२३ आश्विन २०८१ बुधबार
image/svg+xml
शिक्षा

शिक्षकको तलब बैंक खातामा

काठमाडौं - काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी स्कुलका शिक्षकहरुका तलब फागुनदेखि शिक्षकहरुकै निजी बैंकमा जाने प्रबन्ध मिलाएको छ। नेपाल बैंक लिमिटेडबाट चौमासिक तलब बुझ्दै आएका शिक्षकहरुले फागुन महिनादेखि मासिक रुपमा तलब बुझ्ने भएका छन्। शिक्षकहरुको तलब दुई निजी बैंकमध्ये एकमा जाने व्यवस्था मिलाइएको छ। महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले एनआइसी एसिया र प्रभु बैंकमा तलब पठाइने बताए। उनका अनुसार अब शिक्षकहरुको व्यक्तिगत खातामै तलब जानेछ।

‘विगतमा विद्यालयको खातामा चौमासिक तलब निकासा हुँदा समयमै संचय कोष, नागरिक लगानी कोष र बीमा रकम दाखिला नभएको पाइएको थियो,’ उनले भने, ‘अब त्यस्ता समस्या आउँदैनन्।’ महानगरले टेण्डर आह्वान गर्दा प्राप्त वीस प्रस्तावमध्ये प्रभु र एनआइसी एसियाको प्रस्ताव राम्रो लागेकाले ती बैंकलाई छनोट गरिएको उनले बताए। ‘महानगरले उच्च ब्याजदर, निःशुल्क बीमा, काठमाडौंमै दर्ता भएको, धेरै शाखा भएको, राष्ट्र बैंकको मापदण्डमा ‘क’ वर्गमा परेको, धेरै एटिएम भएको र स्थापनाको कम्तीमा पाँच वर्ष भएका मापदण्डका आधारमा यी बैंक छनोटमा परेका हुन्,’ उनले भने।

महानगरमा ९१ सरकारी विद्यालय छन् जसमध्ये तीन विद्यालय कारागारभित्र छन्। कारागारभित्रका विद्यालयलाई छाडेर अन्य ८८ विद्यालयको हकमा नयाँ व्यवस्था लागू हुने उनले जनाए। त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले काठमाडौं महानगरपालिकाले शिक्षकहरुको मासिक र ब्यक्तिगत खातामा तलब निकासा गर्ने ब्यवस्था प्रसंसनिय भएको बताए। उनले चौमासिकले शिक्षकहरुलाई निकै सास्ती दिएको समेत उनको भनाई छ।‘अब हामी शिक्षकहरु पनि निजामति र सेना–प्रहरी सरहनै मासिक तलब पाउँछौं। ब्यक्तित खातामा साढे ६ प्रतिशत ब्याजदरमा छुटै सहुलियत छ,’प्रअ कँडेल भन्छन्‘ चौमासिकले हामीलाई घर ब्यवहार धान्नै मुस्किल थियो।’उनले थपे ‘अब घर चलाउन ऋण काड्नु पर्दैन। ब्याज पनि राम्रो भएकोले शिक्षकको हितमै महानगरले काम गरेको छ।’ उनले स्कुलको प्रअ र विद्यालय ब्यवस्थापन समीतिको सिफारिसको आधारमा विभागले तथ्याँक अनुसार तलब निकासा गर्ने बताए।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले काठमाडौं महानगरपालिकाले महासंघको माग सम्बोधन गरेको बताए। उनले महासंघले स्थानीय स्तरमा मात्र नभएर केन्द्रमा समेत देशभरिकै शिक्षको तलब मासिक हुनु पर्ने माग राख्दै आन्दोलन र ज्ञापन पत्र समेत बुझाउँदै आएको जनाए।‘हेडमास्टरको स्वीकृति विना तलब निकासा हुदैन,’अध्यक्ष थापाले नागरिकसँग भने‘मासिक र शिक्षको ब्यक्तिगत नामको खाताले शिक्षकको जिवन सहज बनाउँछ।’उनले थपे ‘काठमाडौं महानगरपालिकाले शिक्षक महासंघको स्थानिय स्तरको माग सम्बोधन गरेर सार्वजनिक शिक्षा सुधारको काम गरेको छ।’

प्रकाशित: २ फाल्गुन २०७५ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App