८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्ः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताएका छन्।

सोमबार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताए। उनले अस्पतालहरुमध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको बताए। अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको उनको भनाइ छ।

उनले उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताए। नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति सिमित रहेको पनि उनले बताए।

उनले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेर पनि मैले यो भन्नुपर्छ। खासगरी समस्याको पहिचान नगरी समाधान हुँदैन। रोगको पहिचान नगरीकन त्यसको उपचार हुन सक्दैन। अस्पतालहरुमध्येमा प्रसुती अलि अगाडि, अलि व्यवस्थित छ। यसको स्वास्थ्य सेवा एकदमै प्रभावकारी रुपमा छ भनेर मैले खुशी पार्ने नाउँमा त्यस्तो भन्दिन। तर तुलनात्मक रुपमा यो अलि अगाडि छ, यसले पूर्णता पाउन जरुरी छ। अहिलेको साधन श्रोतभित्र यो खालको उपलब्धि जुन भएको छ, यसैमा सन्तुष्टि लिने स्थिति छैन। साधनश्रोत बढाउने स्थिति छैन, जनशक्ति बढाउने स्थिति छैन। उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट हामीले प्रभावकारिता बढाउन जरुरी छ। अस्पतालमा अझ बढी समय दिनुस् भनेर अनुरोध गर्न खोजेको हो। नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति एकदमै सिमति छ, हाम्रो जनशक्ति थोरै छ।’ 

प्रकाशित: १० भाद्र २०८१ १३:१४ सोमबार

#Pradeep Poudel