२१ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

परीक्षा ढिलाईले विद्यार्थीमाथि आर्थिक बोझ, अवसरहरु टाढिँदै

सुरक्षा मापदण्ड अपनाएर सुरु गरः अभिभावक

सरकारले कोरोना महामारी उच्च जोखिम बढ्दै गएको कारण देखाउँदै कक्षा १२को परीक्षा अन्तिम समयमा स्थगित गरेपछि विद्यार्थीहरुमाथि आर्थिक बोझ थपिएको छ। भने  तीन लाख ७५ हजार विद्यार्थीहरु विभिन्न अवसरबाट टाढा हुँदै गएको गुनासो गरेका छन्। साउन ३१ गतेदेखि हुनु पर्ने परीक्षा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना कहरबीच परीक्षा गर्न नसक्ने सिसिएमसीमा सिफारिस गरेपछि परीक्षा स्थगित भएको हो। 

कैलालीका भेषराज उपाध्याय कक्षा १२का विज्ञान विषयका विद्यार्थी हुन्। उनी दुइ वर्षअघि घरबाट काठमाडौं अध्यन गर्न आउँदा आमाबुवासँग दुई वर्षकोलागि पुग्ने रकम तथा रासनपानी अड्कल गरेर आएका थिए। उनी त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका विद्यार्थी हुन्। परीक्षा स्थगित भएसँगै उनलाई हाल आर्थिक समस्या परेको त छदै छ साथै मानसिक तनाव पनि छ। निम्न आर्थिक अवस्था भएका कारण उनी बुवा आमासँग थप रकम माग्न सक्ने अवस्थामा समेत नहरेको बताउँछन्।

‘मेरो बुवाआमा गाउँमा समान्य खेती किसानी गर्नुहुन्छ। कक्षा १२ को परीक्षा स्थगितले ममाथि घरभाडा, थप रासन पानीलगाएतका खर्च थपिएको छ,’ भेषराजले नागरिकसँग पिडा पोखे ‘कहाँबाट खर्च जुटाउनु मैले? सरकारले विद्यार्थीको होइन नेताहरुको स्वार्थकोलागि परीक्षा स्थगित गरेको हो। ’ उनी थप्छन् ‘परीक्षामा भएको अन्योलका कारण मैले मेडिकलको समेत तयारी गर्न सकिरहेको छैन।  विभिन्न छात्राबृत्तिका अवसरहरु टाढीँदैछन्।  सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छिटो परीक्षा संचालन गरेर हामीलाई उच्च शिक्षाकोलागि बाटो खोल्नु पर्छ।’

वैशाखमै हुनु पर्ने परीक्षा साउन अन्तिममा हुने तय भएपनि स्थगित भएकोमा चिन्तित बनेकी छिन् एलिसा थापा। एलिसा कक्षा १२ को लागि पुरै तयारी गरिसकेकि थिइन्। उनले आफुले परीक्षाकोलागि लामो समयदेखि तयारी गरे पनि अन्तिम समयमा परीक्षा स्थगनको सरकारी निर्णयका कारण मनसिक तनावमा पुगेको अनुभव सुनाइन्।  

‘अब त हाम्रो एक वर्ष नै खेर जाने देखियो, ’एलिसाले गुनासो गरिन् ‘कोभिड कहिले सिधिने हो त्यो नै थाह छैन।  सरकारले कोभिडसँगै समय अनुसार व्यवस्थापन गरेर हिड्नु पर्छ। ’उनी थप्छिन् ‘त्रिविको सबै परीक्षा भइरहेछ। हाम्रो मात्र किन रोकिएको।  के १२ कक्षाका विद्यार्थीीलाई मात्र कोरोना हुने हो र ? ’उनका अनुसार परीक्षा स्थगनले उनको परिवारमा समेत आर्थिक र मानसिक तनाव सृजना भएको छ।

एलिसाकी आमा कमला थापाले सरकारले परीक्षा रोकेर अभिभाव र विद्यार्थीलाई आर्थिक र मानसिक तनाव दिएको छ।  उनले विद्यालयहरुले सबै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा संचालन गर्ने तयारी गरेको अवस्थामा समेत परीक्षा स्थगनले सरकारको विद्यार्थी प्रति गैर जिम्मेवारीपन देखिएकोमा आक्रोस पोखिन्।

‘असन, इन्द्रचोक, मल तथा दलका नेताहरुले सभासम्मेलन, आन्दोलन गर्दा कोरोना सर्दैन तर कक्षा १२ को मात्र परीक्षा भयो भने कोरोना सर्ने सरकारी तर्कनै गलत छ,’ कमला थापाको गुनासो छ ‘सरकारले कि सबै क्षेत्र बन्द गर्नु पर्यो। नत्र परीक्षा छिटै सन्चालन गरेर विद्यार्थीको परीक्षाको अन्योल दूर गर्नु पर्यो।’ उनी थप्छिन् ‘स्कुलहरुले होम सेन्टरमा परीक्षा संचालन गर्ने सबै स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाएकै छन्। हामी अभिभावक पनि तयार छौं।’

बनस्थलीमा रहेको समृद्धि माविकी छात्रा सुस्मा विक  परीक्षा स्थगनका कारण परिवारै आर्थिक र मानसिक तनावमा परेको बताइन्।  उनकी आमा विष्णु विकका अनुसार परीक्षाकोलागि सुस्माले रातदिन तयारी गरेकि थिइन्।  तर परीक्षा स्थगनको सूचनासाथै उनी निरास बनिन्। ‘केहि दिन त परीक्षाको अन्योलका कारण छोरी विरामीनै भइन्,’ बिष्णुले छोरीको मनोदसा सुनाइन्‘ परीक्षा सम्पन्न भएको भए छोरीले उच्च शिक्षाकोलागि तयारी गर्ने योजना बनाएकी थिइन्। स्वदेशी तथा विदेशी विश्वविद्यालयहरुमा उच्च शिक्षाकोलागि विभिन्न तयारी गर्नु पर्ने परीक्षाको अन्योलका कारण सबै रोकियो। ’सरकारले विद्यार्थी र शिक्षककोलागि खोपको ब्यवस्था गरेर भए पनि परीक्षा संचालन. गर्नु पर्ने पउनको माग छ।

अर्कोतर्फ परीक्षा संचालन गर्न तोकीएका चार हजार तीन सय ३५ परीक्षा केन्द्रहरुनै आफूहरु स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाएर परीक्षा संचालन गर्न तयार रहेको जनाएका छन्। होम सेन्टरबाट सबै स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाएर परीक्षा संचालनको तयारीमा रहेका विश्वनिकेतनका प्रधानाध्यापक हेरम्मराज कँडेलले सरकारले परीक्षा स्थगन गर्नु भन्दा पनि मापदन्ड अपनाएर संचालन गर्नु राम्रो हुने सुझाएका छन्।

‘कक्षा ११ र १२  चलेका माविहरु परीक्षा संचालन गर्न सक्षम छन्,’ प्रअ कँडेलले भने ‘सरकारले विद्यार्थी र शिक्षकलाई प्राथमिकतामा राखेर खोपको ब्यवस्था गर्नु पर्छ। परीक्षा तत्काल संचालन गरेर विद्यार्थीमाथि परेको आािर्थक र मानसिक समस्या दूर गर्नु पर्छ।’

उता राष्ट्रिय परीक्षा बोर्ड भने स्वास्थ्य मन्त्रालयसँग खोपबारे छलफल भइरहेको बताएको छ।  बोर्डका सदस्य सचिव दुर्गा अर्यालले परीक्षाको अन्योल दूर गरी छिटै निकास दिन बोर्डले छलफल गरिरहेको जनाए। ‘कक्षा १२का विद्यार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय र बोर्ड पदाधिकारीवच पटकपटक छलफल भइरहेका छ,’ उनले भने ‘छिटै परीक्षा टुँगो लगाउन बोर्डले विभिन्न निकायहरुसँग समेत छलफल गरिरहेको छ।’

प्रकाशित: ४ भाद्र २०७८ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App