सन् २०२५ सम्म औलो रोगलाई शून्यमा झार्ने सरकारी लक्ष्य रहे पनि कपिलवस्तु भने अझै उच्च जोखिममा छ। अति जोखिम सूचीमा रहेको कपिलवस्तुमा पछिल्ला ४ वर्षमा ५४ औलो (मलेरिया) रोगी फेला परेका छन्। औलो रोगको नियन्त्रण र न्यूनीकरणका लागि जिल्लामा वर्षांैदेखि विभिन्न कार्यक्रम सञ्चालन गदै आइए पनि जिल्लामा औलो रोगीको संख्यामा कमी आउन नसकेको हो। सरकारले सन् २०१४ देखि नै औलो रोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। २०७६-७७ मा २२ जना, २०७७-७८ मा १३ जना, २०७८-७९ मा १२ जना तथा चालु आर्थिक वर्षको चैतसम्म ७ जना फेला परेका हुन्।
औलो रोगको परीक्षण र उपचार निःशुल्क छ। सन् २०२५ सम्म औलो रोगलाई शून्यमा झार्ने गरी कार्यक्रमसमेत अघि बढाएको छ। अभियान चालएको ८ वर्ष बितिसक्दा पनि औलो रोग भने आशातीत रूपमा घटेको देखिँदैन। ‘शून्यमा औलो अबको थालनी, नवीनतम कार्य कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ कपिलवस्तुको तौलिहवामा विश्व औलो दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका मलेरिया इनिस्पेक्टर विष्णुप्रसाद बैसले सो तथ्यांक प्रस्तुत गरेका हुन्। फेला परेका रोगीमध्ये कडा र सामान्य खालका छन्।
चालु आर्थिक वर्ष २०७९-८० को चैत मसान्तभित्र ७ जना औलो रोगी भेटिएका छन्। कृष्णनगर नगरपालिकामा ३ जना, यशोधरा गाउपालिकामा २ जना, तथा वाणगंगा नगरपालिका र शुद्धोदन गाउपालिकामा एक एक जना फेला परेका छन्। वाणगंगामा फेला परेका रोगी युगान्डाबाट फर्केका हुन्। भेटिएका सबै रोगीहरू भारत र अन्य देशबाट फर्किका हुन्। वैदेशिक रोजगारीका लागि भारत जाने र फर्किने तथा खुला सीमाका कारण समेत औलो रोगको नियन्त्रणका लागि समस्या देखिएको बैसले बताए। उनका अनुसार विगतको तुलनामा औलो रोगीको संख्या घटेको बताए। तर नियन्त्रणमा भने अझै चुनौती रहेको उनी बताउँछन्। खासगरी सीमावर्ती क्षेत्रमा पर्ने वडाहरूमा औलो रोगीहरू बढी रहेका छन्।
आयातित केसहरू बढिरहेका उनले बताए। नेपालमा २० र लुम्बिनी प्रदेशमा ७ वटा जिल्ला अति जोखिममा छन्। औलो रागेका लागि रणनीति बनाउने, सोधखोज गर्ने, उपचारमा पहुँच बढाउने गरी जिल्लाभर कार्यक्रम सञ्चालन गरिएको उनले बताए। एनोफिलिज जातका पोथी लामुखुट्टेको टोकाइबाट सर्ने औलो रोगको प्रमुख लक्षण नै ज्वरो रहको उनले बताए। ‘सबै ज्वरो औलो होइन तर ज्वरो बिना औलो हुँदैन,’ उनले भने। ज्वरो आउने, टाउको दुखिरहने, फियो सुन्निनेलगायत औलोका लक्षण रहेको भन्दै बेलैमा उपचार नगरिए औलोले ज्यानसमेत लिन सक्ने उनले बताए।
सामान्य होसियारी र सचेत भए मात्र पनि औलो रोगबाट बच्न सकिने उनले बताए। गर्भवती महिला र ५ वर्ष मुनिका बालबालिका यो रोगको जोखिममा रहेको उनले बताए। झुल लगाएर सुत्ने, झ्याल ढोकामा जाली लगाउने, घर आँगन सफा राख्नेलगायतमा ध्यान दिन सके मात्र औलो रोगबाट बच्न सकिने डाक्टरहरू बताउँछन्। स्वास्थ्य केन्द्र र विद्यालयहरूमा सो रोगका विषयमा सचेतनामूलक कार्यक्रमसमेत चलाईंदै आएको छ। सचेतना र होसियारी अपनाए यो रोगबाट बच्न सकिने भएकाले सबै मिलेर जनचेतना फैलाउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए। रोग लागेका सुरुवाती अवस्थामा स्वास्थ्य संस्थामा ल्याइए यो रोगको सामान्य उपचारबाट सन्चो हुन्छ। स्वास्थ्य कार्यालयका प्रमुख श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, क्षयकुष्ठ अधिकृत मोहोम्मद इरफान, जन स्वास्थ्य अधिकृत उमेश घिमिरेलगायतको सहभागिता थियो ।
प्रकाशित: १३ वैशाख २०८० ०२:३३ बुधबार