१२ पुस २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिवि प्राध्यापक बिदा दुरुपयोगबारे अध्ययन गर्दै संसदीय समिति

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकबाट अध्ययन बिदामा भइरहेको दुरूपयोगबारे अध्ययन गर्ने भएको छ।

समितिको सोमबार बसेको बैठकले कति प्राध्यापक अध्ययनका लागि मुलुक बाहिर गएका छन् र कति प्राध्यापक बिदा लिएर फर्किएका छैनन् त्यसको विवरण त्रिविसँग माग्ने निर्णय गरेको छ। समितिले मंगलबार यस व्यहोराको पत्र त्रिविलाई पठाउने भएको छ। यसबाट आएको विवरण हेरेर त्रिविका पदाधिकारीलाई बोलाएर छलफल गर्ने समितिको तयारी छ।

समितिका सभापति अम्बरबहादुर थापाले भने, ‘अध्ययन बिदामा गएका त्रिविका प्राध्यापक नफर्किएको गुनासो आएपछि पहिला समितिले प्राध्यापकहरू कुन–कुन मुलुकमा अध्ययनका लागि गएका छन्, नफर्केका कति छन् त्यसबारे विवरण माग गर्ने बताए। ‘राज्यको सेवा सुविधा खाएर नफर्कने प्राध्यापकबारे त्रिविबाट विवरण उपलब्ध भएपछि अनुसन्धान गरेर आवश्यक कारबाहीका लागि निर्देशन दिने सभापति थापाले बताए।

त्रिविका प्राध्यापकले पाँच वर्ष अध्ययन बिदा पाउँछन्। बिदामा बस्दा तलब पनि दिइन्छ। यस्तो बिदा स्वीकृत गर्दा रेक्टर कार्यालयअन्तर्गतको समन्वय महाशाखाले अध्ययन बिदा सकिएपछि सेवामा फर्कने सर्तसहितको कबुलियतनामा प्राध्यापकसँग गरेको हुन्छ। साक्षीसहित राखेर नेपाली कागजमा फर्कने कबुल गरिएको पत्रमा प्राध्यापकको हातका दायाँबायाँ ल्याप्चेसमेत लगाइएको हुन्छ।

त्रिविका ‘शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५०’ को विनियम ३० मा तीन वर्षभन्दा बढीमा पाँच वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने उल्लेख छ। यदि तीन वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा तीन वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ।

तर बिदा सकिएपछि धेरै प्राध्यापक विदेशमै लुक्ने गरेको पाइएको छ। १० वर्षमा आठ सय ९३ जना शिक्षकले अध्ययन बिदा लिएको समाचार सार्वजनिक भएको छ, तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने अभिलेख त्रिविले दिएको छैन। १० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम एक अर्ब ७६ करोडभन्दा धेरै हुन आउने बताइन्छ।

प्रकाशित: २५ मंसिर २०८१ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App