५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

स्मार्ट करिअरका लागि ए–लेभल

एसइई उत्तीर्ण भएपछि धेरै विद्यार्थी आ–आफ्नो स्मार्ट करिअरका लागि ए–लेभल अध्ययन गर्ने गरेका छन्। तुलनात्मक रूपमा ए–लेभल अध्ययनपछि विद्यार्थीको व्यक्तित्व नै स्मार्ट बन्छ।

गत वर्ष एसइईपछि भक्तपुरका विशेष धौवडेल कक्षा ११ र १२ अध्ययनका लागि विभिन्न परीक्षा बोर्डका पाठ्यक्रम र कोर्स अध्ययन गर्न थाले। ए–लेभलको पाठ्यक्रम परम्परागत घोकन्ते प्रणालीभन्दा पृथक् तथा सिर्जनशील भएकाले उनको रोजाइमा क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत ए–लेभल पर्‍यो। त्यसपछि विशेष बानेश्वरमा रहेको ग्लोबल कलेज इन्टरनेसनलमा ए–लेभल भर्ना भए। हाल उनी ए–लेभल दोस्रो वर्षका विद्यार्थी हुन्।  

‘ए–लेभलको कोर्स मैले निकैै एडभान्स पाएँ,’ हर्षित हुँदै उनले सुनाए, ‘मन परेको विषय छानीछानी पढ्न पाइन्छ। अनि आफैं खोजेर अध्ययन गर्ने बानीले सिकाइ उपलब्धि व्यावहारिक बनाएको छ।’ नेपालमै स्नातकमा कम्प्युटर विज्ञान अध्ययन गर्ने सोच बनाएका उनले थपे, ‘ए–लेभल अध्ययनपछि स्वदेश तथा विदेशमा अध्ययन गर्ने तरिका सिकाएको छ। विद्यार्थी केन्द्रित पाठ्यक्रमले विद्यार्थीलाई अध्ययनसँगै सहभागिता गएको छ।’

भक्तपुरकी रिया लामिछानेले पनि आफ्नो चौतर्फी ज्ञान बढाउन ए–लेभल नै छनोट गरिन्। चेल्सी इन्टरनेसनल एकेडमीबाट उनले ए–लेभल पूरा गरिन्। हाल उनी नेपालमै किंग्स कलेजमा विदेशी डिग्रीकै स्नातकमा बिबिए अध्ययनरत छिन्। ‘ए–लेभलमा आफूले चाहेको विषय छनोट गरेर पढ्न पाइने रहेछ,’ रियाले अनुभव सुनाइन्, ‘एलेभल अध्ययनपछि विद्यार्थीमा विषयवस्तुप्रति आलोचनात्मक सोच विकास हुन्छ। साथै नेतृत्वको पनि विकास हुने मैले पाएकी छु।’ ए–लेभलमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको प्रमाण–पत्र पाइने भएकाले यसको दायरा फराकिलो छ।  

जेनेरल सर्टिफिकेट अफ एजुकेसन (जिसिई) क्याम्ब्रिज इन्टरनेसनल एक्जामिनेसन (सिआइई) बोर्डद्वारा सञ्चालन गरिएको हो। यो युनिभर्सिटी अफ क्याम्ब्रिजकै एउटा अंग हो। जिसिईले गत पचास वर्षदेखि विश्वका करिब एक सय सत्तरी देशमा लगभग सत्तरी विषयमा एडभान्स लेभल प्रदान गर्दै आएको चेल्सी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल तथा संस्थापक निर्देशक सुधिरकुमार झाले जनाए। ए–लेभलको शिक्षा सन् १९५१ देखि सुरु भएको हो।

ए–लेभल पाठ्यक्रम दुई भागमा विभाजित छ। एउटालाई एडभान्स सब्सिडिअरी (एएस) लेभल भनिन्छ। यसमा पहिलो आधा पाठ्यक्रम समावेश गरिएको हुन्छ। अर्को आधालाई ए–टु सिलेबस भनिन्छ। यसले बाँकी आधा पाठ्यक्रम सँगालेको हुन्छ। विद्यार्थीले सम्पूर्ण ए–लेभल क्वालिफिकेसन पाउनका लागि दुई वर्षमा दुई पटक परीक्षा पनि दिन सक्छन् भने दुई वर्षको अन्तमा एकै पटक परीक्षा दिन सक्छन्। साथसाथै मेधावी विद्यार्थीका लागि समय सीमा छैन।  

तुलनात्मक रूपमा ए–लेभलको पाठ्यक्रम तथा शिक्षण पद्घति विकसित स्तरको भएको ग्लोबल कलेज इन्टरनेसनल बानेश्वरका ए–लेभल कोर्डिनेटर ऋषभदेव खनालले बताए। नेपालमै ए–लेभलजस्ता विदेशी कोर्सहरू पठनपाठनको व्यवस्थाले विदेशी रकम रोकिएको र स्वदेशमै विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन भइरहेको दाबी गरे। एसइईपछि सामान्य र क्रियाशील विद्यार्थीले ए–लभल सहजै अध्ययन गर्न सक्ने जनाए।

‘ए–लेभलको पाठ्यक्रम भने हरेक दुई–दुई वर्षमा परिवर्तन हुन्छ,’ कोर्डिनेटर खनालले भने, ‘सैद्घान्तिक भन्दा पनि व्यावहारिक ज्ञान बढी हुने भएकाले काम गर्न सजिलो हुन्छ।’ उनले थपे, ‘क्याम्ब्रिज विश्वविद्यालयको सहयोगमा नेपालस्थित ब्रिटिस काउन्सिलको सहकार्यमा विश्वविद्यालयको परीक्षा शाखाका विज्ञले २–२ वर्षमा तालिम दिने व्यवस्थाले यो कोर्स थप आकर्षक बनेको छ।’  

चेल्सी इन्टरनेसनल एकेडमीका निर्देशक झाका अनुसार ए–लेभल पढेका नेपाली विद्यार्थीले विश्व बजारमा अन्य विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन्। धेरै विद्यार्थीले छात्रवृत्ति पाएर बाहिर गएका छन्। ए–लेभलपछि नेपालमै उच्च शिक्षा अघि बढाउन चाहेमा पनि यसको माध्यमिक शिक्षा बराबर मान्यता हुने उनको भनाइ छ।

ए–लेभलको परीक्षा प्रणाली लचक र सजिलो छ। परीक्षामा राम्रो ग्रेड ल्याउन नसकिए पुनः परीक्षा दिन सकिन्छ। यदि कुनै विद्यार्थीले ए–लेभल र एटु लेभलको तयारी एकै वर्षमा गर्‍यो भने पनि एकैचोटि परीक्षा दिन मिल्छ। हाल नेपालमा ए–लेभल अध्ययन गर्ने करिब ३ हजार विद्यार्थी छन्। ए–लेभल पढाउने कलेजको अनुगमन, परीक्षा सञ्चालन र मूल्यांकन काउन्सिलले गर्दै आएको छ। ए–लेभलको पाठ्यक्रम निर्माण तथा मूल्यांकन क्याम्ब्रिज विश्वविद्यालयले गर्दै आएको छ। 

प्रकाशित: १९ श्रावण २०७९ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App