२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

स्कुल र स्थानीय तहबीच समन्वय आवश्यक

बागमती प्रदेशका सांसद सुनिल केसीले सामुदायिक स्कुल र स्थानीय तहमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। कोटेश्वर सरस्वती माध्यमिक विद्यालयले काठमाडौंको कोटेश्वरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सांसद केसीले आजका विद्यार्थी भोलिका भविष्य भएको हुँदा सबैको सहयोग आवश्यक रहेको बताएका हुन्।

‘विद्यालयको विकास र विद्यार्थीको सिकाइ स्तर बढाउन आफ्नो क्षेत्रका स्कुलप्रति सकारात्मक व्यवहार गर्नु स्थानीय वडाको कर्तव्य हो,’ सांसद केसीले भने, ‘विद्यार्थी भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका साझेदार पनि भएको हुँदा स्कुल र वडा कार्यालयबीच देखिएको समस्या सम्बोधन गर्ने विषयलाई गम्भीरतापूर्वक लिएको छु।’

प्रमुख अतिथिका रूपमा उपस्थित केसीले विद्यालयले सिपमूलक शिक्षा प्रदान गर्न निरन्तर प्रयत्न गर्नु आवश्यक रहेको बताए। विद्यालय व्यवस्थापन समिति सदस्य जनककुमार खड्काले कोटेश्वर माविबाट बिदाइ हुने विद्यार्थीले संस्कार सिकेर जाने गरेको हुँदा नवआगन्तुक विद्यार्थीलाई सिकाइ प्रक्रियामा सामेल गराउन विद्यालय परिवार आतुर रहेको बताए।

शिक्षक अभिभावक संघका अध्यक्ष शंकरकुमार कार्कीले विद्यालयमा आउने हरेक विद्यार्थीले एउटा विश्वास बोकेर आएका हुन्छन्, त्यसलाई विद्यालय व्यवस्थापनले टुट्न दिनेछैन भन्ने अपेक्षा राखेको प्रस्ट पारे।

वानेश्वर क्याम्पसका कोअर्डिनेटर अर्जुनकुमार आचार्यले कोटेश्वर सरस्वती मावि र वानेश्वर क्याम्पसबिच सहकार्य आवश्यक रहेको बताए। स्वागत मन्तव्य राख्दै शिक्षक प्रतिनिधि कौशल बस्नेतले कहीँ चुक्ने र झुक्ने काम स्कुलले नगरेको धारणा राखे। उनले स्कुल सञ्चालनका लागि कुशल व्यवस्थापकका रूपमा अनुभवी व्यक्तित्वलाई प्रधानाध्यापकको रूपमा पाएको भन्दै खुसी व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा प्रधानाध्यापक पुष्पराज कुँवरले यस विद्यालयमा पढेर गएका विद्यार्थी अहिले राष्ट्रसेवाका विभिन्न क्षेत्रमा सशक्त भूमिकासहित उपस्थिति जनाउन सफल रहेको बताए।

उनले कोटेश्वर माविमा प्लस–टु उत्तीर्ण विद्यार्थी स्नातक तहमा पढ्न जाँदा जुनसुकै क्याम्पसमा प्रतिस्पर्धा गर्न सक्षम रहने बताए। एक हजार ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत यस स्कुलप्रति अभिभावक, शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिबिचको समन्वय र सामूहिक प्रयत्नले विद्यार्थीको सिकाइ प्रक्रियालाई अब्बल बनाउन सहयोग पुगेको धारणा राखे।

विद्यालयद्वारा नवआगन्तुक विद्यार्थीलाई स्वागत र प्लस–टु उत्तीर्ण विद्यार्थीलाई बिदाइ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। सांगीतिक कार्यक्रमसहित सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका बिनु बस्नेतले गरेकी थिइन्।  

प्रकाशित: १६ भाद्र २०८१ ०९:०० आइतबार

#Coordination between schools and local levels is necessary #Member of Parliament of Bagmati Province Sunil KC