२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

हेटौडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगंगा आँखा प्रतिष्ठान बिच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौडामा स्थानान्तरण गर्ने समझदारी भएको छ। मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारी-पत्रमा उद्योग मन्त्रालयका सहसचिव बाबुराम गौतम र आँखा प्रतिष्ठानका तर्फबाट प्रमुख कार्यकारी अधिृकत डा रिता गुरुङले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार मन्त्रालयले इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग स्थापनाका लागि प्रतिष्ठानका नाममा दुई करोड रुपैयाँ पक्की भवन निर्माण अनुदान निकासा गर्नेछ। सो रकम पक्की भवन निर्माणका कार्यबाहेक अन्यमा खर्च गर्न पाइने छैन। भवन निर्माण गर्दा गुणस्तरीयता कायम गर्नुपर्ने सम्झौतामा उल्लेख छ। प्रतिष्ठानले कानुन बमोजिम मुनाफा वितरण नगर्ने उद्देश्य राखी लेन्स उत्पादन कम्पनी/उद्योग दर्ता प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ।

चालु आवका लागि निकासा भएको अनुदान रकम आगामी जेठसम्ममा खर्च गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ। चालु आवमा खर्च हुन नसकेको बजेट फिर्ता गर्नुपर्नेछ। सम्पादन भएको कार्यको भौतिक तथा वित्तीय प्रगतिको त्रैमासिक प्रगति प्रतिवेदन अनिवार्य रूपमा प्रतिष्ठानले मन्त्रालयमा पठाउनुपर्नेछ।

विभाग स्थानान्तरणका लागि आवश्यक खरिद गर्ने, निर्माण गर्ने, लेखापाल गर्ने, लेखापरीक्षण गराउने, प्रतिवेदन गर्ने लगायत सम्पूर्ण जिम्मेवारी प्रतिष्ठानको हुनेछ। लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्रतिष्ठानले मन्त्रालयमा पठाउनुपर्नेछ। समझदारी-पत्रमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न दुवै पक्षका एकएक जना सम्पर्क अधिकृत तोक्ने सहमति भएको छ। रासस

प्रकाशित: २२ माघ २०७९ ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App