१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

प्रकाशन गृह धेरै हुँदा पनि पाठ्यपुस्तक पाउनै मुस्किल

फाइल तस्वीर

कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउँछन्। शैक्षिक सत्र सुरु भएको एक महिनाभन्दा बढी हुँदा पनि उनले अझै बालबालिकाका पाठ्यपुस्तक पाएका छैनन्। बजारका सबै पुस्तक पसलमा धाउँदा पनि पुस्तक नपाएपछि घरमा बालबालिकालाई फकाउनै मुस्किल भएको उनी बताउँछन्।

‘एक महिनादेखि विद्यालयले तोकेको पाठ्यपुस्तक भेटिएको छैन। भेटिए पनि एउटा आज अर्को भोलि गरेर भेटिन्छ।’

राजेन्द्र भन्छन्, ‘पुस्तक नभएपछि बालबालिका विद्यालय जान मान्दैनन्। बजारमा पुस्तक पनि पाइँदैन। पाइए पनि बर्सेनि पुस्तक परिवर्तन भएको हुन्छ। यो समस्या झेल्ने उनी मात्रै होइन। निजी विद्यालयले कमिसनको चक्करमा विद्यालयपिच्छे फरकफरक पुस्तक तोकेकाले  र   बर्सेनि पाठ्यपुस्तक परिवर्तन भएकाले प्राय सबै अभिभावकलाई बजारमा सहज रूपमा पाठ्यपुस्तक पाउनै मुस्किल छ। कतिपय विद्यालयले त आफ्नै पुस्तक पसल सञ्चालनमा ल्याएका छन्। त्यहाँ पाइने पाठ्यपुस्तक अन्य पुस्तक पसलमा पाइँदैन।

कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउँछन्।

 ‘बर्सेनि पाठ्यपुस्तक परिवर्तन हुँदा नयाँ पाठ्यपुस्तक किन्नुपर्ने बाध्यता छ। त्यो पनि सबै पुस्तक पसलमा पाइँदैन।’ स्थानीयवासी सावित्रा तिमिल्सिना भन्छिन्,‘पाठ्यपुस्तक पनि निकै महँगा छन्। पहिले १० प्रतिशत छुट पाइने भए पनि यस वर्ष छुट पनि छैन। रहरले भन्दा बाध्यताले पुस्तक किन्नुपरेको छ।’

टीकापुर नगरपालिकामा ३५ सामुदायिक र ४७ संस्थागत तथा निजी विद्यालय छन्।

त्यसमा पनि ३७ विद्यालय प्याब्सनको मातहतमा छन्। सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै  भए पनि संस्थागत तथा निजी विद्यालयमा भने २८ भन्दा बढी पब्लिकेसन्सका पाठ्यपुस्तक प्रयोगमा ल्याइएका छन्। धेरै पब्लिकेसन्सका पाठ्यपुस्तक किन्नुपर्ने भएकाले त्यसको मारमा अभिभावक र विद्यार्थी पर्दै आएका हुन्। पुस्तक पसलेले पर्याप्त पुस्तक खरिद गर्न नसक्दा सहजै रूपमा अभिभावकले पनि पाउँदैनन्।

समयमै पाठ्यपुस्तक नपाउँदा पठनपाठनमा समेत असर पर्दै गएको छ।

‘हामीले त्यत्रो पब्लिकेसन्सको पुस्तक मगाएर बिक्री गर्न सक्ने अवस्था छैन। पुस्तक नराखौं भने व्यापारबाट विस्थापित हुनुपर्ने अवस्था छ।’

पुस्तक व्यापारी देवी जैशी भन्छन्, ‘एउटा विद्यालयमा लागू भएको पाठ्यपुस्तक अर्कोमा काम लाग्दैन। कसरी पुस्तक बिक्री गर्ने? कसको पुस्तक बिक्री गर्ने? अभिभावकलाई जस्तो  तनाव छ हामीलाई पनि त्यस्तै हुन्छ।’

यस विषयमा टीकापुर नगरपालिकालाई पनि सबै जानकारी भएर पनि केही गर्न सकेको छैन। नगरपालिकाका शिक्षा शाखा रहेका प्रमुख उपसचिव दमनसिंह चौधरी निजी विद्यालयसँग पाठ्यक्रमका विषयमा छलफल गर्ने तयारी भएको बताउँछन्।

उनी व्यक्तिगत स्वार्थका कारण विद्यालयले आफूखुसी पाठ्यपुस्तक तोक्ने गरेकाले त्यसलाई निरुत्साहित गर्ने जिम्मा नगरपालिकाको भएको उल्लेख गर्छन्।

पुस्तक व्यापारी देवी जैशी भन्छन्, ‘एउटा विद्यालयमा लागू भएको पाठ्यपुस्तक अर्कोमा काम लाग्दैन। कसरी पुस्तक बिक्री गर्ने? कसको पुस्तक बिक्री गर्ने? अभिभावकलाई जस्तो  तनाव छ हामीलाई पनि त्यस्तै हुन्छ।’

‘हामीमा पनि यो खबर आइपुगेको छ। आजभोलि नै प्याब्सन र एनप्याव्सनलाई बोलाएर त्यस विषयमा छलफल गर्ने तयारी गरेका छौ।’

उपसचिव चौधरी भन्छन्, ‘व्यक्तिगत स्वार्थ र कमिसनको चक्करमा विद्यालयले शिक्षाको नाममा व्यापार गरेको भान हामीलाई पनि भएको छ। यसलाई रोक्छौ।’

यस वर्ष निजी विद्यालयमा देखिएको पाठ्यपुस्तकको समस्या समाधान गर्न नसके पनि विद्यार्थीले प्राप्त गर्न नसकेका पाठ्यपुस्तकको व्यवस्थापनमा विद्यालयलाई जिम्मेवार बनाउन सकिनेमा उनी जोड दिन्छन्।

नगरपप्रमुख रामलाल डगौराले निजी विद्यालयमा देखिएको पाठ्यपुस्तकको समस्याबारे पुस्तक व्यवसायीसँग  छलफल भएकाले त्यसलाई समाधान गरिने बताउँछन्।

‘यो विषय अलि ढिलो उठ्यो। हामीलाई पनि ढिलो गरी जानकारीमा आयो। अब अर्को वर्षदेखि कडाइका साथ निगरानी गर्छौ’ नगर प्रमुख थारु भन्छन्,‘जे भइरहेको छ, त्यो गलत भइरहेको छ। गलतलाई सुधार गर्न हामी लाग्छौं।’

प्याब्सन टीकापुर शाखाका अध्यक्ष मानबहादुर थापा पाठ्यपुस्तकमा एकरूपता ल्याउन गाह्रो  रहेको उल्लेख गर्छन्।

‘अब हामीले मात्रै भनेर एकरूपता ल्याउन निकै कठिन छ। प्याब्सनले भने बमोजिमको निर्णय सम्बन्धित विद्यालयले कार्यान्वयन नगरेकाले ती विद्यालयलाई पुस्तकको स्वतन्त्रता छोडिदिएका  छौं।’

अध्यक्ष थापा भन्छन्,‘हामीले भन्दा पनि नगरपालिकाले त्यसको निर्णय गर्न सक्यो र त्यसलाई कार्यान्वयन गर्न सक्यो भने राम्रो हुन्छ। अहिले फरकफरक पाठ्यपुस्तकका कारण अझै कैयौं विद्यार्थीको हातमा पाठ्यपुस्तक नपरेको सही हो।’

प्रकाशित: २२ जेष्ठ २०८० ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App