४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग गर्दै विद्यार्थी आन्दोलनमा

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा नतिजामा त्रुटि

प्रधानमन्त्री अध्यक्ष, शिक्षामन्त्री र स्वास्थ्यमन्त्री सहअध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा नतिजा प्रकाशनमा भएको गम्भीर त्रुटिका कारण मेडिकल अध्ययन गर्ने चाहना लिएका विद्यार्थी अध्ययनको तयारीको साटो सडक आन्दोलनमा उत्रन बाध्य भएका छन्।

आयोगले प्रकाशन गरेको त्रुटिपूर्ण नतिजाले वर्ष दिनदेखि कडा परिश्रम गरेर परीक्षामा सहभागिता जनाएका विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ। आयोगले प्रकाशन गरेको त्रुटिपूर्ण नतिजाले आफूहरूलाई पीडित बनाएको भन्दै विद्यार्थीहरूले सोमबार माइतघर मण्डलामा आयोग र सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन तथा नाराबाजीसहित आक्रोश पोखेका थिए।

यसअघि पनि माध्यमिक शिक्षा परीक्षा एसइईमा प्रकाशित नतिजामा गम्भीर त्रुटि भएको तथ्य बाहिरिएको थियो। प्राप्त नतिजामा चित्त नबुझेर पुनर्योगका लागि दिएको निवेदनले पाँच प्रतिशत विद्यार्थीको नतिजा फेरबदल भयो।

अनुत्तीर्ण भएका विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएपछि ए प्लस ल्याएका छन्। यसरी पछिल्लो समय परीक्षा बोर्ड तथा आयोगका त्रुटि एकपछि अर्को गरी बाहिरिँदा विद्यार्थीहरूले बोर्ड र आयोगको परीक्षाका कामकारबाहीलाई शंकाका दृष्टिले हेर्न थालेका छन्।

विद्यार्थीको एउटै माग छ- आफूहरूले लेखेको उत्तरपुस्तिका र प्रश्नपत्र आयोगले उपलब्ध गराउनुपर्‍यो, जुन हाम्रो अधिकार हो। सोमबार दिउँसो आयोग पुगेका विद्यार्थीलाई पदाधिकारीले नभेटेपछि उनीहरू थप आक्रोशित बनेका थिए। उनीहरूले आयोगको गलत रबैयाप्रति आयोगमै नाराबाजी लगाएका थिए। नतिजामा भएको त्रुटिले विशेषगरी एमबिबिएसका परीक्षार्थीहरूको भविष्य अन्योल बनेको छ। केहीबेरको नाराबाजीपछि आयोगका पदाधिकारीले भेटेर छलफल गरेका थिए।

आयोगले तीन दिनभित्र दुई पटक नतिजा प्रकाशन गरिसक्यो, अब विद्यार्थीले कुन नतिजालाई सत्य मान्ने? परीक्षार्थी शेख सालेहा अख्तरले प्रश्न गरे। शेख सालेहाले भदौ १ गते आयोगले सञ्चालन गरेको मेडिकल परीक्षामध्ये एमबिबिएसको एकीकृत परीक्षामा सहभागिता जनाएकी थिइन्, तर आयोगले शुक्रबार नतिजा प्रकाशन गर्दा उनको सिम्बोल नम्बरमा अर्कै विद्यार्थीको अंक थियो। उनी दोहोर्‍याएर आफ्नो सिम्बोल नम्बर पुनः राखेर नतिजा हेर्न खोज्दा सर्वर नै डाउन भएको उनले सुनाइन्।

‘मेरो सिम्बोल नम्बर १८९१० मा अर्कै नामको विद्यार्थीको नतिजा आयो’, पीडित सालेहाले नागरिकसँग पीडा पोखिन्, ‘मजस्ता थुप्रै साथीको नाम, सिम्बोल नम्बर र रेंकिङ नै फरकफरक परेपछि हामी आइतबारदेखि आयोगको गलत रबैयाप्रति आन्दोलनमा उत्रिएका हौं। रेंकिङअनुसार नतिजा प्रकाशन गर्नुपर्नेमा रोल नम्बरअनुसार नतिजा प्रकाशन गरेर आयोगले हामी विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको छ।’

उनले गुनासो गरिन्, ‘हाम्रो आन्दोलनका कारण आयोगले आइताबार राति ११ बजे संशोधन गरेको नतिजा प्रकाशन गर्‍यो, तर मेरो नाम संशोधित नतिजामा आएन। अब मैले आयोगमाथि कसरी विश्वास गर्ने ? कुन नतिजा सही हो?’

एमबिबिएसकै एकीकृत परीक्षामा गत वर्ष दुई सयको कुल पूर्णांकमा ८२ प्रतिशत अंक प्राप्त गरे पनि भर्ना नभई थप राम्रो गर्ने लक्ष्यसहित जीवन सिंह थप एक वर्ष लगाएर परीक्षा तयारीमा जुटे।

भदौ १ को परीक्षामा सहभागिता जनाए। उनको यसपटक गत वर्षको भन्दा दोब्बर अंक ल्याउने लक्ष्य थियो। उनले त्यहीअनुसार प्रश्नको उत्तर पनि लेखेको दाबी गरे, तर नतिजामा उनको नाम कतै नआएपछि उनी आक्रोशित बनेका छन्।

‘गत वर्षको भन्दा यसपटक धेरै मेहनत गरेर एमबिबिएस परीक्षामा सहभागिता जनाएको थिएँ। आफूले गरेको तयारीअनुसार नम्बर आएन। यसपटक मेरो घटेर ७२ प्रतिशत मात्र आयो’, जीवनले नागरिकसँग भने, ‘जबकि मैले लेखेको विषय आफैंले खोजी गर्दा मेरो नतिजा राम्रो देखियो। यसकारण हामी विद्यार्थीलाई आयोगमाथि विश्वास रहेन। हामीले हाम्रो उत्तरपुस्तिका र प्रश्नपत्र हेर्न पाउनुपर्छ। हाम्रो यही माग हो। प्रधानमन्त्री अध्यक्ष, शिक्षामन्त्री र स्वास्थ्यमन्त्री सहअध्यक्ष भएको आयोगमा यति गम्भीर त्रुटि हुँदा पनि राज्य किन मौन छ?’

उनीजस्तै राधिका भट्ट, अप्सना खातुन, रक्षा कार्कीलगायतका धेरै विद्यार्थी एकदेखि तीन वर्षसम्म कुरेर भए पनि यस वर्ष एमबिबिएसको परीक्षा दिएका थिए, तर रेंकिङ फरक पर्दा मर्कामा परेका छन् भने कसैको नाम पहिलो सूचीमा आएको तर संशोधन गरेको नतिजामा नआउँदा भविष्य नै अन्धकार बनेको गुनासो गरेका छन्।

‘पहिलोपटक शुक्रबारको नतिजा ६१.५ प्रतिशत आयो। रेंकिङ ५७४६ आयो। फेरि संशोधन गरिएको नतिजा आइतबार रात्रिमा प्रकाशन भयो। अंक ६१.५ प्रतिशत नै छ तर रेंकिङ ५७३३ मा आएर माथि चढ्यो’, रक्षाले प्रश्न गरिन्, ‘रेंकिङ नै कसरी परिवर्तन भयो ? अब मैले कुन रेंकिङलाई विश्वास गर्ने ?’

उनले चिन्ता व्यक्त गरिन्, ‘विद्यार्थीका लागि रेंकिङले छात्रवृत्ति, भर्ना, कलेज छनोटदेखि जिन्दगीमा ठूलो फरक पार्छ। के यो विषय आयोगका पदाधिकारीलाई थाह छैन ? यत्रो गम्भीर त्रुटि गरेर ढुक्क हुन पाइन्छ?’

०७५ अघि पनि मेडिकल शिक्षामा परीक्षा, भर्ना, कलेजा सम्बन्धन र सिट कोटा निर्धारणमा विकृति बढ्दै गएर अविश्वासको वातावरण बनेपछि डा. गोविन्द केसीको आन्दोलनले २०७५ सालमा मेडिकल शिक्षाको सम्पूर्ण जिम्मेवारी एकद्वार प्रणालीबाट गर्ने लक्ष्यसहित चिकित्सा शिक्षा आयोग गठन भएको हो, तर आयोग स्थापनाकालदेखि नै विभिन्न विवादमा फस्दै आएको छ।

आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगका पदाधिकारी तथा कर्मचारीले सावधानी अपनाउँदा अपनाउँदै पनि मानवीय त्रुटि भएको स्वीकार गरे। आयोगका सहअध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले समेत आयोगका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर समस्याबारे सोधीखोजी गरी त्रुटिरहित काम गर्न निर्देशन प्राप्त भएको समेत बताए।

उपाध्यक्ष झाका अनुसार मुख्य समस्या एमबिबिएसको एकीकृत परीक्षामा समान अंक प्राप्त गर्ने विद्यार्थी नतिजामा मात्र देखिएको स्पष्ट पारे। ‘मुख्य रूपमा त्रुटि भनेको नतिजा प्रकाशनको अन्तिम चरणमा भएको हो’, उपाध्यक्ष झाले नागरिकसँग भने, ‘एमबिबिएस कार्यक्रमको नतिजामा समान अंक ल्याउने विद्यार्थीको योग्यताक्रम बायोलोजी, केमेस्ट्री, फिजिक्स र म्याटका आधारमा कायम हुनुपर्नेमा प्राविधिक त्रुटिका कारणले रोल नम्बरका आधारमा हुन गएको देखियो। आयोगले टाइ ब्रेकको आधारसमेत संलग्न गरी आइतबार संशोधित नतिजा प्रकाशन गरी समस्या समाधान गरिसकेको छ।’

उनले थपे, ‘यसपटक एमबिबिएसमा कुल १६ हजारले परीक्षा दिएका थिए। परसेन्टाइल विधिबाट नतिजा प्रकाशन गर्दा ७८४७ को नतिजा संशोधन गरी प्रकाशन गरियो। अरू कसैको केही त्रुटि छैन। शिक्षामन्त्रीज्यूलाई पनि आयोगको त्रुटिबारे स्पष्ट पार्‍यौं। उहाँले त्रुटिरहित काम गर्न निर्देशन दिनुभयो।’

उपाध्यक्ष झाले आयोगले यसपटक मेडिकलको कुल १५ विधामा ४९ हजार विद्यार्थीले परीक्षा दिएका थिए। अन्य विषयको परीक्षाको नतिजा आउने क्रममा छ। उनले विद्यार्थीले निवेदन दिएमा उत्तरपुस्तिका र प्रश्नपत्र देखाउने व्यवस्था मिलाउन आयोग तयार रहेको समेत दाबी गरे।

प्रकाशित: १८ भाद्र २०८१ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App