२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

खस्कियो एसइई नतिजा

एसइई नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अधिकारी। तस्बिर: रासस

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खस्केको छ। कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ९ देखि २० सम्म सञ्चालन गरेको परीक्षाको बुधबार सार्वजनिक नजिताअनुसार २०७५ सालको तुलनामा २०७८ को नतिजा कमजोर देखिएको हो।  

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले कोरोना कहरले बालबालिकाको सिकाइ प्रभावकारी नभएको बताउँदै अनलाइन कक्षासमेत प्रभावकारी नभएका कारण यसपालि नतिजा खस्केको दाबी गरे। ‘कोरोना कहर २०७८ मा पनि कायमै थियो। तीन महिना मात्र भौतिक उपस्थितिमा कक्षा चल्यो। दूरदराजमा अनलाइन कक्षा प्रभावकारी भएन। विश्वनिकेतनमा पनि अनलाइनमा विद्यार्थीको उपस्थित ३० प्रतिशतभन्दा बढी भएन,’ प्रधानाध्यापक कँडेलले भने, ‘पाठ्यक्रमअनुसार अध्ययन पूरा भएन। उनीहरूले प्रशस्त अभ्यास गर्न पाएनन्।’

२०७५ सालमा ३.६ देखि ४.० जिपिए ल्याउने कुल परीक्षार्थी ३.८३ प्रतिशत थिए तर यसपालि भने यो ग्रेड ल्याउने विद्यार्थी जम्मा १.९४ प्रतिशत छन्। त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थी २०७५ सालमा ११.१३ प्रतिशत रहेकोमा यसपटक ८.४ प्रतिशत मात्र छन्। यसभन्दा तलको जिपिए ल्याउने परीक्षार्थी भने २०७५ सालमा भन्दा यसपालि बढी छन्। २.८ देखि ३.२ जिपिए ल्याउने परीक्षार्थी २०७५ सालमा १३.८८ प्रतिशत रहेकोमा २०७८ मा १४.१० प्रतिशत छन्। २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थी २०७५ सालमा १६.६४ प्रतिशत रहेकोमा २०७८ सालमा १८.३१ प्रतिशत छन्। २ देखि २.४ जिपिए ल्याउने २०७५ सालमा २१.३८ प्रतिशत र २०७८ सालमा २२.७४ प्रतिशत रहेको बोर्डले जनाएको छ। २०७८ को एसइईमा ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थी सहभागी थिए।

कोरोना कहरका कारण २०७६ र २०७७ सालमा विद्यालयहरूले आन्तरिक रूपमै मूल्यांकन गरी उपलब्ध गराएको नतिजालाई बोर्डले प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको थियो। त्यही भएर यहाँ बोर्डले सञ्चालन गरेको नतिजा मात्र तुलना गरिएको छ। २०७५ सालमा बोर्डले एसइई सञ्चालन गरेको परीक्षाको नतिजा र २०७८ सालमा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजा तुलनात्मक रूपमा अध्ययन गर्दा समग्रमा विद्यार्थीको सिकाइ स्तर खस्केको प्रस्ट भएको छ।

बोर्डले सार्वजनिक गरेको नतिजामा जिपिए ३.६–४ अर्थात् ९० भन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ छ। यो कुल परीक्षार्र्थीको १.९४ प्रतिशत मात्र हो। उच्च ग्रेडमा विद्यार्थी घट्दै गएको र कम ग्रेडमा उत्तीर्ण विद्यार्थी बढ्दै गएको देखिएको छ। प्रकाशित नतिजाले छात्रा पनि कमजोर रहेको देखाएको छ। यो ग्रेडमा छात्राहरूको संख्या ४ हजार ५ सय ३२ छ भने छात्रको संख्या ५ हजार २ सय ८१ छ। जबकि २०७५ सालमा जिपिए ३.६–४.० जिपिए ल्याउने कुल विद्यार्थी १७ हजार ५ सय ८० थिए। त्यसबेला पनि छात्रा कमजोर नै थिए। त्यसबेला छात्राको संख्या ७ हजार ५ सय १३ र छात्र संख्या १० हजार ६७ थियो। समग्रमा यसपटक २०७५ सालको नतिजाभन्दा जिपिए ३.६–४.० ल्याउने विद्यार्थी १.८८ प्रतिशतले घटेका छन्।

यसैगरी यसपटक जिपिए ३.२–३.६ (८०–९० अंक) प्राप्त गर्ने विद्यार्थी ८.४० प्रतिशत छन् भने २०७५ सालमा यो संख्या ११.१३ प्रतिशत थिए। यो समूहमा पनि २०७५ सालको तुलनामा यसपटक २.७४ प्रतिशतले कमी आएको छ। यो समूहमा पनि छात्रा नै कमजोर देखिएका छन्।

राम्रो ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीको संख्या घट्दै गएको छ। कमजोर सिकाइ स्तर भएका विद्यार्थीको संख्या तुलनात्मक रूपमा बढ्दै गएको छ। कुल परीक्षार्थीमध्ये जिपिए २.०–२.४ अर्थात् ५० देखि ६० नम्बरभित्र अंक प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी अर्थात् १ लाख १२ हजार ७ सय ३३ छ। यो कुल परीक्षार्थीको २२.७४ प्रतिशत हो।

२०७५ सालको एसइईमा पनि यही समूहका विद्यार्थी बढी थिए। २०७५ सालमा यो समूहमा ९८ हजार २ सय ७ जना थिए। जुन प्रतिशतमा २१.३८ प्रतिशत थियो। तीन वर्षको तुलनामा कमजोर समूहका विद्यार्थी झनै बढेको प्रस्ट भएको छ। तीन वर्षको समयावधिमा ५० देखि ६० भित्र अंक ल्याउने विद्यार्थीको दर १.३६ प्रतिशतले बढेको छ। २०७८ सालमा जिपिए २.४–२.८ (६०–७० अंकभित्र) प्राप्त गर्ने विद्यार्थी १८.३१ प्रतिशत छन्। यो जिपिए समूहमा २०७५ सालमा १६.६७ प्रतिशत थिए। यसैगरी जिपिए २.८–३.२ (७०–८० अंक) प्राप्त गर्ने विद्यार्थी यसपटक १४.१० प्रतिशत छन्। २०७५ मा यो प्रतिशत १३.८८ थियो। यसपटक यो समूहका विद्यार्थी ०.२२ प्रतिशतले बढेका छन्। अर्थात् राम्रा ग्रेडमा वृद्धिदर पनि निकै न्यून देखिएको छ।

बोर्डका सदस्य सचिव दुर्गा अर्यालले नतिजा सन्तोषजनक रहेको बताएका छन्। उनले बोर्ड परिसरमा एसइई नतिजा २०७८ सार्वजनिक गर्दै २०७५ सालको एसइईको तुलनामा यसपटकको नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया दिएका हुन्। ‘२०७६ र २०७७ सालमा विद्यालयको आन्तरिका मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरी एसइई नतिजा प्रकाशन गरेको थियो,’ अर्यालले भने, ‘२०७८ सालको एसइई परीक्षा पनि कोरोना कहरबीचमै सञ्चालन भयो। विद्यार्थी त्रासमै थिए। विद्यार्थीको पठनपाठन पूरा नभए पनि प्रश्नपत्र पहिलेकै जस्तै थियो। यस्तो अवस्थामा नतिजा सन्तोषजनक मान्न सकिन्छ।’

वाग्मतीमा उत्कृष्ट

यसपटकको नतिजामा वाग्मती प्रदेशका विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गरेका छन्। यो प्रदेशका विद्यार्थी जिपिए ३.६–४ ल्याउने अन्य प्रदेशका भन्दा बढी छन्। यो प्रदेशका ४७.७७ प्रतिशत विद्यार्थीले जिपिए ३.६–४ प्राप्त गरेका छन्। सबैभन्दा कमजोर नतिजा ल्याउनेमा कर्णाली प्रदेशका विद्यार्थी छन्। कर्णाली प्रदेशबाट जिपिए ३.६–४ ल्याउने विद्यार्थी १.१८ प्रतिशत छन्। यसैगरी मधेस प्रदेश प्रदेशका १५.८९ प्रतिशत, प्रदेश १ का १२.३२, गण्डकी प्रदेशका ८.१३ प्रतिशत, लुम्बिनी प्रदेशका १२.६६ प्रतिशत र सुदूरपश्चिम प्रदेशका २.०२ प्रतिशत विद्यार्थीले जिपिए ३.६–४ प्राप्त गरेका छन्।  

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले वाग्मती प्रदेशमा सहरी क्षेत्र बढी रहेको, विद्यालय र विद्यार्थी पनि सेवासुविधायुक्त भएकाले नतिजा राम्रो आएको बताए। ‘काठमाडौंका ३६ हजार परीक्षार्थी थिए। सुगम भएका कारण अनलाइन पहुँचमा रहेको र विद्यालय व्यवस्थापनसमेत चुस्त देखियो। जसका कारण वाग्मती प्रदेशको नतिजा समग्रमा राम्रो छ,’ नियन्त्रक रायमाझीले भने, ‘तर समग्र नतिजामा विद्यार्थीको सिकाइ स्तर कमजोर नै देखियो। अब सरकारले विद्यार्थीको पाठ्यक्रममा सुधार गर्नुपर्ने, नयाँ पाठ्यक्रमअनुसार शिक्षक तालिम व्यवस्था गर्नुपर्ने र विद्यालयमा कक्षा नियमित गर्नुपर्नेमा जोड दिनुपर्छ। अनि मात्र विद्यार्थीको सिकाइ स्तरमा सुधार आउन सक्छ।’

प्रकाशित: १२ श्रावण २०७९ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App