१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यका कर्मचारीले पाएनन् तलब

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन्। कर्मचारी समायोजनका बेला रास्कोट नगरपालिका रोजेर आएका अहेब, अनमी र जनस्वास्थ्य निरीक्षक गरी १५ जना कर्मचारीले गत साउनयताको तलब पाएका छैनन्।

नगरपालिकाभित्रका तीन स्वास्थ्य चौकीको दरबन्दीभन्दा बढी समायोजन भएर आएकाले थप कर्मचारीले तलब पाएका छैनन्। नगरपालिकाले फाजिलमा रहेका कर्मचारीलाई विभिन्न सामुदायिक स्वास्थ्य एकाइमा कामकाज गर्न खटाइए पनि तलब दिने बेला विभिन्न बहाना बनाइएको बताइन्छ।  

अघिल्लो सरकारले तलबभत्ता दिँदै आए पनि आव २०७९÷८० को साउनयता भने तलब दिन नगरपालिकाले बजेट नभएको भन्दै रोकेको छ। सरकारको स्वास्थ्य सेवा समूहतर्फका स्थायी १५ जना कर्मचारी अहिले बिनातलब सेवामा निरन्तर खटिइरहेका छन्। सिनियर अहेब शंकरप्रसाद बरालले गत साउनयता तलबभत्ता केही पनि नपाउँदा पीडा सुनाए।

एक वर्षयता तलब नपाएका अर्का सिनियर अहेब धीरेन्द्रबहादुर खड्काले स्थायी कर्मचारीको हालत त यस्तो छ भने अस्थायी कर्मचारीको कस्तो होला भन्दै प्रश्न गरे। उनले नगरपालिकालाई पटक–पटक आफ्नो तलबभत्ताबारे मन्त्रालयसँग समन्वय गरिदिन आग्रह गर्दा पनि सुनुवाइ नभएपछि ध्यानाकर्षण पत्रसमेत बुझाएको जानकारी दिए।

रास्कोटका १५ जना कर्मचारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तलबभत्ता बापतको रकम पठाउनुपर्ने हो। तर मन्त्रालयले दरबन्दीअनुसार मात्र पठाएका कारण स्थायी १५ जना कर्मचारी तलब पाउनबाट वञ्चित छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले मन्त्रालयले अब तलब पठाउने भनेकाले समस्या सुल्झिने बताए। उनले भने, ‘दरबन्दीभन्दा बढी कर्मचारी आए तर तलब नआउँदा यस्तो समस्या भएको हो, अब समाधान होला।’

प्रकाशित: २४ वैशाख २०८० ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App