दुइ सातादेखि फैलिरहेको डेंगीका बिरामी बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। अस्पतालमा अनियन्त्रित ज्वरोका समस्या लिएर गएकामध्ये केहीमा डेंगी पुष्टि भएको अस्पतालहरूले जनाएका छन्।
पहिचान नभएका ज्वरोका बिरामीलाई लक्षणका आधारमा उपचार गरिरहेको चिकित्सकहरूले जनाएका छन्। टिचिङ अस्पताल महाराजगन्जको अब्जर्भेसन वार्डमा एक सातामा भर्ना भएका २१ जनामध्ये १० जनामा डेंगी पुष्टि भएको र ११ जना डेंगीजस्तै लक्षण भएका बिरामी उपचाररत छन्। तीमध्ये एकजना सिकिस्त छन्। यो हिसाबले चार प्रतिशत गम्भीर डेंगीका बिरामी रहेको अस्पतालले जनाएको छ।
डेंगी पुष्टि भएका बिरामीलाई अस्पतालले झुल किनेर राखेको अस्पतालका जनरल प्राक्टिस विभागका प्रमुख प्राध्यापक डा. योगेन्दमान शाक्यले बताए। ‘ज्वरो डेंगीकै जस्तो छ, तर सबैमा डेंगी पुष्टि हुँदैन’, डा. शाक्यले भने।
डेंगीजस्तै समस्या लिएर आएका जोर्नी दुख्ने, कडा ज्वरो आउने र टाउको दुख्ने लक्षण छन्। दुइ साताअघिको तुलनामा डेंगी ज्वरोको समस्या बढेको डा. शाक्यले जानकारी दिए। उनका अनुसार शरीरमा प्लेटलेट घट्ने र ज्वरो नघट्ने समस्या भएपछि मात्र उपचारमा पुगेको पाइएको छ। ज्वरो समस्याले भर्ना भएमध्येमा केहीलाई निमोनिया भएपछि आइसियुमा भर्ना गर्नुपरेको छ। एक साताको अवधिमा २१ जना डेंगीका बिरामी भर्ना भइसकेका छन्।
वीर अस्पतालका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठका अनुसार दैनिक उपचारमा पुगेकामध्ये दैनिक आठदेखि १० जनामा डेंगी पुष्टि भएको छ। अस्पतालको बहिरंग विभागमा दैनिक एक सय बिरामी उपचारका लागि पुग्छन्। उपचारमा पुग्नेहरू धेरैजसो रगतमा सेतोको मात्रा घटेपछि पुगेका हुन्छन्। यस्ता बिरामीको भर्ना गरी सेतो रगत चढाएर पठाउने गरिएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार दुई अस्पतालको आकस्मिक कक्षमा दैनिक चारदेखि पाँचजना डेंगीका बिरामी उपचारका लागि पुगेका छन्। तीमध्ये एकजना ८० वर्षीय वृद्धा आइसियुमा भर्ना भएकी छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान आइसियुका डा. प्रतीक वाग्लेका अनुसार दुई सातायता फ्लु र डेंगीका बिरामी आइरहेका छन्।
चिकित्सकका अनुसार अनुमान गरेभन्दा कम संख्यामा डेंगीका बिरामी उपचारमा आएका छन्, तर डेंगीजस्तै लक्षण भएका बिरामी भर्ना भइरहेका छन्। अन्य मौसमी फ्लुका बिरामी पनि उपचारमा पुगेका छन्।
गत वर्षजस्तो डेंगीको प्रकोप नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन्। बिरामी काठमाडौंका विभिन्न भागबाट आइरहेको अस्पतालहरूले जनाएका छन्।
अज्ञात ज्वरो चिकनगुनियाँ हुन सक्छ
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका प्रमुख डा. शेरबहादुर पुनले राजधानीमा देखिएको अज्ञात ज्वरोका बिरामी डेंगी नभएर चिकनगुनियाँका हुन सक्ने अनुमान गरेका छन्।
डेंगीसँगै र डेंगीकै जस्तो लक्षण चिकिनगुनियाँ रोगको हुने भएको र डेंगी सार्ने लामखुट्टे एडिस एजिप्टाइले नै चिकनगुनियाँ सार्ने भएकाले परीक्षण गरेमा चिकिनगुनियाँ पुष्टि हुने सम्भावना रहेको बताए। उनका अनुसार चिकिनगुनियाँ भएमा अन्य लक्षण डेंगीको जस्तै देखिएर शरीरमा रातो बिमिरा पनि देखिन सक्छ। वाक–वाक लाग्ने, अनियन्त्रित ज्वरो आउने र खाना मन नलाग्ने हुन्छ। चिकनगुनियाँ समस्या बढ्दै गएमा मिर्गौला, कलेजो जस्ता अंग बिग्रन गई बिरामीको मृत्युसमेत हुन सक्छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले चिकनगुनियाँका लागि सीमित नमुना परीक्षण भएको र परीक्षण भएका नमुनामध्येमा कुनैमा पनि चिकनगुनियाँ पुष्टि नभएको जानकारी दिइन्। ‘उपत्यकाभित्रबाट फाट्टफुट्ट नमुना परीक्षण भएका छन्, तिनमा पुष्टि भएको छैन’, उनले भनिन्। नेपालमा बर्सेनि देखिन सक्ने सरुवा रोगको पर्याप्त परीक्षण नभएर कतिपय रोग लामो समय रहस्यमा रहने गरेको डा. पुन बताउँछन्।
डेंगी भए के गर्ने?
चिकित्सकका अनुसार डेंगी संक्रमण भएमा सुरुमा बान्ता हुने, पेट दुख्ने, ज्वरो आउने लक्षण देखिन्छ। यी लक्षण देखिएमा उपचारका लागि अस्पताल जानुपर्छ। परीक्षणबाट समस्या देखिएमा अस्पताल भर्ना भई उपचार गर्नुपर्छ। उपचारपछि डेंगी संक्रमणबाट बच्न सकिने डा. पुन बताउँछन्।
प्रकाशित: ६ आश्विन २०८० ०५:१२ शनिबार