१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ढुंगेधारा र इनारको पानी असुरक्षित

७८ जनामा हैजा संक्रमण

नेपालमा डेढ महिनाअघि देखिएको हैजा संक्रमण अझै रोकिएको छैन। भदौ १७ गतेभित्र थप १३ जनामा हैजा पुष्टि भएसँगै संक्रमितको संख्या ७८ पुगेको छ। तथ्यांकअनुसार काठमाडौंमा ११, ललितपुरमा ५१, कैलालीमा नौ, रोल्पामा चार, प्युठानमा दुई र मकवानपुरमा एक जना गरी संक्रमितको संख्या ७८ पुगेको हो।

पछिल्लो पटक रोल्पामा चार, काठमाडौंमा तीन र ललितपुरमा दुई जनामा हैजा पुष्टि भएको हो। संक्रमित सबै जना उपचारपछि सामान्य भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार एउटै टोलमा नभई फरक टोलमा छिटपुट रूपमा हैजा संक्रमण भएको संक्रमितहरूको अध्ययनबाट देखिएको छ। ‘पुराना ठाउँहरूमा समयमै नियन्त्रण आइसकेको भने छिटपुट रूपमा नयाँ संक्रमित देखिएका छन्,’ महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले भने।

गत वर्षहरूमा पनि हैजा संक्रमण देखिए हुँदा यो वर्ष नियमित परीक्षण, रिपोर्टिङलाई बढी व्यवस्थित गरेका कारण संक्रमणको संख्या बढी देखिएको निर्देशक घिमिरेको दाबी छ।

निरन्तरको वर्षासँगै बाढीपहिरोका कारण पानीको स्रोत दूषित हुनु, स्वच्छ खानाको कमी हुनु, व्यक्तिगत सफाइको कमी हुनुले नेपालमा अहिले पनि हैजा जारी रहेको डा. घिमिरेले औंल्याए। महाशाखाकै महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले ललितपुर काठमाडौंका कतिपय टोलवासीले परम्परागत पानीको स्रोतमा भर परेका कारण अहिले संक्रमण समयमै नियन्त्रण हुन नसकेको बताउँछन्।

उनका अनुसार अहिले पनि टोलवासीले पुरानो जमानामा जस्तो ढु्ंगेधारा, इनारको पानीमा विश्वास गरेर प्रयोग गरेको देखिन्छ। तर पहिला प्रयोग भएका पानीका स्रोतहरू अहिलेको वर्षात् र बाढीका कारण दिसा मिसिएर दूषित बनेका हुन्छन्। ‘पहिला शुद्ध भएको पानी अहिले नहुन सक्छ, सबैले उमालेर या क्लोरिन राखेर मात्र पानी पिउनुपर्छ,’ उनले भने।

हैजाको मुख्य कारण दूषित पानी र फोहोर खानेकुरा भएकाले यसको समाधान खोज्न पटक–पटक महाशाखाले अनुरोध गरे पनि नागरिकले अटेरी गरेकाले हैजा र झाडापखाला लागेको देखिएको बताए। ‘कतिपय भिन्न भाषिक समूहमा हाम्रो जानकारी नबुझेको हुन सक्छ, कतिले अटेरी गरेको देखिन्छ,’ उनले भने।

महाशाखाले संक्रमितहरूको जीवनशैली अध्ययन गरेपछि अहिले पनि दूषित पानीको प्रयोग गरेको देखिएको शाखाको दाबी छ। यसका साथै व्यक्तिगत सफाइ, खानाको पूर्ण शुद्धीकरणमा ध्यान नपुग्नु पनि अर्को कारण रहेको उनले बताए।

यो समस्यालाई सम्बोधन गर्न खानेपानी मन्त्रालयले देशभरिका सबै खानेपानी आपूर्ति केन्द्र, उपभोक्ता समितिहरूलाई स्वच्छ पानी वितरण गर्न निर्देशन दिइसकेको र अनुगमन कार्यलाई पनि तीव्र पार्ने कार्य अघि बढाएको महाशाखाका निर्देशक डा. घिमिरले जानकारी दिए। ‘हामीले सबै निकायसँग छलफल गरिसकेका छौं, त्यहीअनुसार सबैले जिम्मेवारी लिए मात्र हैजा नियन्त्रण सम्भव छ।’

बाँकेको नैरनापुर गाउँपालिका–३ गैगलमा तीन दिनको अवधिमा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६० वर्षीया शान्ति पासी, १० वर्षीय युसुफ अली, २५ वर्षीया नन्दनी पासी र २५ वर्षीया रुसी पासी छन्। मृतकमध्ये भदौ १४ गते शान्ति पासी, १५ गते रुसी पासी र नन्दनी पासी तथा १६ गते युसुफ अलीको मृत्यु भएको हो।

नैरनापुर गाउँपालिका–३ का अध्यक्ष अजयकुमार मिश्रका अनुसार तीन दिनको अवधिमा चार जनाको मृत्यु भएको हो। एकदमै छोटो अवधिमा धेरै जनाको मृत्यु भएको अध्यक्ष मिश्रले जानकारी दिए।

मिश्रका अनुसार उनीहरूमा सुरुमा टाउको दुख्ने र पखाला लाग्ने भएको एक दिन नकाट्दै मृत्यु भएको देखिन्छ। सँगै बिरामी परेका बिरामीमध्ये एक जनालाई राप्ती अस्पताल रेफर गरेको र उनी निको हुन सफल भएको बताइएको छ। त्यो गाउँमा कुल १५ जना बिरामी उस्तै प्रकारको बिरामी परेका छन्।

बिरामीहरूको सीमानजिकैको भारतीय अस्पतालमा उपचार भएकाले यकिन कारण थाहा हुन नसकेको महाशाखा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए। उपचार नपाएको अवस्थामा चारपाँच दिनपछि मात्र मृत्यु हुन सक्ने भए पनि चाँडै त्यस्तो अवस्था देखिएको उनले बताए।

ज्वरो र पखालाको लक्षण देखिएका बिरामीहरूको मृत्यु हुनुको कारण तीव्र रूपमा खोजिनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका प्रमुख शेरबहादुर पुनले बताए।

प्रकाशित: १८ भाद्र २०८१ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App