३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रसुतिगृह तथा स्त्री रोग अस्पताल स्तरोन्नतिको पर्खाइमा

थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ। बिरामीको अत्यधिक चापलाई ध्यानमा राखेर अहिले रहेको ४१५ शय्याबाट स्तरोन्नति गरी ७ सय शय्या पुर्‍याउन लागिएको हो।

अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारी बिरामीको चापलाई ध्यानमा राखेर शय्या थपेर अस्पताल सञ्चालन गर्नुपरेको बताउँछन्। उनका अनुसार सात सय शय्याका सञ्चालन लागि आवश्यक जनशक्तिका माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कर्मचारीको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) का लागि अनुरोध गरिएको छ।

सरकारले निःशुल्क शय्या व्यवस्था गरेपछि अस्पतालमा बिरामीको चाप बढेको छ। ‘पाठेघरका महिलालाई पनि शय्या निःशुल्क गरेपछि बिरामीको सङ्ख्या बढेको छ,’ उनले भने, ‘पहिला दिनमा ७० देखि ८० जना भर्ना हुन्थ्यो भने अहिले सयभन्दा बढी बिरामी भर्ना हुने गर्दछन्।’

बिरामीको चाप बढेपछि प्रसुति भएको महिनालाई आठदेखि १० घण्टामा नै घर पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

अस्पतालमा एउटा मात्र भवनमा सबै सेवा दिइरहेको अस्पतालले कुपण्डोलमा बनिरहेको सय शय्याको नयाँ भवनमा सर्ने तयारी गरेको छ। नयाँ अत्याधुनिक छ तले भवनमा चार तलामा उपचार सेवा र दुई तला पार्किङ रहनेछ। नयाँ भवन बनेपछि अस्पतालले प्रसुति बाहेकका सबै सेवा उपलब्ध गराउने तयारी गरिएको छ। स्त्रीरोग, सुरक्षित गर्भपतन, टेष्टट्युव बेबी (आइभिएफ) र अरू सेवा त्यहींबाट प्रदान गर्ने अस्पतालका निर्देशक डा.अधिकारीले बताए। अस्पतालको भवन छ महिनाभित्र सक्ने गरी काम भइरहेको छ।

उनले प्रसुति बाहेकका सबै सेवा कुपण्डोलमा सारेपछि थापाथलीमा खाली हुने भवनमा प्रसुतिका विरामीलाई क्याबिनमा राख्न सक्ने, सघन उपचार कक्ष (आइसियु) र नवजात सघन हेरचाह एकाई (एनआइसियु)जस्ता सुविधा थप गर्ने योजना रहेको बताए।

अस्पतालमा अहिले १० शय्याको (एनआइसियु) र स्पेशल बेबी केयर युनिट ३० शय्या रहेको छ।

बाहिर अस्पतालमा धेरै महँगाे उपचार हुने भएकाले अहिले बिरामीको पहिलो रोजाई प्रसुति अस्पताल बनेको छ।

‘अन्य अस्पतालमा महँगाे उपचार रहेकाले धेरै बिरामी हाम्रै अस्पतालको एनआइसियुमा उपचार गर्न आउने गर्दछन्,’ उनले भने, ‘जटिल खालका रोगको उपचारका लागि पनि धेरै बिरामी आउने गर्दछन्। त्यसैले एनआइसियु शैय्या थप्ने तयारीमा छौं।’

उनका अनुसार अस्पतालले एक महिनाभित्र थप १० वटा एनआइसियु शय्या भेन्टिलेटरसहित सञ्चालनमा ल्याउनेछ। थप १० शय्या थप्दा धेरै नवजात शिशुलाई बाहिर अस्पतालमा रिफर गर्नु नपर्ने उनको भनाइ छ।

बाहिर अस्पतालको एनआइसियु धेरै महङ्गो रहेको र प्रसुति अस्पतालमा भने एनआइसियु निःशुल्क रहेको छ।

काउण्टर थप्दै

अस्पतालले बिरामी छिटो सेवा प्रदान गर्नक काउन्टर थप्ने तयारी रहेको छ। बिरामीलाई दुई घण्टाभित्र उपचार गरेर घर फर्कन सकून् भनेर काउन्टर थप गरिएको उनी बताउँछन्। धेरै बिरामीको आउन थालेपछि एउटा पैसा तिर्ने काउन्टर र अर्को टिकटको काउन्टर थपिने भएको छ। यस्तै फार्मेसी पनि दुईटा काउन्टर थपेर तयारी रहेको छ।

अस्पतालले अहिले कुपण्डोलमा टेष्टट्युव बेबी (आइभिएफ) सेन्टर सञ्चालन गरेको छ। प्रत्येक दिन ७० जना निःसन्तान बिरामीको उपचार गर्ने गरेको छ। तीमध्ये सामान्य विरामीलाई उपचार गरी घर पठाउने र आइभिएफका लागि भने महिनामहिनामा एकपटक कुपण्डोलस्थित अस्पतालबाट उपचार सेवा दिने गरेको जनाएको छ।

आइभिएफलाई व्यवस्थित गर्न नयाँ उपकरण खरिद गर्न थालेको बताए। दूरबिनबाट शल्यक्रिया, ल्याप्रोस्कोपी विधिबाट पाठेघरको शल्यक्रिया, अण्डाको ट्युमर, सानासाना शिष्ट, बच्चा नहुने महिलालाई पाठेघरको उपचार अस्पतालले गरिरहेको छ।

‘पहिला हामीले महिलालाई सबै सेवा दिन सकेका थिएनौं’ उनले भने, ‘हप्तामा छ वटासम्म दूरविनबाट शल्यक्रिया गर्दछौं। चिरेर शल्यक्रिया पनि थुप्रै गर्दछौं।’

अस्पतालले निःसन्तान परिवारका लागि उपचारका लागि काठमाडौं आउनु झन्झट हटाउन थालेको छ। सरकारले चारवटा आइभिएफ सेन्टर खोल्ने योजनासहित अस्पतालले बिरामीलाई काठमाडौं आउनुपर्ने अवस्थाको अन्त्य गर्न थालेको हो। सरकारले निःसन्तान परिवारका लागि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशमा गरी चारवटा आइभिएफ सेन्टर स्थापना गर्ने तयारी गरेको छ।

आभिएफका लागि चिकित्सक, नर्स र ल्याबटेक्निसियनलाई चारवटै सेन्टरका दुई ब्याचको तालिम दिइसकेको छ। काठमाडौं आउन झन्झटिलो, खर्चिलो हुने र उपचारमा बस्न पनि लामो समय लाग्ने भएकाले त्यहाँका बिरामीलाई उपचार गर्न हामीले स्वास्थ्यकर्मीलाई आइभिएफ सम्बन्धी तालिम दिन शुरु गरिसकेको उनले बताए।

अब ८० प्रतिशत बिरामीलाई काठमाडौं आउनुपर्ने झन्झट र खर्चिलो उपचार गर्नुपर्ने कम हुने उनको भनाइ छ। अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत छात्रवृत्तिमा १५ जना विद्यार्थीलाई एमडी अध्ययन पढाउन शुरु गरेको छ।

नियमित अडिट

लामो समय अस्पतालमा बसेका बिरामीको नियमित अडिट गर्ने गरेको उनी बताउँछन्। के कारणले बिरामी लामो समय अस्पतालमा बस्नुपरेको भन्ने कुरा अडिटबाट थाहा हुने उनको भनाइ छ।

‘कुनै बिरामी लामो  समय अस्पतालमा के कारणले बस्नुपर्‍यो भनेर आन्तरिक अडिट गर्दछौं’ उनले भने, ‘हाम्रै कारणले लामो समय बस्नुपर्‍यो कि हाम्रा के कमजोरी भएका छन्, कुन औषधि चलाउँदा राम्रो हुन्थ्यो कि त्यसको पत्ता लगाउन नियमित अडिट गर्दछौं।’

अस्पतालले अहिले प्रसुतिसम्बन्धी र नवजात शिशुको उपचारको साथै आमा सुरक्षा कार्यक्रम अनुसार नवजात शिशु र गर्भवतीलाई सबै सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ। ‘अस्पतालमा एउटा नर्सले १५ देखि २० गर्भवतीका बिरामी हेर्नुपरेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) अनुसार त्यो धेरै नै कमी हो। डब्लुएचओले एक जना नर्सले दुई गर्भवतीको उपचार गर्न सक्छन् भन्ने मापदण्ड रहेको छ,’ उनले भने, ‘हामीसँग जनशक्तिको कमी छ।’

‘ह्युमन मिल्क बैंक’ प्रभावकारी

अस्पतालले एक वर्षअघि ‘ह्युमन मिल्क बैंक’ (वृहत स्तनपान व्यवस्थापन केन्द्र) प्रभावकारी दिेखिएको छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ ३ गते दूध खान नसक्ने शिशुलाई अरू आमाको दूध सङ्कलन गरेर खुवाउन बैंकको शुभारम्भ गरेका हुन्। अहिले दैनिक १० जना आमाले दूध दान गर्ने गरेका छन्।

समयभन्दा अगाडि जन्मेका, गम्भीर विरामी भएका, जन्मिनेबित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएका, आइसियुमा रहेका,आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध दिने गरिन्छ। बैंकमा अहिलेसम्म ७४९ आमाबाट ४५६ लिटर आमाको दूध सङ्कलन गरिएको छ। यसमा ४४८.८८ लिटर आमाको दूध निर्मलीकरण गरी ८७३ शिशुलाई ३९९.८९ लिटर खुवाइको बैंकका व्यवस्थापक स्मृति पौडेलले बताए।

प्रकाशित: २१ भाद्र २०८० ०७:१४ बिहीबार

काउण्टर थप्दै नियमित अडिट परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल