१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

तनहुँ अस्पतालमा झुल माग

डेंगी संक्रमणका कारण स्थानीय अस्पताल भरिएपछि अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग झुल माग गरेको छ। झुल मागका लागि तनहुँको व्यास नगरपालिकास्थित अस्पतालले बुधबार झुल माग गरेको हो।

डेंगी संक्रमण भई अस्पताल भर्ना भएका बिरामीबाट अरूमा सर्ने जोखिम बढेपछि अस्पतालले झुल माग गरेको इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए। उनका अनुसार तनहुँको व्यास नगरपालिकास्थित खैरेनीटार अस्पताल १५ शड्ढया क्षमताको रहेकामा पाँचजना बिरामी क्षमताभन्दा बढी भर्ना भएका छन्।

झुल माग भएपछि शुक्रबारसम्म आवश्यकताअनुसार झुल पठाउने तयारी भएको निर्देशक घिमिरेले जानकारी दिए। यसअघि नै प्रभावित क्षेत्रमा पठाउने गरी प्रदेश सरकारलाई पाँच हजार परीक्षण कीट पठाइसकेको घिमिरेले बताए।

इपिडिमियोलोजी महाशाखा कीटजन्य रोेग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार महाशाखाले मलेरिया र कालाजार प्रभावित क्षेत्रका लागि झुल भण्डारण गरी राखेको भए पनि अस्पतालमा डेंगीका बिरामी भर्ना भएका अस्पतालबाट माग भएकाले मात्र दिने तयारी भएको हो।

तनहुँको व्यास नगरपालिकामा गत मंगलबार एक संक्रमितको मृत्यु भएको छ भने तनहुँमा असार र साउनभित्र ६१ जनामा संक्रमण पुष्टि भइसकेको छ। थप संक्रमितको स्थानीय अस्पतालमा उपचार भइरहेको र उपचारपछि सामान्य बन्दै गएको डा. दाहालले बताए । हालसम्ममा देशभरिमा २३ सय ६५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित: २५ श्रावण २०८१ ०६:५४ शुक्रबार

#dengue #swing #Epidemiology and Disease Control