तपाईंको घरमा ससाना बालबालिका छन् भने होसियारी अपनाउनुहोस्, किनभने सापु रोगको संक्रमण भएर अस्पताल पुगेका बिरामीमध्ये ७५ प्रतिशत बालबालिका छन्। तिलगंगा आँखा प्रतिष्ठान (अस्पताल) को तथ्यांकअनुसार यो वर्ष भदौ तेस्रो सातादेखि असोज दोस्रो सातासम्म उपचारका लागि २६ जना सापु संक्रमित अस्पताल आएका छन्। तीमध्ये बालबालिकाको संख्या १६ छ। यो हिसाबले सेतो पुतलीबाट हुने सापु संक्रमणबाट बालबालिका अत्यन्त जोखिममा छन्।
अस्पतालकी युभिआइटिस विशेषज्ञ डा. अनु मानन्धरका अनुसार संक्रमित बालबालिकामध्ये धेरैजसो ५ देखि ६ वर्षसम्मका छन्। अरू केही ६ महिनामुनि र केही ६ देखि माथि १८ वर्षमुनिका छन्।
बालबालिका पुतली खेल्न मन पराउँछन् या उनीहरू पुतलीलाई खेलौनाका रूपमा लिन्छन्। उनीहरू पुतली छुने र त्यही हातले अनुहार पनि मुसार्ने गर्छन्। पुतली खेलाउने क्रममा त्यसको झुस र कीटाणु आँखामा पस्ने भएकाले बालबालिकामा सापु संक्रमण बढी हुने डा. मानन्धरको भनाइ छ। सापु संक्रमणको जोखिमपूर्ण समय दुई महिना बाँकी रहेकाले उक्त अवधिभर बालबालिकालाई पुतलीको सम्पर्कबाट जोगाउनुपर्ने सुझाव उनले दिइन्।
चिकित्सकका अनुसार एउटा आँखा अचानक रातो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखाको कालो भागको बीचमा सेतो देखिनु, अत्यन्तै छोटो समयमा ज्योति अत्यन्तै कम हुँदै जानु, दुखाइ त्यति धेरै नहुनु, आँखा पाक्ने रोगजस्तो देखिए पनि आँखा नचिलाउनु र आँखाबाट चिप्रा नआउनु सापु रोग संक्रमणका लक्षणहरू हुन्।
यो रोगका लक्षण देखापरेको २४ देखि ४८ घन्टाभित्र उपचार हुन नपाए आँखाको दृष्टिसमेत गुम्न सक्ने चिकित्सकहरू बताउँछन्।
नेपालमा हरेक वर्ष हुने सापु संक्रमणबाट बढी संख्यामा बालबालिका नै प्रभावित भएको र यसकोे संक्रमणले धेरैको एउटा आँखाको ज्योति नै गुमेकाले सम्भावित असरबाट बालबालिकालाई बचाउन सेतो पुतलीको सम्पर्कबाट बचाउनुपर्नेमा डा. मानन्धरले जोड दिइन्। ‘सापु एक वर्ष बिराएर भदौदेखि मंसिरसम्म महामारीकै रूपमा देखापर्छ,’ उनले भनिन्, ‘नेपालमा यो वर्ष भदौ तेस्रो सातादेखि सापु संक्रमण फैलिएको हो।’
युभिआइटिस विशेषज्ञ डा. मानन्धरले लगभग ४० प्रतिशत सापु रोगीमा कीटाणुको संक्रमण पनि देखिएको जानकारी दिइन्। यो कीटाणुले कुन माध्यमबाट आँखाभित्र संक्रमण गर्छ भन्ने यकिन हुन बाँकी रहे पनि बत्तीमा आउने एक किसिमको सेतो पुतली संक्रमणको एउटा कारक रहेको पुष्टि भएको उनले बताइन्।
त्यसैले यस्ता पुतलीको सम्पर्कबाट बालबालिकालाई टाढा राख्ने, घरवरिपरि सेतो बल्बको प्रयोग कम गर्ने, साँझ र राति झ्याल ढोका बन्द गर्ने, सम्भव भएसम्म झ्यालढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुलभित्र मात्र सुत्ने गर्नुपर्छ।
कुनै लक्षण बालबालिका वा कसैमा देखिए छिटोभन्दा छिटो नजिकैको आँखा उपचार केन्द्रमा लान चिकित्सकले सुझाएका छन्। यस्तो समस्या भए आफुखुसी कुनै पनि औषधि वा जडीबुटी आँखामा राख्न नहुने उनीहरूले बताएका छन्। स्वास्थ्यकर्मीको सल्लाहबमोजिम मात्र औषधि प्रयोग गर्न पनि सुझाइएको छ।
चिकित्सकका अनुसार यो रोग लागेको आँखाको भित्री भागहरूमा संक्रमण भएर (पाकेर) आँखाभित्र पिप भरिन्छ। यो रोगको पहिचान भने छिटो शल्यक्रिया गरे आँखाको ज्योति पूर्ण अथवा आंशिक रूपमा फर्किन्छ। उपचार ढिला भए आँखाको ज्योति गुम्नुका साथै आँखा नै सुकेर जाने गर्छ।
प्रकाशित: ११ आश्विन २०८० ००:४६ बिहीबार