५ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

शिक्षा पत्रकार समूहको २२ औं साधारणसभा, शैक्षिक सुधारका लागि पैरवी गर्ने निर्णय

शिक्षा पत्रकार समूहको २२औं केन्द्रीय साधारणसभा सम्पन्न भएको छ। सभाले शिक्षा बिट पत्रकारिताको प्रवद्र्धन, शैक्षिक मुद्दाकेन्द्रीत बहस अन्तरक्रिया, गुणस्तरीय शिक्षालगायत क्षेत्रमा अनुसन्धान र शिक्षासम्बन्धी पुस्तक प्रकाशन गरी शैक्षिक सुधारका लागि पैरवी गर्ने निर्णय गरेको छ।  

शिक्षा पत्रकार समूहले बितेका दुई दशकमा उठाएका शैक्षिक सवाल, टुंगो लागेका र नलागेका मुद्दाबारे एउटा पुस्तक प्रकाशन गर्ने र शिक्षा क्षेत्रका विविध पक्षमा खोज अनुसन्धान तथा गहन रिपोर्टिङको कार्ययोजना पनि साधारणसभाले पारित गरेको छ।  

कोभिडका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्ने स्थिति नरहेकाले समूहले गत वर्षदेखि आफ्ना गतिविधि, अन्र्तक्रिया र कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्दैआएको छ। गत वर्ष समूहले शैक्षिक मुद्दामा खोजमूलक रिपोर्टिङ गर्ने ३३ शिक्षा पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको थियो।  

समूहले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) र हिमालय टेलिभिजनसँगको  साझेदारीमा ‘बहसमा शिक्षा’ टेलिभिजन कार्यक्रम नियमित प्रसारण गर्दै आएको छ। तीन महिनामा १३ अंक प्रसारण हुँदा यो कार्यक्रममार्फत् शिक्षा क्षेत्रका ३४ सरोकारवालासँग अन्तरक्रिया भईसकेका छन्। त्यस्तै, राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा ‘सामुदायिक विद्यालयको सबलीकरणका निम्ति सबल विद्यालयहरुको अभ्यास अध्ययन’ गरिएको थियो।

गत वर्षदेखि प्रादेशिक संरचनामा गएको शिक्षा पत्रकार समूहले प्रदेशस्तरमा पनि आफ्ना गतिविधि संचालन गर्दैआएको छ। कर्णाली प्रदेश समन्वय समितिले स्थानीय तहस्तरमा शैक्षिक मुद्दाबारे अन्तरक्रिया गर्दै आएको छ। त्यस्तै, अन्य प्रदेश समितिले पनि गतिविधि संचालन गरिरहेका छन्।  

आकस्मिक कारणले अध्यक्ष तुला अधिकारी बाहिर रहेकाले कार्यवाहक अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभामा पूर्वअध्यक्षहरु राजन शर्मा, हरि थापा, सुदर्शन घिमिरे, नारायण अमृतले वर्तमान शैक्षिक मुद्दा, नेपालको शिक्षा पत्रकारिता र शिक्षा पत्रकार समूहको भावी दिशाबारे आफ्नो धारणा राखेका थिए। कर्णाली प्रदेश संयोजक कलेन्द्र सेजुवाल र सुदूरपश्चिम प्रदेश संयोजक शिवराज भट्टले अब प्रदेशमा पनि शैक्षिक बहस सिर्जना गरिने बताए।  

सभामा महासचिव जनक नेपालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ममता थापाले पेस गरेको आर्थिक प्रतिवेदन साधारण सभाले सुझावसहित पारित गरेको छ।  

गत वर्षदेखि शिक्षा पत्रकार समूहको सांगठनिक क्यालेन्डर असोज ५ मा साधारणसभा र ५ फागुनमा स्थापना दिवस मनाउने गरी तय भएको छ। कोभिड १९ को प्रतिकूल कारणले भौतिक उपस्थिति कम गर्दै भर्चुअल माध्यमबाट २२औं साधारणसभा सम्पन्न गरिएको हो।

प्रकाशित: ६ आश्विन २०७८ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App