२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

चिट चोर्न नदिएको भन्दै विद्यार्थीले कुटे शिक्षक

काठमाडौंको रत्नराज्य बहुमुखी क्याम्पसमा विद्यार्थीले आन्तरिक परीक्षामा चिट चोर्न नदिएको भन्दै निर्मम तरिकाले आफ्नै शिक्षक कुटेका छन्।

कलेज प्रमुख जीवनधर ज्ञवालीका अनुसार मंगलबार मानविकी संकायअन्तर्गतका समाजिक कार्य विषयको प्रथम वर्षको आन्तरिक परीक्षा सञ्चालन भइरहेको समयमा चिट चोर्न नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले परीक्षा निरीक्षक प्रकाश पुडासैनीमाथि संघातिक हमाला गरेका हुन्।

गत वर्षको ०७७ असोज ११ गतते त्रिभुवन विश्वविद्यालय परिसरभित्रै समाजशास्त्र विभागमा पदाधिकारी नियुत्तिको विषयलाई लिएर सोही विभागका उप्राध्यापक डा. प्रेम चलाउनेलाई विद्यार्थीले सांघातिक आक्रमण गरि मरणासन्न हुने अवस्थामा पुर्‍याएका थिए। उपप्राध्यापक चलाउनेको टाउको फुटेको, हात भाँचिएको तथा शरीरका अन्य अंगसमेत चोट लागेर महिनाैँ दिनसम्म अस्पतालमा उपचार गराउनु परेको थियो। डा.चलाउनेलाई विश्वविद्यालयकै केही विद्यार्थीको समूहले रड र भाटाले निर्मम कुटपिट गरी हात, खुटा भाँचिदिएका थिए।  

यी प्रतिनिधि छटना मात्रै हुन्। केही समययता विद्यार्थीले विभिन्न वाहनमा शिक्षकमाथि कुटपिट गर्ने क्रम बढ्दो छ। राजनीतिक आड र शक्तिको भरमा विनामेहनत राम्रो अंक पाउनका लागि होस् वा राजनीतिक मनमुटावका कारण शिक्षकहरू बेलाबेलामा कुटिँदै आएका छन्।

०७५ सालतिर त्रिभुवन विश्वविद्यालयकै आंगिक कलेज त्रिचन्द्र कलेजका तत्कालीन प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विभिन्न निहुँमा कुटपिट गरी विद्यार्थीले घाइते बनाएका थिए। प्रमुख न्यौपापनेले पनि महिनौ दिनसम्म अस्पतालमा उपचार गराउनुपरेको थियो।

आरआर कलेज प्रमुख ज्ञवालीले आपराधिक मानसिकताले साथ विद्यार्थीले शिक्षक कुटेर निन्दनीय घटना कलेज भित्र घटेकोमा दुःख प्रकट गरे। ज्ञवालीले स्कुल, कलेज तथा विश्वविद्यालयलाई सरकारले नै डेढ दशकअघि शान्ति क्षेत्र घोषणा नै गरेको भए पनि विभिन्न राजनीति दलको आड लिएर शिक्षालयमा अप्रिय घटना शृंखलावद्ध रूपमै घट्दै जानु निन्दनीय कार्य भएको प्रतिक्रिया दिए।

पुडासैनी परीक्षा सकेर विद्यार्थी कल्याण प्रमुख देवी घिमिरेको कार्यकक्षमा छलफलका लागि आएको र त्यही कोठामा विद्यार्थी जेठाराले उनीमाथि पानीखाने जगले टाउकोमा प्रहार गरी घाइते बनाएको प्रमुख ज्ञवालीले जनाए।

‘प्रकाश सर हाम्रो विश्वविद्यालयकै उत्कृष्ट शिक्षकमध्ये हुनुहुन्छ। वाहाँ गोल्ड मेडलिस्ट र विद्यार्थीमाझ प्रिय पनि हो। मंगलबार समाजिक कार्यको आन्तरिक परीक्षामा वहाँ निरीक्षक हुनुहुन्थ्यो,’ कलेज प्रमुख ज्ञवालीले भने, ‘परीक्षासँग असम्बन्धित विद्यार्थी जेठाराले आफूले चाहेको विद्यार्थीलाई चिट चोराउन खोज्दा पुडासैनी सरले काराबाही गर्नुभयो। विद्यार्थी जेठारा पत्रकारिता विषयका दोस्रो वर्षका विद्यार्थी हुन्।’

कहिले विश्वविद्यालयको उपकुलपतिलाई कालो मोसो दल्ने त कहिले विभिन्न निकायमा दलको मान्छे नियुक्ति गरिनुपर्ने भन्दै आफैँले पढाएका शिक्षकलाई मरणासन्न हुनेगरी कुटपिट गर्नु जस्ता विकृति त्रिविमा बढ्दै गएको छन्।

प्रत्यक्षदर्शी रत्नराज्यका उपप्राध्यापक जगत नेपालले विश्वविद्यालय तथा आंगिक कलेजभित्र बढ्दै गएका यस्ता आपराधिक घटनाले विश्वविद्यालयका शिक्षक त्रासित बन्दै गएको प्रतिक्रिया दिए। उनले यस्ता अमानवीय घटना अविलम्ब रोकिनु पर्ने र शिक्षकलाई सुरक्षित वातावरणमा अध्यापन गर्ने/गराउने वातावरण विश्वविद्यालयले प्रत्याभूति गर्नुपर्नेमा जोड दिए। ‘विद्यार्थीले आफ्नै गुरुलाई कुट्नु निन्दनीय र अमानवीय घटना हो,’ उप्राध्यापक नेपालले भने, ‘म आफैं देवी सरको कार्यकक्षमा उपस्थित थिए।

विद्यार्थी र शिक्षकबीच छलफल भइरहेकै थियो। त्यहीबीच विद्यार्थीले एक्कासि पानीको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गर्दा वातावरण नै त्रासित बन्यो।’ त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष बसन्त ढकालका अनुसार विभिन्न निहुँमा विद्यार्थीले त्रिविका शिक्षक कुट्ने शृंखला बढ्दै जानु त्रिविमा आपराधिक क्रियाकलाप बढाएर अराजकता बढाउनु हो, जुन त्रिविको हितमा छैन।

‘असुरक्षित वातावरणमा पढाउन सकिँदैन’

विद्यार्थीले शिक्षक कुटेपछि रत्नराज्य कलेज त्रासपूर्ण बनेको छ। कलेजका शिक्षकहरूले असुरक्षित वातावरणमा पठापनठन गराउन नसक्ने भन्दै कलेज प्रमुख ज्ञवालीलाई विज्ञप्ति बुझाएका छन्।

नेपाल प्रगतिशील प्राध्यापक संघका अध्यक्ष विनोद मञ्जन, प्रजान्त्रवादी प्राध्यापक संघका सचिव रवीन्द्र न्यौपाने र रत्नराज्य क्याम्पस प्राध्यापक संघका कोषध्यक्ष पदमकुमार अधिकारीको संयुक्त विज्ञप्तिमा पुडासैनीमाथि भएको हमलामा दोषीलाई कडा कारबाहीको माग गरिएको छ। ‘शैक्षिकस्थलमा प्राध्यापक नै असुरक्षित हुने अवस्था रहेसम्म र अक्रमणकारीलाई कडा कारबाही नभएसम्म कलेजभित्र अध्यापन गराउन सकिँदैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘केन्द्रले शिक्षामैत्री वातावरण निर्माण गर्न र घाइते प्राध्यापकको उपचार गर्न लागि जोडदार माग गर्दछौं।’

प्रकाशित: ७ पुस २०७८ ०१:२५ बुधबार

रत्नराज्य बहुमुखी क्याम्पस चिट चोर्न नदिएको भन्दै परीक्षा निरीक्षक प्रकाश पुडासैनी संघातिक हमाला