४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डेङ्गी रोकथामका लागि सफाईमा जुटे मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान शुरु गरेको छ।

मन्त्रालयले स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाई अभियान शुरु गरेको हो।

निरोगी नेपाल बनाउने सङ्कल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर/कार्यालय सरसफाई गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो।

शुक्रवार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरु मिलेर मन्त्रालय सरसफाईमा जुटे।

मन्त्रालयबाट शुरु गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्‍याउने लक्ष्य मन्त्रालयको छ।

अभियानका बारेमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरूलाई हेर्दा यस वर्ष सङ्ख्यात्मक रुपमा डेङ्गीको सङ्ख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाई अभियान शुरु गरेको बताए।

उनले डेङ्गीको नियन्त्रण र न्युनिकरणका लागि गत हप्तादेखि नै सङ्घीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रवार सरसफाई अभियान शुरु गरेको बताए।

उनले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए। उनले भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि बताए।

हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रवार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाईको अभियान चलाउन आग्रह गरे।

प्रवक्ता बुढाथोकीले सरसफाई अभियानले डेङ्गीमात्र नभइ अन्य रोगहरु पनि नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ३२ श्रावण २०८१ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App