक कारण देखाएर समयमै भुक्तानी नगरेको काफ्लेको आरोप छ। समयमै भुक्तानी नपाउँदा अस्पतालको सेवा प्रक्रियामै बाधा परेको उनको भनाइ छ।
डा. काफ्लेका अनुसार अस्पतालमा दैनिक उपचारमा आउने कुल बिरामीमध्ये २० प्रतिशत बिमाका मात्र छन्। उनीहरूको उपचारमा लाग्ने रिएजेन्ट, औषधि किन्ने पैसाको अभाव भएको छ। लामो समय भुक्तानी नहुँदा व्यवस्थापनमै समस्या भएको छ। बोर्डले उक्त अस्पताललाई ६५ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ।
बोर्डले समयमै भुक्तानी नदिएकै कारण अस्पतालको आर्थिक व्यवस्थापनमै मर्का परेको पाटन अस्पतालले जनाएको छ। अस्पतालका प्रशासन प्रमुख तीर्थ भुजेलका अनुसार माघयता बोर्डले १८ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ। यसअघि बोर्डले तीन÷चार महिनामा भुक्तानी गर्ने गरेकोमा यसपालि आठ महिनादेखि भुक्तानी दिन नसकेको उनको भनाइ छ।
ललिततपुर महानगरपालिकाले सञ्चालन गरिरहेको अस्पतालको समेत गरी पाटन अस्पताललाई बोर्डले १८ करोड बढी रूपैयाँ भुक्तानी गर्नुपर्ने बताइएको छ। अस्पताल आफ्नै आम्दानीमा चल्नुपर्ने भएकाले बिमा बोर्डले लामो समय भुक्तानी नगर्दा कर्मचारीलाई तलबभत्ताको समेत व्यवस्थापन गर्न कठिन भएको उनले बताए।
पुसयता भुक्तानी नदिएकै कारण वीर अस्पताललाई रिएजेन्ट र औषधि खरिदमा समस्या परेको वीर अस्पतालका एक कर्मचारीले जानकारी दिए। उनका अनुसार अस्पतालमा ८० प्रतिशत बिमा सेवा लिन आउने बिरामी छन्। तिनका लागि औषधि खरिद, रिएजेन्ट खरिद गर्न खर्च चाहिन्छ।
‘समयमै भुक्तानी नदिँदा व्यवस्थापनमै अप्ठेरो परेको छ,’ अस्पतालका सहायक निर्देशक डा. साजन गौतमले भने।
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले समयमै रकम नदिँदा खरिदमै समस्या परेको उनले बताए। बोर्डले वीर अस्पताललाई १८ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ। गुणस्तरीय औषधि काउन्टरबाटै किन्नुपर्ने र त्यस्तो औषधि खरिद गर्न नसकिएका कारण बिमामार्फत उपचारमा आएका बिरामी औषधिबाट समेत वञ्चित हुने गरेको ती कर्मचारीले जानकारी दिए।
बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले प्रक्रियाकै कारण सवस्थ्य बिमाको रकम समयमै भुक्तानी गर्न ढिलाइ भएको बताए। कुनै पनि अस्पतालले दाबी उपचार खर्च गरेको अभिलेख पठाएपछि स्वास्थ्य बिमा बोर्डका कर्मचारीले मागदाबी अभिलेख हेर्ने, अर्को विभागले रुजु गर्नेलगायत प्रक्रियामै समय लाग्छ।
‘देशैभरिको कागजात अध्ययन गर्नुपर्छ, यसका लागि समय लाग्छ,’ उनले भने। यसका साथै बोर्डमा भुक्तानीका लागि पैसा सकिएका कारण समस्या उत्पन्न भएको हो उनको भनाइ। बिमा कार्यक्रमले दिने वार्षिक अनुदान रकम आएपछि मात्र भुक्तानी सम्भव हुने बसौलाले बताए। उनका अनुसार अनुदान रकम आएपछि अर्को सातासम्म भुक्तानी हुन्छ।
प्रकाशित: ८ आश्विन २०८१ ०७:१७ मंगलबार