१० मंसिर २०८१ सोमबार
image/svg+xml
शिक्षा

भर्नाअघि नै अन्याेल हटाउनु जरूरी

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ। यतिखेर साढे चार लाखभन्दा बढी विद्यार्थी आफूले प्राप्त गरेको नतिजा हातमा लिएर कक्षा ११ मा कहाँ कुन विषय लिएर पढ्ने भन्दै दौडधुप गरिरहेका छन्।

कोही साथीभाइसँग विषय छनोटबारे छलफलमा व्यस्त छन् भने कोही अभिभावकका साथमा कक्षा ११ मा भर्नाका लागि रुचिअनुसारको विषय पढाउने स्कुल छनोटका लागि कुदिरहेका छन्। विगतमा प्रतिशत प्रणालीबाट नतिजा प्रकाशन हुँदा विद्यार्थीहरू बढी प्रतिशत ल्याउँदा विज्ञान नै पढ्नुपर्ने समाजिक दबाब झेल्नुपर्ने अवस्था अहिले छैन। किनभने, राष्ट्रिय परीक्षा बोर्डले अक्षरांकन पद्धतिबाट नतिजा प्रकाशन गर्न थालेपछि विद्यार्थीहरूलाई विषय छनोटमा अलि सहज भएको छ। तर यो प्रणाली लागू भएपछि विद्यार्थीहरू अध्ययनमा भने अल्छी बन्दै गएको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रिन्सिपल हेरम्बराज कँडेल बताउँछन्। उनी कक्षा १० को नतिजा हातमा लिएर विषय र स्कुल छनोटका लागि भौंतारिरहेका विद्यार्थीलाई शैक्षिक स्तरअनुसारको विषय छनोट गर्न सुझाउँछन्। उनका अनुसार पहिलाको जस्तो स्थिति नभए पनि अझै अभिभावक र विद्यार्थीबीच विषय छनोटमा हुने द्वन्द्व कायमै छ। ‘अभिभावकले अझै राम्रो ग्रेड आउनासाथ छोराछोरीलाई विज्ञान नै पढ्न दबाब दिएको मैले देखेको छु,’ कँडेल भन्छन्, ‘तर छोराछोरीलाई भने विज्ञानमा नभएर व्यवस्थापन र मानविकीमा रुचि रहेको हुन सक्छ।’ उनी थप्छन्, ‘हो, यही दोधारलाई मेटाउन विद्यार्थीहरूले कक्षा ११ मा कुन विषयमा अघि बढ्ने भनेर स्पष्ट बाटो रोज्नुपर्छ।’

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय एसोसिएसन नेपाल (हिसान) का सचिव एवं पिनाकल स्कुलका प्रिन्सिपल ऋषि तिवारी विगतमा विद्यार्थीहरूले विशिष्ट वा प्रथम श्रेणीमा नतिजा प्राप्त ग¥यो भन्दैमा अभिभावकको सामाजिक प्रतिष्ठाका लागि भए पनि विज्ञान विषय लिएर कक्षा ११ को पढाइ थाल्नेहरू धेरै भए पनि हाल सो परिस्थिति नरहेको उनको भनाइ छ। पछिल्लो समय विद्यार्थीहरू बजार मागअनुसारको व्यवस्थापन, मानविकी, कानुनलगायतमा समेत आफ्नो करिअर देखेर सोहीअनुसारको समूहमा समेत विषय छनोट गरिरहेको उनको अनुभव छ।

शैक्षिक स्तरअनुसार विषय छनोट
साढे दुई दशक शिक्षण पेसामा आबद्ध प्रिन्सिपल कँडेलले कक्षा १० को नतिजा अंक वा अक्षरांकन जुनसुकै प्रणालीमा प्रकाशित भए पनि विद्यार्थीले आफ्नो रुचि र शैक्षिक स्तरअनुसारको विषय छनोट गर्नुपर्ने उनको सुझाव छ। हाल एसइईको नतिजाले प्रत्येक विद्यार्थीको शैक्षिक स्तर छुट्ट्याइदिने उनी सुनाउँछन्।  ‘विद्यार्थीमा विषयगत नम्बरको केही मतलब छैन,’ उनी भन्छन् ‘कुल ग्रेड राम्रो गर्न चाहन्छन्।’ उनी थप्छन्, ‘विद्यार्थीले कुन विषयमा रुचि छ, त्यसअनुसारको मूल्यांकन गरी अभिभावक र शिक्षकसँग छलफल गरी कक्षा ११ मा विषय छनोट गर्दा भविष्यमा सफल हुन्छ।’

अध्ययन धारबारे पनि प्रस्ट हुनु राम्रो
नेपालमा हाल दुई धारे शिक्षा नीति सञ्चालित छ। एउटा प्राविधिक र अर्को साधारण। विद्यार्थीलाई थोरै समय खर्चेर छिट्टै करिअर बनाउने वा जागिर चाहिन्छ भने प्राविधिक धारको शिक्षा रोज्नुपर्ने हिसानका सचिव ऋषि तिवारीको बुझाइ छ। दुई दशक शिक्षण पेसामा बिताएका तिवारी भन्छन्, ‘थोरै समय खर्चेर छिटो उद्यमी वा जागिरे बन्ने हो भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कोर्सहरू लिएर अध्ययन गर्दा विद्यार्थीलाई ठीक हुन्छ।’ उनका अनुसार यदि विषय विशेषज्ञता नै हासिल गर्ने हो भने साधारणतर्फका मेडिकल, इन्जिनियरिङ, फार्मेसिस्टलगायतलाई विज्ञान संकाय नै पढ्दा राम्रो। ‘यदि विद्यार्थीलाई भविष्यमा के बन्ने निश्चित छैन भने विज्ञान समूह पढ्दा हुन्छ,’ सचिव तिवारी भन्छन्, ‘किनभने विज्ञान संकायमा कक्षा ११ र १२ पढेपछि स्नातक तहमा जुनसकुै संकायमा सहजै फिट हुन्छ।’

कान्जिरोवा नेसनल सेकेन्डरी स्कुल कोटेश्वरका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मी अचेल नेट र इन्टरनेटको जमानाले विद्यार्थीलाई निकै स्मार्ट बनाइदिएको बताउँछन्। त्यही भएर उनले विद्यार्थीले विषय छनोट गर्दा भिवष्यमा कुन क्षेत्रमा करिअर बनाउने पहिल्यै निश्चित भएर मात्र त्यहीअनुसारको विषय छान्नु उचित हुने सुझाउँछन्।

परीक्षा बोर्ड पहिल्यै निश्चित गर्दा उपयुक्त
कक्षा ११ मा नेपालमा स्वदेशी र विदेशी दुवैखाले परीक्षा बोर्डका विषयहरू पठनपाठन हुन्छ। विद्यार्थीले आफू अध्ययन गर्ने विषय निश्चित गरिसकेपछि कुन परीक्षा बोर्डको शैक्षिक प्रमाणपत्र लिने भन्ने भर्नाअगावै निश्चित हुनु राम्रो हुने हिसानका सचिव तिवारी सुझाउँछन्। कक्षा ११ र १२ को ज्ञानले नै विद्यार्थीको भविष्यको करिअर निश्चित हुने भएकाले विद्यार्थीले यो तहमा विषय छनोट गर्न निकै ध्यान पु¥याउनुपर्ने उनको ठहर छ। नेपालमा हाल राष्ट्रिय परीक्षा बोर्ड, सिटिइभिटी, भारतीय परीक्षा बोर्ड सिबिएसई, ए–लेभल तथा आइबीलगायत स्वदेशी तथा विदेशी परीक्षा बोर्डहरूका पाठ्यक्रम पठनपाठन गराइन्छ। ‘अभिभावकले आफ्ना छोराछोरीलाई विदेशमा उच्च शिक्षा हासिल गराउने मनस्थितिमा भए विदेशी परिक्षा बोर्ड कक्षा ११ देखि नै छनोट गर्नुपर्छ,’ प्रिन्सिपल कँडेलले भने, ‘यसबारे विद्यार्थी र अभिभावक आफैं स्पष्ट हुनुपर्छ।’

बजार सुहाउँदो विषय छनोट गरे सही
विगतमा आमाबुवाको सामाजिक प्रतिष्ठाका लागि बलजफ्ती विज्ञान विषय नै पढ्नुपर्ने बाध्यता हाल हटेको छ। उनका अनुसार आमाबुवा र विद्यार्थी आफंै पनि बजारको मागअनुसारको विषय छनोट गर्न सचेत भइसकेका छन्। राम्रो ग्रेड ल्याउनेहरू अचेल व्यवस्थापन कानुन र मानविकी समूहतर्फ आकर्षित भइरहेको अनुभव प्रिन्सिपल कँडेलको छ।

‘उद्यमशील हुने र व्यवसायसमेत गर्ने भएकाले अचेल राम्रा विद्यार्थीहरू व्यवस्थापन समूहमा भर्ना हुन थालेका छन्,’ उनी भन्छन्, ‘गैरसरकारी र सरकारी संस्थामा काम गर्नेले मानविकी, कानुनी पेसामा जानेहरू कानुन विषय रोज्ने क्रेज नै बढेको छ।’ प्रिन्सिपल कँडेल थप्छन्, ‘अध्ययनपछि बजारमा कुन विषयको जनशक्ति बढी माग छ, त्यही विषय नै विद्यार्थीले रोज्न थालेका छन्।’

आइसिटीको अधिकतम प्रयोग गर्ने स्कुल छनोट गरे फलदायी
सरकारले शिशुदेखि कक्षा ८ सम्मको शिक्षालाई आधारभूत र कक्षा ९–१२ सम्मलाई माध्यमिक शिक्षा भनिएको छ। कक्षा ११ र १२ मा विद्यार्थीले प्राप्त गरेको ज्ञानले नै उसको शैक्षिक भविष्य निश्चित हुन्छ। त्यही भएर विद्यार्थीले कक्षा ११ मा रुचाएको विषयअनुसारको स्कुल छनोट गर्दा सकेसम्म सूचना, सञ्चार र प्रविधिको कक्षाकोठामा पर्याप्त प्रयोग भएको स्कुल छनोट गर्नुपर्छ। ‘पुरातनभन्दा पनि नवीनतम खोज विधि र परियोजना कार्य विधिबाट कक्षाकोठामा सिकाइ गराइने स्कुल छनोट गर्दा विद्यार्थीले अध्ययन गरेको विषयवस्तु व्यवहारमा छिट्टै उतार्न सक्छन्,’ कँडेल भन्छन्, ‘हालका सबै विषयहरू सूचना तथा प्रविधिमा आधारित छन्।’

अभभावकको आर्थिक क्षमताअनुसार स्कुल छनोट
विद्यार्थीहरूले राम्रो ग्रेड प्राप्त ग¥यो भन्दैमा विचारै नगरी राम्रो पढाइ हुने विश्वास लिएर महँगो स्कुल छनोट गर्दा बीचैमा पढाइ रोक्नुपर्ने अवस्था सिर्जना हुन सक्छ। त्यही भएर विद्यार्थी तथा अभिभावकहरूले नानीहरूका लागि कक्षा ११ अध्ययन गराउन स्कुल छनोट गर्दा महँगोभन्दा पनि गुणस्तरीय शिक्षा दिने र सामाजिक प्रतिष्ठा कायम भएको स्कुल छनोट गर्नुपर्ने सुझाव प्रिन्सिपल तिवारीको छ।

भौतिक पूर्वाधार, पाठ्यक्रम र शिक्षकबारे बुझ्नु जरुरी
कान्जिरोवा इन्टरनेसनल स्कुलका कार्यकारी अध्यक्ष रेग्मी विद्यार्थी तथा अभिभावकले कक्षा ११ का लागि स्कुल छनोट गर्दा स्कुलको भौतिक पूर्वाधार कस्तो छ, स्कुलले नानीहरूको व्यक्तिगत केयर गर्छ÷गर्दैन, कोकरिकुलर कोर्स लगाएको छ÷छैन भन्नेजस्ता विषयमा राम्ररी बुझ्नुपर्ने बताउँछन्। यसैगरी स्कुलका शिक्षक र व्यवस्थापकीय पक्षको स्कुलप्रतिको लगाव अवश्य बुझ्नुपर्ने उनको ठहर छ। ‘भौतिक पूर्वाधारमा ठूला भवन, स्विमिङ पुल लगायत हेर्ने होइन, भौतिक पूर्वाधारमा विद्यार्थीले स्कुलले उपलब्ध गराएको कक्षाकोठा, ल्याब, पुस्तकालयलगायतबारे बुझ्नुपर्छ,’ अध्यक्ष रेग्मी सुझाउँछन्, ‘आफू भर्ना हुन चाहेको स्कुलबाट उत्पादित अग्रजहरूको नतिजा र उनीहरूको बजार मागसमेत बुझ्नु जरुरी छ।’

सिटिइभिटी धारमा विद्यार्थी आकर्षण
सिटिइभिटीले पनि कक्षा १० को ग्रेडिङ प्रणालीअनुसार प्राविधिक शिक्षामा भर्ना हुने विद्यार्थीका लागि समेत विभिन्न प्राविधिक कोर्समा भर्नाको आधार तोकेर भर्ना लिन थालेपछि विद्यार्थी आकर्षण बढेको छ। सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेका अनुसार अब विद्यार्थीले प्राविधिक शिक्षातर्फ पनि विषयगत दक्षताका आधारमै भर्ना हुन पाउनेछन्। उनका अनुसार परिषद्ले एसइर्ईका विद्यार्थीले प्राप्त गरेका जिपिए र विषयगत दक्षताका आधारमा भर्ना हुने व्यवस्था गरेको छ।
एसइईमा ‘डी’ र ‘ई’ ग्रेड ल्याएका विद्यार्थीले पनि अब प्राविधिक शिक्षामा पहुँच पाउने सदस्य सचिव बाग्लेले जानकारी दिए। परिषद्ले व्यवस्था गरेअनुसार प्राविधिक शिक्षातर्फ स्वास्थ्य विषय लिएर तीनवर्षे डिप्लोमा अध्ययन गर्न चाहने विद्यार्थीले एसइर्ईमा ‘सी’ ग्रेड तथा जिपिए २.० ल्याउनुपर्छ। यस्तै अनिवार्य अंग्रेजी, विज्ञान र गणितमा पनि सोही ग्रेड ल्याउनुपर्छ। परिषद्को तीनवर्षे इन्जिनियरिङ, एग्रिकल्चर, फरेस्ट्री, टुरिजम तथा अन्य विषयमा तीनवर्षे डिप्लोमा अध्ययन गर्न जिपिए २.० र अंग्रेजी, गणित र विज्ञानमा ‘सी’ ग्रेड ल्याएकै हुनुपर्छ।

‘१८ महिने टि–एसएलसी गर्न विद्यार्थीले ‘ए प्लस’देखि ‘ई’सम्मकाले अवसर पाउँछन्,’ सदस्य सचिव वाग्लेले नागरिकसँग भने, ‘तर स्वास्थ्य समूहको तीनवर्षे डिप्लोमा, इन्जिनियरिङ, फोरेस्ट्रीलगायत अन्य विषय अध्ययन गर्न औसत जिपिए २ ल्याउनैपर्छ।’ नतिजा अनुसार यस वर्ष सबैभन्दा बढी विद्यार्थी ‘सी’ ग्रेडमा परेका छन्। गत वर्षसम्म ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीलाई मात्र ग्रेडवृद्धि परीक्षाको व्यवस्था थियो। यस वर्ष भने ‘सी’, ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीलाई चित्त नबुझे ग्रेडवृद्धि गर्न पाउने व्यवस्था छ।

 

प्रकाशित: १९ असार २०७६ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App