३ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

बैकल्पिक माध्यम नअपनाउँदा भदौंदेखि सञ्चालन गरिने त्रिविका परीक्षा अनिश्चित

त्रिभुवन विश्वविद्यालयले परीक्षाका बैकल्पिक विधि अपनाउन नसक्दा भदौंदेखि सञ्चालन गरिने भनेको परीक्षा अनिश्चित बनेको छ । जसका कारण विश्वविद्यालयका सेमेस्टर र वार्षिक प्रणाली गरी कुल ७ लाख विद्यार्थीको परीक्षा ५ महिनादेखि सञ्चालन हुन सकेको छैन । कोरोना महामारी फैलिएका देशहरूले समेत परीक्षा तथा पठनपाठनका बैकल्पिक माध्यमहरू अपनाएर अघि बढी रहेको समयमा मुलुकै जेठो र राज्यको ८० प्रतिशत उच्च शिक्षाको भार बोकेको त्रिविको शैक्षिकसत्र नै ६ महिना पछाडी धकेलिने निश्चित बनेको छ ।  

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरूले कोभिड–१९का कारण रोकिएका सबै परीक्षाहरू सञ्चालन गर्न बैकल्पिक उपायसाथै प्रारुपनै जारी गरिसकेको छ । जसमा विश्वविद्यालयहरूले कोरोना समयलाई मध्यनजर गर्दै होमसेन्टरदेखि भाइवा सम्मका परीक्षा विधि अपनाउन सक्ने र परीक्षानै गर्न नक्ने अवस्था आएमा परीक्षा गर्न नसके पनि पछिलो वर्ष वा सेमेष्टरको पठनपाठन सुचारु गर्न सक्ने प्रारुपमा ब्यवस्था गरिएको छ । अर्को तर्फ त्रिविलेनै परिक्षा सञ्चालन तथा ब्यवस्थापन गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न सुवर्ण शाक्यको संयोजकमा गठन गरेको समितिले समेत परिक्षा सञ्चालनको चार वटा मोडेल दिएको छ । जसमा पहिलो नम्बरमा भाइवा,दोस्रो मोडेलमा केस स्टडी, तेस्रो मोडेलमा अनलाइन परिक्षा र चौथो मोडेलमा भौतिक दुरी कायम गरी परीक्षा सञ्चालन गर्ने सुझाव दिएको छ ।  

चार वटा मोडेलहरू सुझाव गरिए पनि त्रिवि अन्तिम र परम्परा मोडेल अर्थात उपस्थितकै आधारमा भदौं देखि परिक्षा सञ्चालन गर्ने सूचना निकाल्यो । तर समयतालिका अझै निकालेको छैन । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सहनियन्त्रक विष्णु वाग्लेका अनुसार कार्यालयले भदों १५ गतेदेखि परिक्षाहरू सञ्चालन गर्ने सूचना प्रकाशित गरे पनि निश्चित हुन नसकेपछि परीक्षाको समयतालिका प्रकाशित नगरेको खुलाए । 

‘परीक्षा नियन्ण कार्यालयले भदौं १५ गतेदेखि सेमेस्टर तर्फका परीक्षा हुदाहुदै रोकिएकाहरूको सञ्चालन गर्ने र भदौं २४–२५ गतेदेखि रोकिएका सबै नियमित परीक्षाहरू सञ्चालन गर्ने सूचना प्रकासित गरेको थियो,’ सह नियन्त्रक बाग्लेले नागरिकसँग भने, ‘यसैगरी वार्षिक परीक्षाहरू असोजभित्र सकिने तय गरेको थियो ।’ ‘तर परीक्षा सञ्चालन गर्न असंभव भएकोले समयतालिका प्रकासित गरिएन । वार्षिक प्रणालीका धेरै विद्यार्थी भएकोले पनि बैकल्पिक माध्यम पनि संभाव भएन ।’ उनले खुलाए । सेमेस्टर प्रणालीमा थोरै विद्यार्थी भएकोले बैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनबारे डिन कार्यालयहरूले छलफल गर्दा हुने समेत उनले सुझाए । उनका अनुसार सेमेस्टर प्रणालीमा गरिब डेढ लाख मात्र परीक्षार्थीहरू रहेका छन् ।  

विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भूषालले देशभरि कोभिड–१९का संक्रमण बढ्दै गएकोकाले हालको अवस्थामा भौतिक दुरी कायम गरी समेत परीक्षा सञ्चालनको अवस्था नरहेको स्पष्ट पारे । उनले अनुदान आयोगले परीक्षा  सम्बन्धि ब्यवस्थापन गर्न उच्च शिक्षामा बैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप,२०७७ कार्यन्वयन गरे पनि विश्वविद्यालयले बैकल्पिक प्रणाली अपनाउन नसक्ने प्रष्ट्याए ।  

‘विश्वविद्यालयले गठन गरेको समितिले समेत चार विकल्प दिएको छ । तर हाम्रो विविले भाइवा,अनलाइन,केसस्टडीलगाएतका बैकल्पिक प्रणाली अपनाउन कठिन छ,’ शिक्षाध्यक्ष भूषालले नागरिकसँग भने, ‘विद्यार्थीको हितमा पनि बैकल्पिक त्यति राम्रो हुदैन । किन भने २००७ सालमा एसएलसी भएको थिएन । विद्यार्थीलाई परीक्षा विनै प्रमाणपत्र दिइएको थियो । ’उनले थपे, ‘आजसम्म विद्यार्थीले आफ्नो प्रमाणपत्र लुकाउने अवस्था छ । त्यही भएर विश्वविद्यालयले सकेसम्म परीक्षा सञ्चालन गरेरै प्रमाणपत्र दिने पक्षमा रहेको छ ।’ उनका अनुसार पनिकाले प्रश्नपत्र, उत्तरपुस्तिका लगाएतका छपाई तथा परीक्षाको तयारी सबै सम्पन्न गरेको छ। परिस्थित समान्य भएलगत्तै भौतिक दुरी कायम गरेरै त्रिविले उपस्थितीकै आधारमा परीक्षा लिने हो ।  

बैकल्पिक माध्यमबाट परीक्षा गर : विद्यार्थी  

भुगर्व शास्त्रका स्नातकोत्तर तह दोस्रो सेमेस्टरका विद्यार्थी पवन कुमार आचार्यले त्रिविले ढिला परीक्षा सञ्चालन गर्दा आफ्नो एक शैक्षिक सत्रनै खेर जाने गुनासो गरे । उनले विश्वका सबै कोभिड–१९ले संक्रमित देशहरूमा बैकल्पिक बिधिबाटै सबै परीक्षाहरू सञ्चालन भएको तर नेपाल अझै पुरानै विधिमा लागि परेकोले समस्या आएको बताए ।

उनले त्रिविका प्रध्यापकहरूले परीक्षामा पाउने भत्ताको लोभले विद्यार्थीको भविष्यने अन्धकार बनाउँदै गएको जनाए । ‘हाम्रो कोर्ष सकिएको ६ महिना भयो । हाल हामी तेस्रो सेमेस्टरको पठनपाठनमा समेत चार महिना ढिला भएका छौं,’ पवनले दुखेसो गरे, ‘तर विश्वविद्यालयलाई अनुदान आयोग र स्वयं विविले गठन गरेको समितिले समेत बैकल्पिक माध्यमको सुझाव दिए पनि त्रिविले नमानेर विद्यार्थीको भविष्य अन्योल बनेको छ ।’ ‘अनुदान अयोगलेअनलाई कक्षा सञ्चालनकोलागि ११ करोड रकम दिए पनि हाम्रो विवि भत्ताको लोभमै परीक्षलाई अड्काउनु हामी विद्यार्थीलाई मान्य हुदैन ।’ उनले थपे ।

कलेज अफ एप्लाइड साइन्सकी स्नातकोत्तर दोस्रो समेसेस्टरको विद्यार्थी प्रसम्सा भूषालले पनि परीक्षामा भएको ढिलाईका कारण विद्यार्थीहरूको भविष्य अन्योल बनेको गुनासो गरिन् । ‘हामी सेमेस्टरका विद्यार्थीले केस स्टडी, भाइवा, फिल्ड वर्क, असाइनमेन्ट, प्रस्तुति, आन्तरिक परीक्षा पटकपटक दिएकै छौं,’ प्रंसम्साले नागकिसँग भनिन्, ‘विविले त्यहीलाई आधार मानेर नम्बरीङ गर्न सक्छ । अनलाईन परीक्षा सञ्चालन गर्न सक्छ ।’ उनले थपिन्, ‘यति हुदा हुदै पनि अझै परीक्षालाई अन्योलमै राख्नु यो विद्यार्थीको भविष्यमाथिको खेलवाड हो ।’ विश्वविद्यालयले परीक्षाको गाँठो फुकाएर निकास दिनुपर्ने माग राख्दै विद्यार्थीले त्रिवि पदाधिकारीहरूलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रकाशित: २० श्रावण २०७७ १३:२४ मंगलबार

परीक्षा बैकल्पिक माध्यम