२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प

जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ। सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ।

जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द छ। अस्पतालमा जलजला, फलेवास, कुश्मा र मोदी, महाशिला र विहादीका सेवाग्राही सेवा लिन आउने गर्छन्।

छिमेकी जिल्ला बागलुङको दक्षिणी क्षेत्र जैमिनी नगरपालिकाका सर्वसाधारण पनि यहाँ उपचारका लागि आउने गर्दछन्। एक महिनादेखि चिकित्सक नहुँदा प्रसूति गराउन पोखरा, काठमाडौं लगायत ठाउँ पुग्नुपर्ने अवस्था छ।

पर्वतको कुश्मा नगरपालिका-३ आम्बोटकी कुमारी रेग्मी प्रसूति व्यथाले च्यापेर झन्डै १० किलोमिटर सडक यात्राबाट बिहीबार पर्वत अस्पताल पुग्दा चिकित्सक नभएपछि फर्किएर पोखरा जान बाध्य भएको स्थानीय नवराज क्षेत्रीले बताए।

एक महिनाअघि आफूलाई पनि यस्तै समस्या परेको उनले बताए। रेग्मीजस्तै दैनिक अरु गर्भवती र सुत्केरी उपचारका लागि यहाँ आउने गरे सेवा पाउन सकेका छैनन्।

जिल्लाका अन्य स्वास्थ्य संस्थामा जटिल खालका गर्भवती सुत्केरी गराउन शल्यक्रिया सेवा नहुँदा पर्वत अस्पतालमै आउनुपर्ने बाध्यता छ। सेवा नपाएपछि पोखरा तथा काठमाडौँ रिफर गर्नुपरेको अस्पतालले जनाएको छ।

जिल्ला अस्पताल पर्वतकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिणा अधिकारीका अनुसार अस्पतालमा कार्यरत चिकित्सक डा हेमन्त बराल एक महिनादेखि तालिममा छन्। अस्पतालमा थप दरबन्दी वा वैकल्पिक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उनले बताए।

पर्वत अस्पतालमा यस मासिक ३० देखि ३५ जनासम्मले सुत्केरी सेवा लिंदै आएका थिए। अहिले सामान्य अवस्थाका बाहेक सबै जसो पोखरा र काठमाडौं जाने गरेका छन्। रासस

प्रकाशित: ५ फाल्गुन २०७९ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App