२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

विद्यालयलाई वन तथा वातावरण संरक्षण सम्बन्धी पाठ्यसामग्री हस्तान्तरण

 विद्यालय तहबाटै वन तथा वातावरण सम्बन्धी सचेतना बिस्तारको मुख्य उद्देश्य सहित डिभिजन वन कार्यालय ताप्लेजुङले यहाँका ४ वटा विद्यालयलाई पाठ्य सामाग्रीकासाथ एक–एक थान दराज उपलब्ध गराएको छ। विद्यालय वातावरण सुधार कार्यक्रम अन्तरगत यी सामग्री उपलब्ध गराएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ललितकुमार यादवले जानकारी दिए। प्रदेश सरकारका पूर्व मन्त्री बलबहादुर साम्सोहाङले सामग्री सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन्।

 डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार फुङलिङ नगरपालिका दुई,सिरिजङ्गा र मेरिङदेन गाउँपालिकाका एक–एक विद्यालयले सामग्री पाएका छन्। सामाग्री पाउनेमा फुङलिङस्थित भानुजन मावि अम्बिटार र युवाबर्ष मावि कैंजले तथा मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङस्थित पृथ्वी मावि र सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङस्थित राष्ट्रिय मावि रहेका छन्। 

बिद्यार्थीहरुमा वन तथा वातावरण सम्बन्धी ज्ञान बढाउन,वन तथा वातावरण संरक्षण सम्बन्धी पाठ्यक्रममा समावेश भएका विषयवस्तुहरू प्रशिक्षणका लागि शिक्षक सहजीकरण गर्न,स्थानीय क्षेत्रमा वन तथा वातावरण संरक्षण सम्बन्धी कानुन बनाउने प्रक्रियामा सहजीकरण गर्न र वन तथा वातावरण संरक्षणका अभियानहरू सञ्चालनको विधि र डिभिजन वन र मातहतका वन कार्यालयमार्फत भईरहेका गतिविधि बारे जानकारी गराउन यस्ता सामाग्री हस्तान्तरण गरिएको वन कार्यालयले जनाएको छ। कार्यक्रममा विद्यालयमार्फत वन तथा वातावरण संरक्षणका गतिविधिहरू सञ्चालनबाट हुने फाइदा तथा कार्यक्रमको दिगोपना बारे वक्ताहरूले भनाई राखेका थिए। 

सहायक वन अधिकृत यादवले यो कार्यक्रम ताप्लेजुङका लागि नौलो भएको र यसको प्रभावकारिता हेरी अन्य विद्यालयहरूमा समेत बिस्तार गर्ने योजना सुनाए। ताप्लेजुङमा पाइने महत्त्वपूर्ण जडीबुटीको जानकारी पुस्तिका,गैह्र काष्ठ वन पैदावारको सम्भाव्यता अध्ययन प्रतिवेदन,मानव–वन्यजन्तु द्धन्द तथा क्षतिपूर्ति राहत सम्बन्धी जानकारी पुस्तिका,वन डढेलो नियन्त्रणका उपाय दिने जानकारी पुस्तिका,कल्पवृक्ष सहितका गरी करिब २ सय ७ थान पुस्तक रहने भएका छन्।‘वन तथा वातावरण संरक्षण सम्बन्धी विद्यालयमा मिनी पुस्तकालय स्थापना गर्ने सोचका साथ कार्यक्रम अघि सारिएको हो’सहायक वन अधिकृत यादवले भने। 

प्रकाशित: २७ जेष्ठ २०८० ०९:२७ शनिबार

विद्यालयलाई वन तथा वातावरण संरक्षण सम्बन्धी पाठ्यसामग्री हस्तान्तरण