८ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयको स्तरोन्नती महानगरको प्राथमिकतामा

काठमाडौं– काठमाडौं महानगरपालिका शिक्षा विभाग र सहरी योजना आयोगले संयुक्त रुपमा काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सामुदायिक शिक्षाको स्तरोन्नतीका लागि सुझाव संकलन कार्यशाला सम्पन्न गरेको छ। नयाँ बानेश्वरमा सोमवार आयोजना गरिएको कार्यशालामा शिक्षा क्षेत्रका विज्ञहरु, सामुदायिक विद्यालयका शिक्षक, शिक्षा विभाग हेर्ने सरकारी निकायका पदाधिकारीहरु, महानगरपालिकाका मेयर तथा जनप्रतिनिधिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै जुट्नुपर्नेमा जोड दिएका छन्। 

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सीमित स्रोत साधनका बाबजुत पनि सामुदायिक विद्यालयहरुले दिएको शिक्षा सन्तोषजनक भएको बताए। सरकारले अनिवार्य शिक्षाको अवधारणा अघि बढाएको भन्दै मेयर शाक्यले सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए। उनले सामुदायिक विद्यालयले अहिले भएका विद्यार्थीलाई नै योग्य र समाजमा प्रतिष्ठित बनाउनु ठूलो जिम्मेवारी भएको बताए। मेयर शाक्यले नीतिगत रुपमा के के सुुधार गर्नुपर्ने हो त्यसका लागि महानगर तयार रहेको पनि स्पष्ट पारे।

निजी क्षेत्रले खोलेका शैक्षिक संस्थालाई अंकुश लगाउनेभन्दा पनि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिनुपर्ने उनको भनाई छ। सामुदायिक विद्यालयले दिइने गुणस्तरीय शिक्षाले निजी संस्थामा अध्ययरत विद्यार्थी पनि सामुदायिक विद्यालयतिर आकर्षित हुने वातावरण सिर्जना गर्न उनले सुझाव दिए।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा बाबुराम अधिकारीले सामुदायिक विद्यालयमा शिक्षकलाई आकर्षित गराउने वातावरण सरकारले तयार गर्नुपर्नेमा जोड दिए।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शिक्षक विद्यार्थी अनुपात मिलाउनुपर्ने भन्दै शिक्षकले कक्षाकोठामा शिक्षण सामग्रीसहित अध्यापन गराउने वातावरण बन्नेबित्तिकै सिकाई प्रभावकारी हुने दाबी गरे। 
काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्यसचिव सरोज बस्नेतले सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि विद्यार्थी र शिक्षकको मनोबल उच्च राख्नुपर्ने, प्रशासनिक र भौतिक पूर्वाधार सुधार गर्नुपर्ने लगायतका कुरामा ध्यान दिन सुझाव दिए। 

वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालले उच्च ओहदाका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने बित्तिकै सामुदायिक विद्यालयको स्वतः स्तरोन्नती हुने विश्वास व्यक्त गरे। 

महानगरको शिक्षा विभागका अधिकृत मोतिप्रसाद भट्टराईले वातावरणीय पक्षको सुधार महत्वपूर्ण भएको बताए। 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत यादवप्रसाद कोइराला, शिक्षाविद्हरु डा मनप्रसाद वाग्ले, विद्यानाथ कोइरालालगायतले शैक्षिक गुणस्तर सुधार नै सामुदायिक विद्यालयको स्तरवृद्धिको पहिलो आधार हुने बताएका थिए। 

प्रकाशित: २२ आश्विन २०७५ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App