१९ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

दशमा पढ्ने सविनले उडाए ‘नमूना हवाईजहाज’, बनाए बिजुली साइकल र गर्ल्स सेफ्टी...

फाइल तस्वीर

बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन्। उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन्।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं  हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै थिए। सो अवसरमा अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभा भएकाे अद्भुत बताए।

बुद्धशान्ति-१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाईजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ। जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उनले बताए।

धावनमार्गमा झैं दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो। जहाजलाई बाँस्कोटाले भुईबाट रिमोटमार्फत नियन्त्रण गरेका थिए।

 खेर गइरहेको टिनको पाता, फलामको टुक्राटुक्री, प्लास्टिक र तार प्रयोग गरेर बनाइएको जहाज दुई दिनअघि गाउँपालिका परिसरमा उडाउँदा सयौं दर्शक रोमाञ्चित बनेका थिए।

गाउँपालिकाको बैठक बसेर प्रतिभाशाली विद्यार्थी बाँस्कोटालाई आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष प्रसाईंले प्रतिबद्धता जनाएका छन्।

छात्र बाँस्कोटाले जहाजका तीनवटा नमूना र अन्य वैज्ञानिक उपकरण निर्माण गरेका छन्। बनाएका सामानले उनको घरका कोठाहरू भरिएका छन्। बनाएका जहाजहरूलाई उनले नेपाल एयरलायन्स, तारा एयरलायन्स र ग्रेटर नेपाल नाम दिएका छन्।

अन्य उपकरणमा बिजुली साइकल, पाइप एसी, गर्ल्स सेफ्टी, इन्फ्रारेड धारा, रोबोट, सोलार चार्जर लगायत छन्। गरिब परिवारमा जन्मेका छात्र बाँस्कोटाले घरमै अध्ययन र अभ्यास गरेर वैज्ञानिक उपकरण बनाउने गरेका जनाइएको छ।

“सानैदेखि विज्ञान सामग्री बनाउनेमा चाख थियो,” उनले भने, “सुरुसुरुमा आमाबुबाले गाली गरे पनि अहिले सहयोग गर्नुभएको छ। आर्थिक स्रोत हुने हो भने अझ धेरै ठूलाठूला उपकरण बनाउन सक्ने थिएँ।”

एउटा हवाईजहाज बनाउन ६५ हजार रुपैयाँ खर्च भएको उनले बताए। भर्खर कक्षा १० मा पढ्दै गरेको विद्यार्थीमा विज्ञान उपकरण निर्माणमा यति धेरै चाख र क्षमता भएको देखेर आश्चर्य लागेको बुद्धशान्ति-१ का वडाध्यक्ष अनिल वाग्लेले बताए।

“एउटा सानो भाइमा यस्तो प्रतिभा हुनु सामान्य हुँदै होइन,” उनले भने, “हौसला र आर्थिक स्रोत हुने हो भने दुनियाँलाई छक्क पारेर देखाउने क्षमता रहेछ। उनले हामी सबैका अगाडि हवाईजहाज लगायत उपकरणहरू देखाउनुभयो।”

सबिनकी आमा चेलीमायाले गहना र गाईबाख्रा बेचेर उपकरण बनाउन सहयोग गरेको बताइन्। विद्यालय जाँदा खाजा खान दिएको २० रुपैयाँ पनि बचत गरेर चार हजार बनाएको देखेपछि छोराको चाहना पूरा गर्न आफूले गहना बेचेको उनले बताइन्।

सानैदेखि तीक्ष्ण दिमागको सबिनमा घरका रेडियो र ब्याट्री खोलेर जोड्न रमाउने चकचके स्वभाव थियो। चेलीमायाका अनुसार नयाँ किनेर ल्याएका रेडियो, टर्चलाइट र मोबाइल उपकरण सबै बिगार्ने र बनाउने गरेर सबिनले सुरुमा घरमा हैरानी दिने गरेका थिए।

“असाध्य चुलबुले र तेज दिमागवाला थियो”, छोराको बाल्यकाल सम्झँदै आमा चेलीमाया भन्छिन्, “दुःख गरेर कमाएको पैसाले ल्याएको सामान भत्काएर हैरान नै पार्थ्याे।”

तर, अहिले हवाईजहाज समेत बनाएर उडाउन थालेपछि परिवारका सबै खुशी छन्।

सबिनले बनाएको अर्को सामान बिजुली साइकल हो। चलिरहेको पाइडल साइकलमा उनले आफूद्वारा निर्मित ब्याट्री जोडेका छन्। उक्त ब्याट्री चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि साइकललाई दिनभरि कुदाउन सकिने उनको दाबी छ।

बिजुली साइकल बनाउन २० हजार रुपैयाँ खर्च भएको छ। बिग्रेको चार्जर र एडप्टर जोडेर ‘गर्ल्स सेफ्टी’ नामको नयाँ डिभाइस उनले बनाएका छन्। जसले कुनै पनि युवतीलाई दुर्व्यवहार भएमा बिजुलीको करेन्ट प्रवाह गरिदिने उनको दाबी छ। डिभाइसका कारण दुर्व्यवहारबाट जोगाउने उपकरण भएकाले यसको नाम ‘गर्ल्स सेफ्टी’ राखिएको रहेछ।

‘भ्वाइस कमान्ड’बाट चल्ने रोबोट र बमबार्ड गर्ने ड्रोन बनाउन सक्ने उनको दाबी छ। एउटा रोबोट निर्माण अन्तिम चरणमा छ। कोठाभरि चिसो बाफ फ्याँक्ने इलेक्ट्रोनिक डिभाइस उनले बनाएर प्रदर्शन समेत गरेका छन्।

‘पाइप एसी’ नाम दिइएको उक्त डिभाइस बिजुलीबाट चल्छ। मिहनेत र खर्चले यस्ता उपकरण बनाउने सबिनले भविष्यमा धेरै पढेर मेकानिकल इन्जिनियर बन्ने सपना साँचेका छन्।

“आठ महिना लाग्यो। कैयौं पटक बनाउँदै भत्काउँदै गर्दा मात्र यो सम्भव भएको हो”, उनले भने, “सामान किन्न धेरै पैसा चाहिन्थ्यो। त्यो सबै मेरी आमाले गाई, बाख्रा र गहना बेचेर पुर्‍याउनुभयो।”

पाँचथरको हिलिहाङमा जन्मेका सबिनलाई उनका बुबा कृष्णले राम्रो शिक्षा दिने उद्देश्यले सात वर्षअघि पहाडबाट झापा ल्याएर पढाउन थालेका थिए।

मधेसमा बाँस्कोटा परिवारको दुई कट्ठा घडेरी मात्र छ। उक्त जग्गामा टिनको छानो र बाँसको भाटाले बारेको एउटा घर छ। बुबाआमाले अर्कैको खेतबारी अधिया ठेक्कामा लिएर परिवारको जीविका चलाउँदै आएका छन्।

आर्थिक स्रोत नभएकाले छोरालाई खासै सहयोग पुर्‍याउन नसकेको बुबा कृष्ण बताउँछन्। घरमा वाइफाई नभएका कारण सबिन गाउँको वाइफाइमा गएर मोबाइल चलाउने गर्छन्।

“यति धेरै विज्ञानका सामान बनाउने छोरालाई सहयोग नगरौं भन्ने त मनमा हुँदैन नि,” मनको बह पोख्दै उनले भनिन्,“घरमा वाइफाई जोडिदिन सकेको छैन। राम्रो एउटा मोबाइल पनि किनिदिन सकेको छुइन।”

प्रकाशित: ६ पुस २०८० ०४:२२ शुक्रबार

बुद्धशान्ति गाउँपालिका आदर्श माध्यमिक विद्यालय सबिन बाँस्कोटा