१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मुस्कानसहित सेवा दिन निर्देशन

अस्पताल आइपुगेका बिरामीलाई मुस्कानसहितको सेवा प्रवाह गर्न बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले आग्रह गरेका छन्।

धादिङबेँसीस्थित धादिङ अस्पतालमा मेमोग्राम मेसिन हस्तान्तरण तथा मेमोग्राम सेवा शुभारम्भ गर्दै मन्त्री थापाले भने, ‘म स्वास्थ्यकर्मीलाई अनुरोध गर्न चाहन्छु, मुस्कानसहित सेवा प्रदान गर्नका लागि तपाईँहरूलाई केही गाह्रो, साँघुरो, अप्ठ्यारो परेको छ भने मलाई भन्नुहोस्।’

स्वास्थ्यकर्मीले बिरामीलाई हप्कीदप्की लगाउँदा उसको मानसिकतामा नकारात्मक असर पर्ने र गुनासो आउने भन्दै मन्त्री थापाले इमान्दारिताका साथ काम गर्न प्रदेशभित्रका सबै स्वास्थ्य संस्थाका कर्मचारीलाई निर्देशन दिए। ‘तपाईँ राम्रो गर्नुहोस्, राम्रो गर्दागर्दै कसैले तपाईँको इमान्दारितामाथि औँला उठाउँछ भने तपाईँको पक्षमा म हुनेछु’, उनले भने।

उनले इमान्दारिताका साथ काम गरेर अस्पतालको सेवा सुधारमा सहयोग गर्न सबै स्वास्थ्यकर्मीलाई आग्रह गरे।

तीनै तहको सरकारबाट स्वास्थ्य क्षेत्रमा बजेट छुट्याएर नागरिकले पाउने सेवा सहज बनाउन मन्त्रालय लागिरहेको उनले बताए।

प्रादेशिक अस्पतालको स्तरोन्नतिका साथै गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनमा बागमती प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिरहेको पनि मन्त्री थापाले जानकारी दिए। रासस

प्रकाशित: १२ भाद्र २०८१ ०७:०२ बुधबार

#Kiran thapamagar