२७ पुस २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वस्थ रहने पानी कती पिउने ?

शरीरका लागि पानीको महत्व कति हुन्छ भन्ने सबैलाई थाहा छ । हाम्रो शरीरको कुल वजनको करिब ७० प्रतिशत पानी हुन्छ । शरीरका सबै अंग र आन्तरिक कार्यप्रणाली ठीक ढंगले काम गर्न पनि पानीको उचित स्तर बनिरहनु आवश्यक हुन्छ तर कुनै रोग, व्यायाम, लु आदिका कारण शरीरमा पानीको कमी हुँदा हामीलाई प्यास लाग्छ ।

शरीरमा पानीको स्तर घट्दा थकान हुन्छ । थकानकै क्रममा हल्का टाउको दुख्ने क्रम सुरु हुन्छ । यही क्रम बढ्दै जाँदा मनिसमा चिडचिडाहट हुन्छ भने शारीरिक र मानसिक कमजोरी पनि बढ्न पुग्छ ।
शरीरबाट मल–मूत्र, पसिना, श्वास लिने–छोड्ने क्रममा लगातार पानी विविध स्वरुपमा बाहिर निस्कन्छ । यस्तो अवस्थामा एउटा स्वस्थ मानिसले भोक र प्यास महसुस हुन्छ र खानपिन गरी शरीरमा लगातार पानीको सन्तुलन बनाइरहन्छन् । तर नवजात शिशु, रोगी मानिस, वृद्ध वा बढी मिहिनेत गर्ने खेलाडी, मजदुर आदिलाई पानीको मात्रा सही स्तरमा राखिरहनु निकै गाह्रो हुन्छ ।

पानी कम हुँदा दिमाग खुम्चन्छ

शरीरको यान्त्रिकी अर्थात् मेसिनरी कस्तो हुन्छ भने शरीरभित्र पानीको कमी निकै अघि भइसकेको हुन्छ र निकै पछि मात्र शरीरले प्रतिक्रिया देखाउँछ । धेरै शोधले के देखाएको छ भने हाम्रो शरीरमा एक प्रतिशतले मात्र पनि पानीको स्तर घट्यो भने त्यसको नकारात्मक प्रभाव शरीरमा देखिन थाल्छ । यसले शरीरको विभिन्न अङ्गका साथ दिमागको समन्वय गडबड हुन थाल्छ । एकग्रता भङ्ग हुन्छ, स्मरणशक्ति क्षीण हुन्छ । हुन त शोधको निष्कर्ष कतैकतै विरोधाभासी पनि हुन सक्छन् तर मानव शरीरमा पानीको न्यूनताले मस्तिष्कका तन्तुबाट निस्कने द्रव्यको मात्रा कम हुन जान्छ । जसका कारण दिमाग संकुचित हुन्छ र कोशिकाहरुको कामकाज अस्थायी रुपमै सही तर प्रभावित चाहिँ हुन्छ नै ।

यति मात्र होइन, शरीरमा पानी कम हुने क्रम जारी रहे र त्यसको आपूर्ति पर्याप्त हुन सकेन भने रगत बाक्लो हुन जान्छ । मृगौलाले पनि शरीरमा पानी बचाइरहने जुक्तिमा लाग्छ । यसले पिसाब जोगाउँछ र कम पिसाब लाग्न थाल्छ । रगत बाक्लो हुन थालेपछि धमनि र मुटुमा रक्तचाप सन्तुलित राख्ने कुरामा बढी मिहिनेत गर्नुपर्ने हुन्छ । यसले मुटुको ढुकढुकी बढ्न पुग्छ । व्यायाम, लू, गर्मीका कारण पानी कम पिउँदा शरीरमा ऊर्जाको अभाव रहादा बेहोस हुने खतरा हुन्छ । बस्दाबस्तै वा अचानक उठ्दा लड्ने डर हुन्छ । पानीको कमीका कारण शरीरले आफ्नो सही तापमान कायम राखिरहन पनि समस्या हुन्छ । तापक्रम सामान्यस्तरभन्दा बढी हुन्छ । यो अवस्थालाई हाइपरथर्मिया भनिन्छ । पानी कम हुँदा कोशिकाहरु पनि खुम्चिन थाल्छन् । शरीरले पानीको कमी हटाउन रगत र अन्य चिजबिजबाट पानीको स्रोत तान्न थाल्छ । यसले दिमागमा असर पुग्ने हुनाले प्यासको अवस्था महसुस हुने गर्दछ ।
 

कति पानी पिउने ?

हाम्रो शरीरका लागि पानीको सामान्य स्तर कति हो भन्ने कुरा शरीरको बनावट, खुराक, मौसम, हामीले लगाइरहेको कपडा आदिजस्तामा पनि भर पर्छ । हाम्रो शरीरलाई दिनभरि कति पानी आवश्यक पर्छ भन्ने पहिलो पटक आधिकारिक शोध २००४ मा मात्र हुन सकेको थियो । इन्स्टिच्युट अफ मेडिसिनकाअनुसार वयस्क पुरुषले ३.७ र महिलाले २.७ लिटर पानी हरेक दिन पिउनु पर्छ । यस आवश्यकताको ८० प्रतिशत चिया, कफी, पानीजस्ता माध्यमबाट पूरा हुन्छ । बाँकी २० प्रतिशत खान्कीबाट पनि पूरा हुन्छ । हुन त निश्चित रुपमा यति नै आवश्यक हो भन्ने अन्तिम निर्णय यो होइन । हाम्रो शरीरमा पानीको स्तर आफैँले पनि मापन गर्न सक्छौँ ।

कसरी ?

१. शरीरको वजन हेर्ने । बिहान खानुअघि र खाएपछिको औसत वजन थाहा हुन्छ ।
२. दिनभरिमा नियमित रुपमा चार पटक मूत्र त्याग गर्नु जरुरी हुन्छ । पिसाबको रङ पहेँलो वा हल्का पहेँलो भयो भने तपाईंले अलि बढी पानी पिउनु आवश्यक छ ।  
३. पानी, चिया, कफी, जुस, सर्बतजस्ता कुरा नियमित अन्तरालमा पिइरहनुहोस् । प्यास लाग्नुअघि नै शरीरमा पानी पुगोस् भन्ने कुराम ख्याल राख्नुस् ।
(न्युजिल्यान्डको मेसी युनिभर्सिटीमा खेल र व्यायाम विभागका लेक्चरर टबी मुन्डेलको यो आलेख द कनभर्जेसनमा प्रकाशित छ ।)
 

प्रकाशित: ११ आश्विन २०७३ ०४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App