११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डाक्टर कुटेको आरोपितलाई ३ दिन म्याद थप,७८ जना डाक्टरको सामुहिक राजीनामा

हेटौंडा अस्पताल, जहाँका ७८ डाक्टरले राजीनामा दिएका छन् ।

हेटौंडामा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर कुटपिट गरेको घटनाका आरोपितलाई अनुसन्धानका लागि तीन दिनको म्याद थप भएको छ।

डाक्टर कुटपिटको घटनामा पक्राउ परेका चार जनालाई थप अनुसन्धानका लागि अदालतले तीन दिनको म्याद दिएको हो। प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) लक्ष्मी भण्डारीले डाक्टर कुटपिटको घटनामा पक्राउ परेका चारजनालाई अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरले ३ दिनको म्याद थप गरेको जानकारी दिए।

घटनामा संलग्न भएकाहरुलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको हो। घटनामा संलग्न अन्यको खोजी भइरहेको र केही फरार रहेको प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न रहेकाहरुको बयान लिने काम भैरहेको प्रवक्ता भण्डारीले बताए। प्रहरीले घटनामा संलग्न भएको भन्दै रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको थियो।

सञ्चो अस्पतालमा कार्यरत रहेको अवस्थामा हेटौंडा पदमपोखरीको एउटा समूहले बुधबार डा। विकास थापा र प्रशान्त बिडारीलाई कुटपिट गरेको थियो। गत साउन २५ गते डेंगु संक्रमणबाट मृत्यु भएका हेटौंडा–१२ का ४० वर्षीय राजेश प्रधानको विषयलाई लिएर डाक्टरहरु माथि हातपात भएको हो। डाक्टरको लापबाहीका कारण मृत्यु भएको भन्दै उनको परिवारलाई दुईजना डाक्टरलाई हातपात गरी घाइते बनाएको हो।

प्रधानको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यसअघि उनी हेटौंडा–१ मा रहेको सञ्चो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। घरमै आराम गर्ने भनेर गएका प्रधानलाई थप समस्या भएपछि भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिलविक्रम कार्कीले घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै २ जना विरुद्ध किटानी जाहेरी दिएका छन्। साथै उनले सिसिटिभी फुटेजमा देखिएका सबैलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन्।

७८ जना डाक्टरको सामुहिक राजीनामा  

हेटौंडा अस्पतालका कार्यरत सबै डाक्टरहरुले सामूहीक राजीनामा दिएका छन्। आफ्ना सहकर्मीलाई आक्रमण र कुटपिट गर्नेलाई कानूनी कारबाही गर्नुपर्ने र सुरक्षित तवरले काम गर्ने वातावरण बनाउनुपर्ने मागसहित अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरुले सामूहीक राजीनामा दिएका हुन्। उनीहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा।रामचन्द्र सापकोटालाई राजीनामा बुझाएका हुन्।  पीडित परिवारका सदस्यहरुलाई मात्र नभई कुटपिटको घटनामा संलग्न अन्य सबैलाई  पक्राउ गर्नुपर्ने डाक्टरहरुको माग छ। 

डाक्टरलाई कुटपिट गर्ने युवाहरुले प्रहरीकै अगाडी अन्य डाक्टरहरुलाई समेत ज्यान समेत लिने भन्दै धम्क्याएपछि उनीहरु थप आन्दोलित बनेका हुन्। मकवानपुर प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न चासो नदिएपछि चौतर्फी आलोचना भएको थियो। सबैको विरोधपछि प्रहरीले बाध्य भएर चारजनालाई नियन्त्रणमा लिएपनि घटनामा संंलग्न अन्य भने फरार रहेका छन्।  

अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द 

डाक्टर कुटपिटको विषयलाई लिएर मकवानपुरमा सञ्चालित निजी तथा सरकारी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकको सबै सेवा बन्द भएको छ। शुक्रबारबाट मकवानपुरका सबै स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा बन्द गरिएको हो। डाक्टरलाई कुटपिट गर्ने घटनामा संलग्न रहेकाहरुलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प गर्ने हेटौंडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताए।  

हेटौंडा अस्पतालमा मात्रै हरेक दिन एकहजार ५ सय जनाको हाराहारीमा बिरामीले सेवा लिँदै आएका थिए।  ‘काम गर्ने वातावरण नभएपछि बिरामीको सेवा गर्नुको कुनै औचित्य छैन। हाम्रा सहकर्मीमाथि गरिएको आक्रमण र कुटपिट खेदजन्य छ’, डा।खड्काले भने, ‘घटनामा संलग्नहरुलाई कारबाही हुनुपर्यो भन्ने हाम्रो माग हो। यसरी त्रासमा बसेर काम गर्न सकिन्न।’  

प्रकाशित: २९ भाद्र २०८० १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App