४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सरोकारवाला भन्छन्ः सातै प्रदेशमा अंग प्रत्यारोपण उपकेन्द्र खोल्ने योजना हचुवाको भरमा

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मंगलवार घोषणा गरेको सातै प्रदेशमा मानवअंग प्रत्यारोपण खोल्ने कार्यक्रम हचुवाको भरमा भएको सरोकारवालाहरुले टिप्पणी गरेका छन्।

मंगलवार विश्व अंग दान दिवसको अवसरमा स्वास्थ्य तथा जनसंंख्या मन्त्री पौडेलले विश्व मानव अंग प्रत्यारोेपण दिवसको अवसरमा सातै प्रदेशमा मावन अंग प्रत्यारोपण उपकेन्द्र खोलिने घोषणा गरेका थिए। सो क्रममा मन्त्री पौडेलले यो घोषणा हल्ला नभइ कार्यान्वयनमै लैजाने पनि बताए।

मन्त्री पौडेलका स्वकीय सचिव सालिकराम दाहालले प्रादेशिक अस्पतालभित्रै इकाइ विस्तार गरी मानव अंग प्रत्यारोपण उपकेन्द्र खोल्ने योजना मन्त्रीज्यूले घोषणा गरेको बताए।

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा पहिलोपटक मिर्गौला प्रत्यारोेपण कार्यक्रम सुरु गरेकी दिव्या सिंह शाहले सातैै प्रदेशमा मानवअंग प्रत्यारोपण उपकेन्द्र खोल्नु जोखिमपूर्ण कदम भएको बताइन्।

अंग प्रत्यारोपण अति संवेदनशिल सेवा भएकोले उच्च तयारी बिना खोल्न नहुने डा. सिहंको तर्क छ। ‘अष्टे«लिया जस्तो विकसित देशमा पनि दुई वटा प्रान्तमा मात्र मानव अंग प्रत्यारोपण सेवा छन, नेपालमा कसरी सम्भव हुन्छ ? ’उनले भनिन्।

प्रत्यारोपणको लागि आवश्यक जनशक्ति, भौतिक पुर्वाधार र अन्य संरचनाको कमी रहेकोले अहिल्यै विस्तार गर्ने योजना हचुवाको भरमा रहेको डा.सिंहको भनाइ छ।

विविध कमजोरीकाबीच अन्य प्रदेशमा केन्द्र विस्तार गरेर अंग प्रत्यारोपण सेवा दिएमा प्रत्यारोपण गरेको अंगले काम नगरी उल्टै समस्या बल्झिने जोखिम हुने डा. सिंह बताउँछिन्।

उपत्यका बाहिर दक्ष जनशक्तिसहितको अन्य वैकल्पिक उपचार केन्द्रहरु नबनिसकेकोले पनि जोखिम हुने उनको तर्क छ।

‘उपचारपछि जटिल समस्या आएमा उपत्यकामा विरामी एक अस्पतालमा नभएमा अर्कोमा जान सक्छन,तर उपत्यका बाहिर यस्तो विकल्प देखिंंदैन’ उनले भनिन्। उपत्यकामा दुइ÷चार वटा अस्पतालमा मिर्गौला प्रत्यारोेपण भइसकेकोले एउटा अस्पतालमा उपचार नभएमा अर्कोमा विरामी जान सक्ने विकल्पन रहेको उपत्यका बाहिर नरहेको डा. सिंहको अर्को तर्क छ।

आँखा र छाला प्रत्यारोपण उपत्यका बाहिर सम्भव भएपनि अन्य अंगहरु कलेजो, मुटु, फोेक्सो, प्यानक्रियाज र मिर्गौला प्रत्यारोपणको हकमा कठिन हुने डा. सिहंको तर्क छ।

उनका अनुसार लामो प्रयास पछि टिचिङ अस्पताल कलेजो प्रत्यारोपणमा भर्खर आत्मनिर्भर भएको अवस्थामा उपत्यका बाहिरै सम्भव नै छैन। ‘भारतबाट डाक्टर झिकाएर कलेजो प्रत्यारोपण गरौँला, अहिले बजारमा भएका जनशक्तिको स्थिति हेर्दा कलेजो प्रत्यारोपण हुन सक्ने सम्भव छैन’ उनले भनिन्।

यता, दक्ष जनशक्तिको कमीकै अवस्थामा सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र खोल्ने योजना हचुवामुखी भएको जनस्वास्थ्यविद डा. झलक गौतम बताउँछन्।

उनले सरकारले भने अनुसार नै सातै प्रदेशमा उपकेन्द्र खोलिहालेमा पनि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी प्रदेशमा मात्र सम्भावना रहेको बताए।

खोल्ने सम्भावना भएका सीमित प्रदेशमा समेत जोखिम कायम रहेको उनको भनाइ छ।

‘मुख्य गरी मिर्गौला, मुटु र कलेजो प्रत्यारोपणको सेवा सहज छैन’ उनले भने। यसका साथै अहिलेको भौतिक पूर्वाधार भित्र पनि तत्कालै खोल्न सम्भव नभएको उनले बताए। कर्णाली प्रदेशमा जनसंख्या नै नभएको अवस्थामा अंग प्रत्यारोेपण उपकेन्द्र खोल्नु झनै उचित नभएको उनको भनाइ छ।

मानव अंग प्रत्यारोपण अति संवेदनशिल सेवा भएकोले जथाभावी खोलिनुले सेवाको गुणस्तरमा सुनिश्चतता गर्न नसकिने र कानुनी लापरवाही समेत बढ्ने जोखिम बढ्ने गौतम बताउँछन्। यसको सट्टा अन्य संरचना तथा जनशक्तिको तयारी पछि केही प्रदेशमा यो सेवा विस्तार गर्ने सम्भावना रहेको चिकित्सकहरुको भनाइ छ।

सरकारले मानव अंग प्रत्यारोपणको क्षेत्रमा अग्रगामी कार्यक्रम घोषणा गरेको भएपनि अहिलैकै परिस्थितिमा चुनौतीपुर्ण कदम भएको राष्ट्रिय मिर्गौला केन्द्रका निर्देशक डा. क्रषि कुमार काफ्ले बताउँछन्।

उपत्यकामै जनशक्ति हम्मेहम्मे परेको बेलामा सातै प्रदेशमा उपकेन्द्र खोलिँदा चुनौती थप बढ्ने उनको भनाइ छ। ‘सातै प्रदेशमा खोल्ने कुराले मानव अंग प्रत्यारोपणको केन्द्रीकृत सेवाको अन्त्य  हुने र विरामीलाई सहज हुने सम्भावना हुन्छ तर अहिले चुनौतीपुर्ण छ’ उनले भने।

केही समय जनशक्ति उत्पादनमा समय लगाएपछि मात्र उपकेन्द्रहरु सञ्चालन गर्नु उचित हुने उनले सुझाए। ‘अहिले प्रत्यारोेपण सेवा दिइरहेका वीर, टिचिङ र भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रले पहिला जनशक्ति उत्पादन गरुन्, त्यसपछि मात्र विस्तार गरौ’ उनले भने।

तर, उपकेन्द्र विस्तारले हाल नातेदारवाट मात्र अंग लिएर प्रत्यारोपण गर्ने सीमिततालाई अन्त्य गरी मृत्युपर्यन्त अंगदान र प्रत्यारोपणको अभ्यासतिर लैजाने देखिएको डा. काफ्लेको बुझाइ छ।

प्रकाशित: ३२ श्रावण २०८१ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App