४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जथाभावी टायर फाल्दा डेंगी लामखुट्टे फैलियो

डेंगी नियन्त्रणको लागि नागरिकले के गर्ने ?

डेंगी लामखुुट्टे नष्ट गर्ने अभियानबारे हल्ला चले पनि वास्तविक काम हुन नसकेको आरोप सरोकारवालाहरूले लगाएका छन्। डेंगीको वास्थान नष्ट नगरेसम्म लार्भा तथा अण्डा नष्ट नहुने र वासस्थान नष्ट नभएसम्म डेंगी संक्रमण नियन्त्रण नहुने भएकाले अन्य उपचार र हल्लाभन्दा पहिला लामखुट्टेको वासस्थान नष्पट गर्ने अभियान प्रभावकारी हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्। सोमबार राजधानीमा डेंगी नियन्त्रण विषयक अन्तरक्रिया कायत्र्रक्रममा बोल्दै विज्ञहरूले डेंगी सार्ने लामखुट्टे एडिसको वासस्थान नष्ट गर्नमा जोड दिन सुझाए।  

सरकारले सबै तहका सरकार र स्थानीय सरकारसम्मलाई डेंगी नियन्त्रणको लागि पैरवी तथा निर्देशन दिइसके पनि नियन्त्रण चुनौती बनेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले बताएका थिए। चालु वर्षमा डेंगी संक्रमणको कारण धरानमा भएको मृत्यु र डेंगी प्रकोपको विषयमा सञ्चारकर्मीहरूले चासो व्यक्त गरेपछि डा. मरासिनीले महाशाखाले डेंगी नियन्त्रण निर्देशनअनुसार कार्यक्रम देशभरि पुगेको दाबी गरेका थिए।  

विज्ञहरूले डेंगी नियन्त्रणमा सरकारको नीति नै असफल भएको संकेत गर्दै संक्रमण फैलिएपछि परीक्षण गर्नु र उपचारमा पुग्नुभन्दा लाग्नै नदिने कार्यमा आम नागरिक र सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उपचारात्मक महाशाखाका प्रमुख डा. अनुप बाँस्तोलाले नेपालका सहरहरूमा टायर लथालिंग अवस्थामा रहेकोले पनि डेंगी नियन्त्रण नभएको बताए।  

विज्ञहरूले संक्रमण फैलिएपछि परीक्षण गर्नु र उपचारमा पुग्नुभन्दा लाग्नै नदिने कार्यमा आम नागरिक र सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।

उनका अनुसार टायरमा आकाशको सफा पानी जम्मा हुने र यस्तो पानीमा डेंगी फैलाउने एडिस लामखुट्टेको अण्डा हुने र त्यहींवाट ठूलो संख्यामा लामखुट्टेको बृद्धि हुने हुन्छ। यसरी लामखुट्टे फैलिने टायरहरू खुला ठाउँमा जथाभावी उल्लेख्य रहेको उनले बताए। त्यसैगरी रंगको बाल्टिन, खाली बट्टा, बोटल र गमलाका थालीसमेत सफा नगरी जथाभावी अवस्थामा रहेको पाइएको छ।  

अझ धेरै टहराहरूमा टहरा उड्छ भनेर टायर छानामाथि राखिन्छ। यही टायरको पानीमा पर्याप्त लामखुट्टे फैलिन्छ। नेपालमा लामखुट्टेको बासस्थान नष्ट गर्नमा टायरहरू मुख्य चुनौती बनेको डा. बाँस्तोलाले बताए। ‘तपाईंहरू आफैं नियाल्नुहोस्, खुला ठाउँमा राखिएका टायर कति छन् र ती टायरमा कति डेंगीका लामखुट्टेको लार्भा फैलिएका छन्,’ उनले भने।  

सरकारले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानमा धेरै कमजोरी गरेको कारण पनि यो वर्ष डेंगी संक्रमणको प्रकोप बढिरहेको र जनस्वास्थ्यमा असर पुगेको बाँस्तोलाले बताए। उनको अनुसार सरकारले गत वर्ष डेंगी नियन्यणको गत वर्षहरूमा चलाएको नारा ‘हप्तामा एक दिन एक घण्टा, हुँदैन कसैलाई कष्ट’ लाई जारी राखी समुदायको सहभागितामा लामखुट्टेको बासस्थान सफा गर्ने अभियान चलाउनु पर्ने सुझाए।  

सोही क्रममा स्वास्थ्य सेवा विभागका प्रमुख डा. दीपेन्द्र रमण सिंहले नेपालमा सरकार मात्रको प्रयासवाट डेंगी नियन्त्रण सम्भव नभएको बताए। ‘हरेक नागरिकको जिम्मेवारी हो, कम्तीमा तपाईंको घरमा डेंगीका लामखुट्टे बस्न नदिनुहोस्,’ उनले भने। सरकारको आधारभूत इकाइ भनेकै नागरिक भएकोले पहिलो जिम्मेवारी नागरिकले पूरा गर्नुपर्ने डा. सिंहले बताए। नागरिकले मुख्य कुरा जमेको सफा पानीमै डेंगीको लामखुट्टे बस्छ र यसले टोकेमा ज्यानै जान सक्छ भन्ने कुरा बुझेर हरेकले आफ्नो घरमा भएको बाल्टिन, बट्टा घोप्तो पार्ने, गमलाको थाली हरेक हप्ता सफा गर्ने जस्ता काम गरेमा डेंगी छिटो नियन्त्रण सम्भव भएको उनले बताए।  

नागरिकपछि हरेक स्थानीय सरकारले हप्तैपछि टोल–टोलमा डेंगीको लार्भा नष्ट गर्ने अभियान प्रभावकारी हुनुपर्नेमा सञ्चारकर्मीहरूले सुझाव दिए। अहिले स्थानीय सरकार डेंगीको वासस्थान नष्ट गर्ने विषय हल्लामा बढी वास्तविकतामा कम गएको उनीहरूको आरोप छ।  

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा साउन ३ गतेभित्रको तथ्यांकअनुसार नेपालमा यो वर्ष डेंगी संक्रमणको कारण सुनसरीमा मात्र ८ जनाको मृत्यु भइसकेको छ। हालसम्म नेपालभरीमा ७ हजार २ सय ५३ जना संक्रमित भएका छन्। ७१ वटा जिल्लामा फैलिएको डेंगी हालसम्म कोसी प्रदेशमा सवै भन्दा बढी ५ हजार १ सय १ र बाग्मतीमा ११ सय ७१ जना संक्रमित भएका छन्।  

डेंगी नियन्त्रणको लागि नागरिकले के गर्ने ?

-घरबाहिर रहेका टायरभित्र राख्ने  

-बाल्टिन, बोटल जस्ता भाँडामा पानी भरेर नछोपी नराख्ने  

-गमलाको थाली हप्तैपछि सफा गर्ने  

-घरको वरपर रहेका खालि भाँडाहरू  घोप्टो पारेर मात्र राख्ने  

-घरबाहिर टायर या खालि बट्टा देखेमा व्यववस्थित गर्ने  

-घरको छानामाथि टायर नराख्ने

प्रकाशित: २३ श्रावण २०८० ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App