रत्ननगर – चितवनको विकट लोथरको कालिटारस्थित राष्ट्रिय आधारभूत विद्यालयका बालबालिका भेडाबाख्रा झैँ एकै ठाउँमा कोचिएर पढ्न बाध्य छन्।
राप्ती नगरपालिका–१३ स्थित उक्त विद्यालयको पुरानो भवनमा बनेको सानो कक्षाकोठामा उनीहरु यसरी एकै ठाउँमा कोचिएर पढ्न बाध्य भएका हुन् । बढीमा १० देखि १५ जनासम्म अट्ने एउटा शिशु कक्षामा ५० जना बालबालिका कोचिएर पढिरहेका छन् । उनीहरुलाई एक सहयोगी कार्यकर्ता मायाँ प्रजाले पठनपाठन गराउँदै आएका छन्।
सेक्सन छुट्याउनुपर्ने भए पनि शिक्षक र कोठा अभावले समस्या परेको विद्यालयले जनाएको छ। पुरानो भवनको भुईंमा थोत्रो कार्पेट बिच्छ्याइएको र त्यसमा चार वटा टेबल राखिएको छ। बालबालिका कार्पेटमा कोचिएर बसेका थिए भने एउटै टेबल घेरेर १२ बालबालिका कोचाकोच गरेर पढिरहेका थिए। घुँडा धसेर लहरै बसेका उनीहरुलाई चल्न चटपटाउनसमेत मुस्किल देखिन्थ्यो।
कोठाको अवस्था हेर्दा अक्सिजनसमेत पाउन मुस्किल झैँ थियो । तैपनि त्यसैमा कोचिएर बस्न बाध्य थिए बालबालिका। उनीहरुका लागि कम्तीमा दुई शिक्षक हुनुपर्नेमा एक सहयोगी कार्यकर्ताले काम चलाइरहेका छन्। स्कुलका प्रधानाध्यापक दीपककुमार श्रेष्ठ कक्षा कोठा र डेस्क बेच्नको अभावका कारण सहज रुपमा पठनपाठन गराउन नसकिएको स्वीकार्छन् ।
अघिलो वर्ष त्यही शिशु कक्षामा १९ बालबालिका थिए । पठनपाठन केही सहज थियो तर यो वर्ष भने विद्यार्थी बढेकाले समस्या परेको हो । बालबालिकालाई घरदैलो गरेर ल्याएकाले अहिले शिशु कक्षादेखि ३ सम्म १६२ विद्यार्थी पुगेको प्रअ श्रेष्ठ बताउँछन्। एक देखि ३ सम्म मात्रै ११२ बालबालिका पढ्छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्य कक्षामा समेत विद्यार्थी बढेका छन् । आर्थिक अभावका कारण बन्दै गरेको नयाँ भवनले पूर्णता पाउन सकेको छैन। त्यसैले कसैले सहयोग गरिदिए विद्यार्थीको पठनपाठन सहज गराउनु हुन्थ्यो भन्छन प्रअ श्रेष्ठ । पर्याप्त डेस्क, बेच्न नहुँदा अन्य कक्षामा समेत विद्यार्थी सकस गरेर पठनपाठन गर्दै आएका छन्।
विद्यालयले कक्षा ४ सञ्चालन गर्ने तयारी गरिरहेको छ तर विद्यालयमा कक्षा, कोठा, डेस्क, बेच्नसहित पढाउने शिक्षकको समेत अभाव रहेको शिक्षक चित्रबहादुर श्रेष्ठ बताउँछन्। नियमावलीमा उल्लेख भएअनुसार १२० भन्दा बढी विद्यार्थी भएको स्कूलमा चार शिक्षक आवश्यक हुन्छ तर उक्त स्कूलमा राहतका दुई शिक्षकले मात्र पढाउँदै आएका छन्। २० जनाभन्दा माथि विद्यार्थी भएको शिशु कक्षामा दुई जना सहयोगी कार्यकर्ता राख्नुपर्ने नियमावलीमा भए पनि राख्न नसकिएको प्रअ दीपक श्रेष्ठ बताउँछन्। दरबन्दीका शिक्षकसमेत शिक्षा कार्यालयले दिन नसक्दा समस्यामा परेको उनको भनाइ छ।
जिल्ला शिक्षा अधिकारी मनोज गैरे विकट क्षेत्रमा बालबालिका नभएर एकीकृत गर्नुपर्ने अवस्था आएका बेला यति धेरै विद्यार्थी भएको विद्यालय भर्खर सुनेको भन्दै बुझेर यस विषयमा आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिन्छन।
राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल र वडा नं १३ का वडाध्यक्ष सूर्य चेपाङलाई उक्त विद्यालयले आफ्नो समस्या जाहेर गरेको छ । वडाध्यक्ष चेपाङ भन्छन, “अधिकांश चेपाङका छोराछोरी पढ्ने स्कूलमा निजी स्रोतबाट शिक्षक पनि राख्न सकिन्न, सरकारले पनि शिक्षक दिएको छैन, कसरी हुनु प्रभावकारी शिक्षा।”
नगर प्रमुख प्रभा बराल अब नगरपालिकाले आवासीय रुपमा चेपाङलाई राखेर पढाउने योजना बनाएको भन्दै शिक्षा नै विकासको पहिलो आधार भएकाले यस्मा नगरपालिकाले ध्यान दिएको बताउँछन्। चितवनको विकट क्षेत्रमा चेपाङ समुदायको बसोबास छ । उनीहरु ६ महिना अनिकाल र छ महिना सहकालमा जीवन बिताउँछन्। अन्नको अभावमा बालबालिकालाई स्कूल जान समस्या पर्छ।
जिल्ला शिक्षा कार्यालयले साक्षरता प्रतिशत ९९ दशमलब ५० रहेको दाबी गरे पनि चेपाङगाउँमा भने विद्यालय बीचैमा छाड्ने बालबालिकाको संख्या भने बढ्दो छ। स्कूलको पहुँचमा नपुग्ने बालबालिकासमेत विकट क्षेत्रमा भेटिन्छन्। नारायण ढुङ्गाना / रासस
प्रकाशित: १७ वैशाख २०७५ ०७:५३ सोमबार